मुख्यमन्त्री भट्टको टिकट ‘हापेको’ कि पीएले ‘खोसेको’ ? – Nepal Press

मुख्यमन्त्री भट्टको टिकट ‘हापेको’ कि पीएले ‘खोसेको’ ?

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट यस्ता भाग्यमानी मुख्यमन्त्री हुन्, जसले मुख्यमन्त्रीको पाँचवर्षे कार्यकाल पूरा गर्न पाए । देशका ७ प्रदेशमध्ये मधेसका लालबाबु राउत र सुदूरपश्चिमका भट्टले मात्रै मुख्यमन्त्रीको पूरा कार्यकाल बिताउने सौभाग्य पाए ।

यस्ता सौभाग्यशाली मुख्यमन्त्री भट्टको कार्यकालको अन्त भने बिर्सनलायक हुने देखिएको छ । आफ्नै स्वकीय सचिव (पीए)ले नै ‘घात’ गरेपछि उनको अवस्था ‘घरको न घाटको’ भएको छ ।

आफ्नै प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले अन्तिम अवस्थामा आएर टिकट खोसेपछि मुख्यमन्त्री भट्ट जिल्लिएका छन् । भट्टले पछिल्लो समय डोटी प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट उम्मेदवार हुन चाहेका थिए । तर, पार्टीले अन्तिम अवस्थामा उनकै पीए ओलीलाई टिकट दिएको छ ।

समानुपातिकको २ नम्बर छाडेर पुनः प्रदेश रोज्दा

नेकपा माओवादी केन्द्रको स्थानीय कमिटीबाट सिफारिस हुँदा मुख्यमन्त्री भट्ट संघमा सिफारिस भएका थिए । माओवादी केन्द्रको डोटी जिल्ला समन्वय समितिले उनलाई संघको उम्मेदवारका लागि प्रत्यक्ष र समानुपातिक दुबैतर्फ सर्वसम्मत सिफारिस गरेको थियो ।

सत्ता गठबन्धनबीचको सीट बाँडफाँटमा डोटी माओवादी केन्द्रको भागमा नपर्ने भएपछि पार्टीले मुख्यमन्त्री भट्टलाई संघमै समानुपातिकतर्फको बन्दसूचीमा राखेको थियो । त्यो पनि खसआर्यतर्फ दुई नम्बरमा । पहिलो नम्बरमा पूर्वसभामुख कृष्णबहादुर महरा थिए ।

तर, मुख्यमन्त्री भट्टले स्वेच्छाले त्यसबाट नाम फिर्ता लिएर प्रदेशसभा निर्वाचन लड्ने चाहना राखे । जसमा पार्टी ‘सुप्रिमो’ (केन्द्रीय अध्यक्ष) पुष्पकमल दाहाल प्रचण्डले पनि समर्थन जनाए । अध्यक्ष प्रचण्डले माओवादी केन्द्र डोटीका उपलब्ध नेता राखेर मुख्यमन्त्री भट्टले पुनः प्रदेशसभा निर्वाचन नै लड्नुपर्ने बताएको स्रोत बताउँछ ।

त्यसपछि मुख्यमन्त्री भट्ट डोटी प्रदेशसभा (ख) निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार भनेर निकटस्थहरू प्रचारप्रसारमा लागिसकेका थिए ।

अनि पाक्यो ‘खिचडी’

उता डोटीबाट सिफारिस हुँदा प्रदेशसभा (ख) मा प्रत्यक्षतर्फ मुख्यमन्त्री भट्टकै प्रमुख स्वकीय सचिव ओली, अर्का स्वकीय सचिव प्रेम कुँवर ‘प्रख्यात’ जिल्ला सहइन्चार्ज मीनबहादुर घर्तीमगर ‘विश्व’को नाम सिफारिस भएको थियो । जसमध्ये मुख्यमन्त्री भट्ट संघमा जाँदा आफूले टिकट पाउनेमा बढी आशावादी ओली नै थिए ।

तर, पछि मुख्यमन्त्री भट्ट तल फर्किने भएपछि ओलीको सल्बलाहट बढ्यो । उनी मुुख्यमन्त्रीले प्रदेश दोहो¥याउँदा पार्टीभित्र विवाद हुने र गठबन्धनले पनि असहयोग गर्ने भन्दै पार्टीका शक्ति केन्द्र धाउन थालेको स्रोत बताउँछ ।

उता मुख्यमन्त्री भट्ट प्रदेशमा फर्किने कुरामा ओलीजस्तै पार्टीका प्रदेश इन्चार्ज खगराज भट्ट पनि असन्तुष्ट थिए । डडेलधुरामा लगातार तीन चुनाव प्रधानमन्त्री शेरबहादुर देउवासँग हारेर अहिले प्रदेशसभा रोजेका खगराज सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका आकांक्षी भएको माओवादी केन्द्रनिकट स्रोत बताउँछ । उनी डडेलधुरा प्रदेशसभातर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका छन् ।

स्रोतका अनुसार मुख्यमन्त्री भट्ट प्रदेशसभामा पुनः निर्वाचित भएर आउँदा अर्को पटक पनि संसदीय दलको नेतामा स्वाभाविक उम्मेदवार बन्नसक्ने खतरा प्रदेश इन्चार्ज खगराजले देखेका थिए । यद्यपि पार्टी वरियतामा भने प्रदेश इन्चार्ज खगराज नै अगाडि छन् । भट्ट स्थायी कमिटी सदस्य हुन् ।

प्रदेश इन्चार्ज खगराज र मुख्यमन्त्री भट्टका पीए ओलीको ‘स्वार्थ’ मिलेपछि प्रदेश कमिटीबाट टिकट बाँडफाँट हुँदा अन्तिम अवस्थामा मुख्यमन्त्री भट्टको टिकट खोसिएको स्रोत बताउँछ ।

‘अध्यक्ष कमरेड (प्रचण्ड)ले भनेर नै मुख्यमन्त्रीज्यू प्रदेशसभामा उम्मेदवार बन्न तयार हुनुभएको हो । उहाँले भनेपछि हामी आकांक्षी तीनैजनाले मुख्यमन्त्रीज्यूलाई सहयोग गर्ने निर्णय भइसकेको हो’, मुख्यमन्त्रीका अर्का स्वकीय सचिव कुँवरले भने, ‘तर, स्वार्थीहरूले मिलेर उहाँको टिकट खोसेका छन् ।’

विवाद तीव्र

मुख्यमन्त्री भट्टको टिकट उनकै पीए ओलीले खोसेपछि माओवादी केन्द्र डोटीमा चर्को विवाद देखिएको छ । मुख्यमन्त्री भट्ट पक्षधरले मुख्यमन्त्रीको अपमान भएको भन्दै निर्णय अस्वीकार गर्ने धम्की दिइरहेका छन् ।

यस्तै सोही निर्वाचन क्षेत्रका लागि सिफारिस भएका मुख्यमन्त्री भट्टका अर्का स्वकीय सचिव कुवँर र जिल्ला सह–इन्चार्ज घर्तीमगरले आजै एक विज्ञप्ति निकालेर निर्णय सामूहिक रुपमा अस्वीकार गर्ने जनाएका छन् ।

विज्ञप्तिमा आपसी सहमति र केन्द्रीय कार्यालयले मुख्यमन्त्री भट्टलाई उम्मेदवार बनाउने तय गरिसकेपछि भएको यस्तो निर्णय गलत रहेको उल्लेख छ ।

‘मुख्यमन्त्रीको घोर अपमान गर्ने र अर्कोतर्फ हाम्रो दाबीलाई पनि बेवास्ता गर्ने कार्यको हामी घोर विरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘हामी सामूहिक रुपले अस्वीकार गर्ने कुरा पनि यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर