नागरिकताबारे ओलीको दृढता- केही भोट बढाउन देशभित्रै नेपालीलाई अल्पसंख्यक बन्न दिइन्न (भिडिओ)
‘सत्ताधारीहरु विदेशीलाई नागरिकता दिन पाइएन भनेर एमालेविरुद्ध रुवाबासी गर्दैछन्, हामी बाधक बनिरहन्छौं’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशीलाई नागरिकता दिएर नेपालीलाई देशभित्रै अल्पसंख्यक बनाउँने प्रयासमा एमाले सधैं बाधक बनिरहने प्रष्ट पारेका छन् ।
गैरआवासीय नेपाली संघको साधारणसभालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले विदेशीलाई नागरिकता दिन पाइएन भनेर सत्ता गठबन्धनका मान्छेहरुले एकस्वरमा एमालेको विरोध गरिरहेको बताए ।
अोलीले भने- हामीले यसअघि नै नागरिकता दिने नाममा अन्यथा भइसकेको छ । आज कतिपय ठाउँहरुमा भोट माग्ने बेला सीमापारीका गाउँमा जानुपर्ने अवस्था छ । किनकी मतदाता उतातिर छन् । हामी डेमोग्राफिक चेन्जमार्फत माइनोरिटीमा जान चाहान्नौं । नेपाल नेपालीले चलाउँछन्,वास्तविक नेपालीलाई नागरिकताबाट बञ्चित गर्न सक्दैनौं ।
पूर्व प्रधानमन्त्री ओलीले खुला सीमाना अनियन्त्रित अवस्थामा रहेको भन्दै गैरनागरिकलाई नागरिकता दिन पाइएन भनेर अहिले एमालेविरुद्ध हल्ला रुवाबासी भइरहेको बताए । उनले नागरिकतामा लचिलो बन्ने नाममा हौसिए,अलिकति भोट बढाउँनका लागि देशभित्रै माइनोरिटीमा जान एमाले नसक्ने बताए ।
ओलीले गैरआवासीय नेपालीलाई विशेष नागरिकता दिने सन्दर्भमा एमाले तयार रहेको र मंसिर ४ गतेपछि आफूले बोलेको भरपाई पेश गर्नेसमेत बताए ।