डेढ वर्षपछि नाफामा नेपाल आयल निगम – Nepal Press

डेढ वर्षपछि नाफामा नेपाल आयल निगम

पेट्रोलियममा प्रतिलिटर ५१ रुपैयाँ फाइदा, उपभोक्ता भने मारमा

काठमाडौं । नेपाल आयल निगम करिब डेढ वर्षपछि नाफामा गएको छ । निगमका प्रवक्ता विनीतमणि उपाध्यायले निगम करिब डेढ वर्षपछि नाफामा गएको बताएका हुन् ।

‘निगम डेढ वर्षपछि नाफामा गएको छ’, उनले भने, ‘अहिले निगम १ अर्ब १४ करोड नाफामा रहेको अनुमान गरिएको छ ।’

उनका अनुसार निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई पुरानो १६ अर्ब र पछिल्लो समयको २४ अर्ब गरी ४० अर्ब बक्यौता तिर्न बाँकी छ । नेपाल सरकारले उपलब्ध गराएको ७ अर्ब र निगमको जग्गा राखेर लिएको ३ अर्बको व्याज तिर्न वार्षिक १ अर्ब ६५ करोड लाग्ने उनले बताए ।

निगमका अनुसार अहिले हवाई इन्धनमा प्रतिलिटर ५१ रुपैयाँ फाइदा छ । पेट्रोलमा १६ रुपैयाँ, डिजेलमा ९ रुपैयाँ र मट्टीतेलमा प्रतिलिटर ३८ रुपैयाँ निगमलाई नाफा रहेको छ ।

त्यस्तै निगमलाई खाना पकाउने एलपीजी ग्यासमा भने प्रतिसिलिन्डर ३२५ रुपैयाँ घाटा रहेको छ । ग्यासबाहेकका सबै पेट्रोलियम पदार्थमा नाफा रहेको छ । अहिले पेट्रोलियम पदार्थमा निगमलाई प्रतिलिटर ५१ रुपैयाँसम्म फाइदा भइरहेको छ ।

गत भदौ १६ गते निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर ६/६ रुपैयाँ बढाएको थियो । अहिले मूल्य घटेर आउँदा पनि निगमले मूल्यसूचीसमेत लुकाउने गरेको छ ।

विश्व बजारमा नै तेलको मूल्य घट्दा पनि निगमले मूल्य नघटाउँदा उपभोक्ताले भने महँगोमा पेट्रोलियम पदार्थ प्रयोग गर्न बाध्य छन् ।

स्रोतका अनुसार उद्योग मन्त्रालयमा मन्त्रीसहित पेट्रोलियम पदार्थको मूल्य घटाउने कि के गर्ने भनेर छलफल भएको थियो । छलफलमा उद्योगमन्त्री दिलेन्द्र बडू, निगमका अध्यक्ष तोयम राय र निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीबीच छलफल भएको थियो ।

तर, सो छलफलमा निगमका कार्यकारी निर्देशक र उद्योगमन्त्रीले नै केही समय मूल्य घटाउने विषयलाई होल्डमा राख्ने गरी छलफल टुङ्ग्याएका छन् ।

विश्व बजारमा कच्चा तेल उत्पादन कटौती गरेकाले पनि अब ५ दिनमा नयाँ मूल्यसूची आउने भएकाले त्यही नयाँ मूल्यसूचीलाई आधार बनाएर मूल्य थपघट हुनेछ । अब १६ तारिखमा मूल्यसूची आउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर