अन्ततः जसपा छाडेर एमाले प्रवेश गरे पूर्व राज्यमन्त्री सिंह, प्रदेशमा टिकट पाए
जनकपुरधाम । पूर्वराज्यमन्त्री शत्रुधनप्रसाद सिंह अन्ततः जनता समाजवादी पार्टी (जसपा) छाडेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।
सत्ता गठबन्धनमा जसपा रहेका बेला सिंहले टिकट पाउने आश मारेर पार्टी परित्याग गरेका थिए । तर, २४ घण्टा नबित्दै जसपा सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँग गठबन्धन गरेको समाचार बाहिरियो । त्यसपछि सिंहले आवेगमा आएर पार्टी परित्याग गरेको भन्दै अब पार्टीमै फिर्ता भएको विज्ञप्ति जारी गरे ।
सिंहलाई लागेको थियो- अब जसपाले सिरहा क्षेत्र नम्बर २ बाट टिकट दिनेछ । त्यसको ठीक उल्टो भयो । जसपाले उनको टिकट काटेर २०७४ मा सिरहा क्षेत्र नम्बर ४ बाट निर्वाचित राजकिशोर यादवलाई सिरहा २ को टिकट दियो ।
जसपामा फर्केर पनि टिकट नपाएपछि सिंह घरको न घाटको जस्तै भएका थिए । त्यसपछि एमालेका नेताहरुसँग निरन्तर सम्पर्कमा रहेका उनले टिकट निश्चित भएपछि एमालेमा प्रवेश गरेका छन् । सुरुमै उनले एमाले प्रवेश गर्ने सोचका साथ जसपा परित्याग गरेका थिए ।
उनलाई एमाले मधेस प्रदेश सहइन्चार्ज लीलानाथ श्रेष्ठले पार्टीमा स्वागत गरेका छन् । स्रोतका अनुसार उनलाई एमालेले सिरहा क्षेत्र २ (ख) को टिकट दिएको छ ।
सिरहा २ मा एमाले–जसपाको गठबन्धन छ । प्रदेशसभा क्षेत्र २ (क)बाट जसपाका विजय यादव उम्मेदवार बनेका छन् । उनी मधेस सरकारका कृषिमन्त्री छन् ।