प्रभु शाहबारे विष्णु रिजालको टिप्पणी: हरियो सर्पले एक दिन डस्छ
‘वार कि पारको लडाइँमा पार्टीमा बार्गेनिङ क्षम्य हुँदैन’
काठमाडौं । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई हरियो सर्पको संज्ञा दिएका छन्।
उनले नेता साहले धोका दिए पनि मधेसमा एमालेका पक्षमा आएको जनलहरलाई रोक्न नसक्ने दाबी गरेका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘एउटा कुरामा हामी सबैले ध्यान दिनैपर्छ– प्रभु साह जस्ता हरिया सर्पहरुले एक न एक दिन डस्छन्। आपराधिक विगत, अस्थिर चरित्र, चरम महत्वकांक्षा, जातीय संकीर्णता, संदिग्ध क्रियाकलाप र रिमोट कन्ट्रोलबाट चल्नुपर्ने बाध्यताका कारण प्रभु साहले एमालेलाई धोका दिए पनि मधेसमा एमालेका पक्षमा आएको जनलहरलाई त्यसले रोक्न सक्नै छैन।’
नेता साहले छाडेपनि जसपासँग भएको सहमतिले एमालेको विजयलाई थप फराकिलो बनाउने दाबी गरेका छन्।अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको सुखी नेपालीः समृद्ध नेपालको राष्ट्रिय आकांक्षालाई सफल बनाउन आगामी चुनाव राष्ट्रकै लागि निर्णायक भएको उल्लेख गरे।
यस्तै, उनले चुनावका बेला अन्तिम घडीमा टिकट नपाएका कारण पार्टी नै छाड्ने घनश्याम भुसाललाई संकेत गर्दै कुनै टिप्पणी गर्न आवश्यक नभएको औल्याए।
सत्ताधारीहरुको घेराबन्दी र षड्यन्त्रलाई चिर्दै जनताको अपार विश्वास र समर्थन प्राप्त गर्ने दृढ संकल्पका साथ एमाले निर्वाचनमा होमिएको उल्लेख गरेका छन्।
‘पार्टीले टिकट वितरण गर्दा र मनोनयन दर्ता गर्दासम्मका आन्तरिक प्रतिस्पर्धाहरु अब स्वतः समाप्त भएका छन्। एमालेको सिंगो पंक्ति एउटै ताल, लय र चालका साथ निर्वाचनमा होमिनुबाहेक एमालेका कुनै पनि नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकका सामु अर्को कुनै विकल्प छैन’ उनले भनेका छन्।
प्रतिक्रियावादीसँग वार कि पारको लडाइँमा होमिएको बेला घुक्र्याउने, धम्क्याउने, बार्गेनिङ गर्ने, निस्क्रिय रहने, नकारात्मक कुरा गर्ने, सार्वजनिक सञ्चारमाध्यममा असन्तुष्टी व्यक्त गर्ने, कार्यकर्ता भड्काउन प्रयास गर्ने जस्ता कुनै क्रियाकलाप कसैका लागि पनि क्षम्य नहुने चेतावनी दिएका छन्।