लुम्बिनीबाट अघि बढ्यो ओलम्पिक टर्च र्‍याली – Nepal Press

लुम्बिनीबाट अघि बढ्यो ओलम्पिक टर्च र्‍याली

रुपन्देही । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरु ओलम्पिक टर्च लिएर बिहीबार लुम्बिनीबाट पोखरातर्फ प्रस्थान गरेका छन् ।

लुुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले ओलम्पिक टर्च र्‍यालीका संयोजक उमेश मास्केलाई शान्तिदीपबाट टर्च बालेर हस्तान्तरण गरेका हुन् । मास्केको संयोजकत्वमा राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ७ सदस्यीय टोली शुक्रबार पोखरा पुग्नेछ ।

खेलाडीहरुले बिहीबार बिहान शान्तिदीपबाट टर्च लिएर लुम्बिनी मायादेवी मन्दिर परिसर परिक्रमा गरेका थिए । लुम्बिनी विकास कोषका तर्फबाट खेलाडीहरुलाई स्वागत गरिएको थियो । उक्त अवसरमा कोषका सदस्यसचिव शाक्यले खेलाडीहरुलाई सफलताको शुभकामना दिए ।

नेपाल खोखो संघका महासचिवसमेत रहेका सदस्यसचिव शाक्यले लुम्बिनीको पवित्र भूमिको शान्तिदीपबाट लिएर गएको टर्चले नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीहरुमा उत्साह थपिने बताए ।

ओलम्पिक टर्च र्‍यालीका संयोजक मास्केले लुम्बिनी शान्ति दीपबाट लगिएको दीप पोखराका ओलम्पियनहरुमाझ पुर्‍याएर ऊर्जा थप्ने विश्वास लिए ।

खेलाडीहरुलाई कोषका सदस्य सचिव शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, पुरातत्व शाखा प्रमुख हिमाल उप्रेती, लुम्बिनीका पर्यटन व्यवसायीहरुले खादा लगाएर स्वागतसहित सफलताको शुभकामना दिएका थिए । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत गण्डकी प्रदेशका विभिन्न ठाउँमा विधागत खेलहरु भइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर