ओलीको टिप्पणी- गृहमन्त्रीले एनआरएनएको मञ्च दुरुपयोग गरे, राजीनामा गर्नुपर्थ्याे (भिडिओ)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघको मञ्च दुरुपयोग गरेर गृहमन्त्रीले राष्ट्रपतिबारे अमार्यादित टिप्पणी गरेको भन्दै राजीनामा मागेका छन् ।
एनआरएनएको वार्षिक साधारण सभा समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गृहमन्त्रीले नागरिकता विधेयकका सन्दर्भमा राष्ट्रपतिमाथि गरेको अमर्यादित टिप्पणीप्रति प्रधानमन्त्री समेत गम्भीर नबनेको आरोप लगाए ।
ओलीले भने- गृहमन्त्रीले जुन मन्चको दुरुपयोग गरेर राष्ट्रपतिको बारेमा तथानाम बोले यो अशोभनीय र लज्जास्पद छ । एनआरएन जस्तो मन्चको दुरुपयोग हुनु झनै गम्भीर हो । त्यस्तो टिप्पणीपछि प्रधानमन्त्रीले गृहमन्त्रीको राजीनामा मागिसक्नुपर्थ्याे, उनले राजीनामा दिइसक्नुपर्थ्याे ।
अध्यक्ष ओलीले नेकपा एमाले विदेशीलाई नेपाली नागरिकता दिने कुरामा संवेदनशील रहेको बताए । उनले नागरिकता वितरण गर्ने भन्दा पनि नागरिकले पाउने अधिकार रहेको भन्दै यसअघि पटकपटक नागरिकता दिने नाममा अन्यथा भएको बताए ।