सत्ता गठबन्धन: सिन्धुपाल्चोक १ मा सापकोटा, २ मा बस्नेत – Nepal Press

सत्ता गठबन्धन: सिन्धुपाल्चोक १ मा सापकोटा, २ मा बस्नेत

सिन्धुपाल्चोक । सत्तागठबन्धनले शुक्रबार राति दलहरुले पाउने क्षेत्र निर्धारण गरेसँगै सिन्धुपाल्चोकको सत्तागठबन्धन आन्तरिक छलफलमा जुटेका छन् ।

आफ्नो क्षेत्र छाड्नु परे विद्रोह गर्ने धम्की कांग्रेस केन्द्रीय समितिको बैठकमा नै दिएका कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आफ्नो क्षेत्र छाड्नु पर्ने भएपछि उनी क्षेत्र नम्बर २ मा जान तयार भएको उच्च स्रोतको दाबी छ ।

डेंगु लागेर आरम गरिरहेका बस्नेतले शनिबार बिहानै सिन्धुपाल्चोकका आफु निकटका नेताहरुसँग छलफल गरी क्षेत्र नम्बर २ मा जाने बताएका थिए । बस्नेत क्षेत्र नम्बर २ मा जाने सवालमा कांग्रेस केन्द्रीय टिम समेत सकारात्मक रहेको छ ।

‘अन्य क्षेत्रमा जाँदा केही समस्या हुने भएपनि कि त राजनीतिक बाट टाढा हुनु पर्‍यो कि त २ मा आउनु पर्‍यो’ कांग्रेसका एक महासमिति सदस्यले भने,‘ अब उहाँ २ मा आउने निश्चित भइसक्यो ।’

बस्नेत क्षेत्र नम्बर २ मा आउने भएपछि कोइराला समुहका नेताहरु भने बस्नेतसँग बार्गेनिङको तयारीमा लागेका छन् । प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश सभा (क)मा आफु निकटका नेतालाई टिकट दिनु पर्ने गरी बस्नेत माथि दबाब बढाउन थालेको स्रोतको दाबी छ ।

बस्नेत क्षेत्र नम्बर २ मा गएपछि प्रतिनिधिसभामा मोहनबहादुर बस्नेत हुने छन् भने प्रदेश सभा (क)मा नेकपा माओवादी केन्द्रको तर्फबाट वागमती प्रदेशका पुर्व समाजिक विकासमन्त्री युवराज दुलाल र प्रदेश सभा (ख) मा कांग्रेसको तर्फबाट हालका वागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा उमेदवार हुने छन् ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ माओवादीले पाएको छ । माओवादीको तर्फबाट पोलिटब्युरो सदस्य माधव सापकोटा ‘सुवोध’ उमेदवार हुने छन् भने प्रदेश सभा (क) मा कांग्रेसको तर्फबाट उमेदवार तय भएको छैन । कांग्रेस केन्द्रीय सदस्य बस्नेत आफु निकट मसिना खडकालाई अगाढी सार्ने योजनामा छन् तर उनी २ मा जाने भएपछि उनी इतरका समुहले आफुहरुलाई उक्त प्रदेशमा दिनु पर्ने अडानमा छन् । त्यस्तै प्रदेश सभा (ख) मा भने माओवादी केन्द्रको तर्फबाट सरल सहयात्री उमेदवार हुने माओवादी स्रोतले जानकारी दिएको छ ।

बस्नेत चिसै पानीले नुहाउन तयार

आफ्नो क्षेत्र छाड्नु परे कांग्रेसमा विद्रोह गर्ने उद्घोष गरेका कांग्रेस केन्द्रीय सदस्य बस्नेत अन्तत क्षेत्र नम्बर २ मा जान तयार भएका छन् । बस्नेतले टिकट नपाए कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय समिति, जिल्ला समन्वय समिति देखि स्थानीय निर्वाचनमा कांग्रेसबाट निर्वाचन जितेका जनप्रतिनिधिहरु राजीनाम दिने उद्घोष गरेका थिए ।

कांग्रेसका धेरै नेता कार्यकर्ताहरुले राजीनाम दिने भन्दै सामाजिक सञ्जाल मार्फत कांग्रेस केन्द्रमा दबाब बढाएपनि त्यो दबाब ले पनि काम नगरेपछि अब गठबन्धनलाई मजबुती बनाएर लैजानेमा कांग्रेस नेता कार्यकर्ताहरु जुटेका छन् ।

क्षेत्र नम्बर १ मा असहयोग हुन साथ क्षेत्र नम्बर २ मा पनि बस्नेतलाई माओवादीले असहयोग गर्ने भय पछि कांग्रेस क्षेत्र नम्बर १ का नेताकार्यकर्ताहरु चिसै पानीले नुहाउन तयार भएका हुन् ।

माओवादीमा तीन ‘स’ को बलियो पक्कड

माओवादी युद्धका समयमा सिन्धुपाल्चोकमा तीन ‘स’ को धेरै चर्चा हुने गरेको थियो । सुबोध, सरल र सरद राजनीतिमा समकालिन यि नेताहरु मध्ये सरल २०७० को संविधान सभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट उमेदवार भएर उनी तेस्रो भएका थिए ।

२०७४ को निर्वाचनमा सरल र सुवोध प्रदेशमा उमेदवार हुने तयारीमा थिए तर प्रतिनिधि सभामा अग्नि सापकोटा उमेदवार भएपछि भने दुवै उमेदवार हुन पाएनन् । सरद भने २०७४ मा प्रतिनिधि सभा २ को क मा उमेदवार भएर वागमती प्रदेशमा मन्त्री समेत भएका थिए ।

तीन ‘स’ मध्ये अहिले एकै पटक उनीहरु संसदमा प्रतिनिधित्व गर्ने अवसरका लागि चुनावी मैदानमा उत्रीने भएका छन् । प्रतिनिधि सभा क्षेत्र नम्बर २ को लागि सरदले तयारी गरेपनि क्षेत्र बाँडफाँडमा क्षेत्र नम्बर १ माओवादीको भागमा परेपछि उनी प्रदेशमा नै उमेदवार हुन तयार भएका छन् । सरल सहयात्री भने आफ्नो प्रदेश छाडेर प्रदेश सभा ख मा आउन तयार भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर