एमालेको बहुमत सुनिश्चित गर्न जसपासँग तालमेल गरेका हौं : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको बहुमत ल्याउनको लागि जनता समाजवादी पार्टी (जसपा)सँग चुनावी तालमेल गरेको बताएका छन् । दाङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् ।
उनले आगामी चुनावपछि बलियो राष्ट्रिय शक्तिकोे रुपमा एमाले स्थापित हुने दाबी गरे । ‘मधेश प्रदेशमा हामीले विगतमा २ सीट मात्रै जितेका छौँ। ३२ सीटमा १६/१६ सीटमा मिलेर जाने सहमति भएको थियो’, उनले भने, ‘तर, प्राविधिक काररणले १४ सीटमा तालमेल गरेर अरुमा मित्रवत् प्रतिस्पर्धा गछौँ । हामीले हाम्रो बहुमत प्राप्त गर्नका लागि मात्रै जसपासँग तालमेल हौँ । ’
जसपासँगको तालमेल आफूहरूको सीट र मत पनि बढ्ने विश्वास व्यक्त गरे । पार्टीलाई एकताबद्ध गरेर निर्वाचन जान सके गठबन्धनले कुनै असर नगर्ने बताए । तयारी कम गरेकै कारणले आफूहरुले जितेको स्थानीय तहमा हारेको अनुभवबाट सिक्नुपर्ने सुनाए । उम्मेदवारको जीत र हारलाई मात्रै नहरेर पार्टीको भविष्यको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
मतदातालाई विपक्षीले प्रलोभनमा पार्नसक्ने भएकाले सचेत भएर बस्न निर्देशन दिए । जनताको घरघरमा पुगेर आफूहरुमाथि फैलाएको भ्रम चिर्न आग्रह गरे ।