छेउकुना मिलाउँदा ओलीका सदाबहार सहयोगीहरू नै टिकटबाट वञ्चित
काठमाडौं । नेकपा एमालेबाट भीम रावल र घनश्याम भुसालले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा टिकट नपाउँदा ओलीले आफूसँग असहमत राखेकामाथि प्रतिशोध लिएको चर्चा छ ।
तर ओलीकै किचन क्याबिनेटदेखि सदाबहार सहयोगीमा पर्ने प्रभावशाली नेता तथा यसअघि जितिरहेका सांसदहरू समेत टिकटबाट वञ्चित भएको विषय भने ओझेलमा परेको छ ।
एमाले विभाजनको बेलामा अध्यक्ष १० बुँदे सहमति गरेर बसेका रावल र भुसालबाहेक तत्कालीन स्थायी कमिटीका प्रायः सबै नेताले टिकट पाएका छन् भने निवर्तमान दीपक भट्ट, राजबहादुर बुढा टिकटबाट वञ्चित भएका छन् ।
टिकट नपाएपछि असन्तुष्टि जनाउँदै एमालेका स्थानीय कमिटी सदस्य समेत रहेका भुसालले पार्टी परित्यागको घोषणा गरिसकेका छन् ।
तर, ओलीले पार्टीमा सन्तुलन र समन्वय मिलाउन आफू निकटका धेरै नेताहरूलाई टिकट दिन सकेनन् । अध्यक्ष ओलीका मुख्य सहयोगी मानिने उपमहासचिव विष्णु रिमाल नै चुनाव उठ्न चाहन्थे तर नुवाकोटमा दश बुँदे पक्षधर निवर्तमान सांसद नारायण खतिवडालाई व्यवस्थापन गर्दा उनी उम्मेदवार बनेन ।
०७४ सालको निर्वाचनमा नेपालभरमै सबैभन्दा बढी मतान्तरले दोलखाबाट निर्वाचित भएका पार्वत गुरुङ पनि टिकट पाउनबाट वञ्चित भएका छन् । उनी ओली नेतृत्वको सरकारको बेलामा सञ्चारमन्त्री समेत भएका थिए । उनी निरन्तर ओलीको पक्षमा उभिएका नेता हुन् ।
उनले नपाउँदा ओलीकै निकटका अर्का पूर्वमन्त्री आनन्द पोखरेल उम्मेदवार बन्दै थिए । तर सन्तुलन मिलाउन दोलखाबाट बालकृष्ण सिवाकोटीले टिकट पाएका छन्।
कास्की ३ जगत विश्वकर्माले पनि टिकट पाएनन्। ओली नेतृत्वको सरकारमा मन्त्री बनेका विश्वकर्मा दलितबाट जितेका दुई सांसदमध्ये एक थिए । उनी पनि ओलीका निकट हुन् ।
यस्तै, पूर्व उपसभामुख समेत रहेकी शिवमाया तुम्बाहाम्फेले पनि टिकट पाइनन्। उनी मोरङ १ बाट चुनाव लड्ने तयारीमा थिइन्। त्यहाँ घनश्याम खतिवडा नै दोहोरिएका छन् ।
ओली निकट रहेर निरन्तर काम गर्दै आइरहेकी नवीना लामाले पनि टिकट पाइनन्। उनी समानुपातिक सांसद थिइन्। उनले काभ्रेबाट चुनाव लड्न आकांक्षा राखेकी थिइन्। त्यहाँ राप्रपाबाट एमाले प्रवेश गरेका रेशम लामाले टिकट पाए ।
त्यसो त अनेरास्ववियुका पूर्व अध्यक्ष माधव ढुंगेल पनि टिकटका लागि मरिमेटेका थिए तर रामेछापमा उनको साटो ओली निकटकै कैलाश ढुंगेलले पाए ।
यस्तै, पाल्पा १ दलबहादुर राना, मकवानपुर १ मा कृष्ण प्रसाद दाहाल , बाँके ३ मा नन्दलाल रोकायले पनि टिकट पाएनन्। उनीहरू ओली निकटका नेता हुन् र चुनाव जितेकाहरू नै हुन् ।
म्याग्दीका निवर्तमान सांसद भूपेन्द्र थापाले पनि हरिकृष्ण श्रेष्ठलाई छोडेका छन् । त्यसो त १० बुँदे पक्षधर नेताहरूलाई समेट्नका लागि विभाजनको बेला प्रचण्ड माधव गुट छाडेर आफूलाई समर्थन गरेका धेरै नेतालाई ओलीले टिकट दिन नसकेको वा प्रदेशमा झारिएको नेताहरू बताउँछन् ।
केपी ओलीका सदाबहार निकट काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्य,यसअघिका प्रदेश सभा सदस्य अजय क्रान्ति शाक्य,खिमलाल भट्टराई जस्ता नेताहरु समेत टिकटबाट बन्चित भएका छन् ।