प्रतिनिधिसभाको चुनावी मैदानमा उत्रिए एमालेका ११ महिला नेता (सूचीसहित)
काठमाडौं । महिला अधिकारकर्मी र विज्ञहरूले राज्य सञ्चालनमा महिलाको सहभागिता वृद्धि गर्न प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलाको ३३ प्रतिशत सहभागिताका लागि आवाज उठाउँदै आएका छन् ।
प्रत्यक्षतर्फ नै ३३ प्रतिशत महिला उम्मेदवार उठाउनु पर्ने आवाज पटक पटक उठे पनि प्रमुख दलले यस पटक समेत महिलालाई समानुपातिकमै सीमित गर्न खोजेका छन् । प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवारी दिएका महिलाको संख्या अत्यन्तै न्यून देखिएको छ ।
अहिले संविधानले ३३ प्रतिशत महिला प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ । प्रत्यक्ष निर्वाचनमा उम्मेदवार नै कम भएपछि समानुपातिकबाटै क्षतिपूर्ति गर्नुपर्ने भएको छ ।
सबैभन्दा ठूलो पार्टीको हैसियत पाएको नेकपा एमालेमा पनि यही हालत छ । आइतबार उम्मेदवारी मनोनयन गर्नेमा एमालेबाट जम्मा ११ जना महिला परेका छन् । एमालेले देशभर १६५ मध्ये १४५ क्षेत्रमा उम्मेदवारी दिएको छ ।
यस पटक पनि एमालेले समानुपातिकबाट महिलाको कोरम पुर्याउँदैछ । यसले पार्टीभित्र उपयुक्त महिला नभएको हो वा महिला आफै प्रत्यक्षमा भिड्न हिम्मत नगरेका हुन वा पार्टीले विश्वास नगरेको हो भन्ने प्रश्न उठेको छ ।
एमालेबाटै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई टिकट दिँदा पनि उनले रुचि नदेखाएकोले महिला आफैले हिम्मत गर्दैनन् भन्नेहरूलाई बल पुगेको छ । यद्यपि उनले नयाँलाई मौका दिने भन्दै ब्याक भएकी हुन् ।
यी हुन् एमालेका महिला उम्मेदवार
भगवती चौधरी, सुनसरी ३
यस पटक एमालेले भगवती चौधरीलाई सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उठाएको छ । उनीसँग प्रतिस्पर्धा गर्दैछन् नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार ।
चौधरीको गच्छदारसँग यो तेस्रो पटक प्रतिस्पर्धा हो । गच्छदारको भने २०४८ देखि लगातार सातौँ पटक उम्मेदवारी हो ।
चौधरीको दुर्भाग्य भनौं उनी २०७० २०७४ का चुनावमा गच्छदारसँग झिनो मतले पराजित भइन् । गच्छदार जिताउँदा धाँधली भएको भन्दै उनले पुनः मतगणनाका लागि दिएको मुद्दा सर्वोच्चको संवैधानिक इजलासमै छ ।
बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा अदालतको आदेशले निलम्बनमा रहेका गच्छदारलाई नै कांग्रेसले टिकट दिएको छ । उनी जिते भने पुनः निलम्बनमा पर्नेछन् भने भगवती जितिन् भने पहिलो पटक संसद् भवनमा प्रवेश गर्नेछिन् ।
मञ्जु चौधरी, उदयपुर १
मञ्जु चौधरी उदयपुर १ बाट प्रत्यक्ष निर्वाचनमा तेस्रो पटक उत्रिँदै छन् । उनले २०७० सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा जित हात पारे पनि २०७४ सालमा भने नेपाली कांग्रेसका नेता तथा हालका परराष्ट्रमन्त्री नारायण खड्कासँग हार व्यहोरिन् । यस पटक पनि उनी खड्कासँग भिड्दैछिन् । चौधरी यसअघि शहरी विकास राज्य मन्त्री समेत भइसकेकी छन् ।
ज्वाला साह, बारा ३
ज्वाला कुमारी साहलाई एमालेले यस पटक बारा क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । २०६४ सालमा माओवादीबाट चुनाव जितेकी साहे २०७० को निर्वाचनमा भने पराजय बेहोरिन् ।
२०७४ मा भएको प्रदेशसभा चुनावमा बाम गठबन्धनबाट शाहले जित हात पारिन । ज्वाला नेकपा विभाजनको बेला प्रदेश सांसदको पद छाडेर एमालेमा लागेकी थिइन् । उनी यसबीचमा मधेस प्रदेश अध्यक्ष हुँदै हाल एमालेको पोलिटव्युरो सदस्य छिन् ।
जुली कुमारी महतो, धनुषा ३
जुली महतो धनुषा ३ बाट दोस्रो पटक प्रत्यक्षतर्फ भिड्दैछिन् । यसअघि उनी दुई पटक समानुपातिकमा परेकी थिइन । गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो (उद्योगपति) की बहिनी समेत रहेकी जुली केपी ओली सरकारकै पालामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री समेत बनेकी थिइन् ।
उनी धनुषा ३ बाट उम्मेदवार बन्दै गर्दा हेबिवेट नेताहरू विमलेन्द्र निधी र राजेन्द्र महतोले मैदान छाडेका छन् । उनका पति रघुवीर महासेठ सोही जिल्लाको क्षेत्र नम्बर ४ मा उम्मेदवार छन् ।
पद्मा अर्याल, स्याङ्जा २
नेकपा एमालेको पहिलो जिल्ला अध्यक्ष महिला बनेर चर्चामा आएकी पद्मा अर्यालको पहिलो चुनाव नै कांग्रेसका हेबिवेट नेता गोपालमान श्रेष्ठसँगको प्रतिस्पर्धाबाट शुरु भएको थियो ।
नेकपा एमालेकी सचिव अर्याल स्याङ्जा क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ दोस्रो पटक चुनाव लड्दा प्रतिस्पर्धी भने फेरिएका छन् । यसअघि २०७४ मा बहालवाला उपप्रधानमन्त्री गोपाल मान श्रेष्ठलाई अर्यालले पराजित गरेकी थिइन् ।
अहिले उनी नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग भिड्दैछिन् । उनी नेकपा सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री र कृषि मन्त्री समेत बनिसकेकी छन् ।
उनकै पालामा नेपालको चुच्चे नक्सा भूमि व्यवस्था मन्त्रालयबाट उनकै नेतृत्वमा प्रकाशन भएको थियो भने सगरमाथाको उचाई मापनको नेतृत्व पनि उनैले गरेकी थिइन् ।
विद्या भट्टराई, कास्की २
विद्या भट्टराई दोस्रो पटक कास्की २ मा उम्मेदवार बनेकी छन् । रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको ठाउँमा उपचुनाव जितेपछि राजनीतिमा कम ब्याक भएकी भट्टराई यस पटक पनि सोही क्षेत्रबाट उम्मेदवार छिन् ।
मञ्जु शर्मा चालिसे, बागलुङ २
मञ्जु शर्मा चालिसे बाग्लुङ २ बाट प्रत्यक्ष निर्वाचन लड्दैछिन् । केही समय अघि नेपाली कांग्रेसबाट एमाले प्रवेश गरेकी चालिसे यसअघि स्थानीय तहको चुनावमा गलकोट नगरपालिकामा मेयरकी स्वतन्त्र उम्मेदवार बनेर एक्लै ३२६५ मत पाएकी थिइन् । एमालेमा चालिसे नयाँ अनुहार हुन् ।
शान्ता चौधरी, दाङ १
एमालेको प्रमुख सचेतक समेत रहिसकेकी शान्ता चौधरी दाङ क्षेत्र नं. १ बाट लड्दैछिन् । प्रत्यक्षतर्फ यो उनको दोस्रो पटक हो । २०७० मा हार व्यहोरेकी चौधरी पहिलो संविधान सभाको सदस्य समेत हुन् । समानुपातिकबाट उनी सांसद बनेकी थिइन् । दाङ, लक्ष्मीपुर निवासी चौधरी आठ वर्षको उमेरदेखि २५ वर्ष सम्म जमीन्दारको घरमा कम्हलरी बसेर विना पैसा काम गरेकी थिइन् । उनको आत्मकथा ‘कम्लहरीदेखि सभासद्सम्म’ प्रकाशित छ ।
गौरी ओली, डोटी
गौरी वली डोटीबाट लड्दैछिन् । एक पटक समानुपातिक भएकी ओली एमालेको केन्द्रीय सदस्य हुन् । पहिलो पटक प्रत्यक्ष उम्मेदवारी दिएकी ओली सत्ता गठबन्धनका प्रेम आलेसँग भिड्दैछिन् ।
निरु पाल, कञ्चनपुर ३
एमाले पोलिटव्युरो सदस्य निरुदेवी पाल कञ्चनपुर ३ बाट प्रत्यक्ष निर्वाचन लड्दैछिन् । उनको लागि प्रत्यक्ष उम्मेदवारी यो दोस्रो अनुभव हो । एक पटक समानुपातिक भइसकेकी उनी कांग्रेसका नेता रमेश लेखकसँग दोस्रो पटक प्रतिस्पर्धा गर्दैछिन् ।
कोमल ओली, दाङ ३
एमालेले गायिका कोमल वलीलाई यस पटक निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवार बनाएको छ । एमालेले उनलाई दाङको निर्वाचन क्षेत्र नम्बर ३ को उम्मेदवार बनाएको हो ।
अघिल्लो निर्वाचनमा उनी यही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी थिइन् । तर त्यति बेला उनले टिकट पाइनन् । टिकट नदिए पनि पछि वलीलाई एमालेले राष्ट्रिय सभा सदस्य बनाएको थियो ।