लुम्बिनीमा निःशुल्क बिजुली बस तिहार र छठसम्मै चल्ने – Nepal Press

लुम्बिनीमा निःशुल्क बिजुली बस तिहार र छठसम्मै चल्ने

१५ दिनमा करिब १० हजारले लिए सेवा

रुपन्देही । लुम्बिनी विकास कोषले सञ्चालन गरेको धम्म यात्रा बिजुली बसको अफिसियल यान्त्रिक परीक्षणलाई दिपावलीसहित छठपर्वसम्म बढाइने भएको छ ।

लुम्बिनी विकास कोषको बिहीबार बसेको सचिवालय बैठकले निःशुल्क बस सेवा तिहार र छठसम्म लैजाने निर्णय गरेको हो । दसैंको अवधिमा निःशुल्क बिजुली बसप्रति आकर्षण बढेकाले तिहार र छठसम्म सेवा लैजाने निर्णय भएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए । दशैंको अवसर पारेर असोज १३ गतेबाट निःशुल्क रुपमा बौद्ध परिपथ क्षेत्रमा निःशुल्क बिजुली बस सञ्चालन गरिएको थियो ।

बुधबारसम्म ९ हजार ७ सय १२ जनाले लुम्बिनीको धम्म यात्रामा सहभागी भई लुम्बिनी भ्रमण गरेको कोषका बोर्ड सदस्य तथा परिक्षण इकाई संयोजक बिश्वराज पौडेलले जानकारी दिए ।

लुम्बिनीबाट रामग्रामसम्मको रुटबाट १५ दिनमा २८ ट्रिप यात्रामा १३९० जना, लुम्बिनी बुटवल रुटमा १० दिनमा ३८ ट्रिप यात्रामा ११२२ जना, लुम्बिनी देवदह रुटबाट १५ दिनमा २९ ट्रिप यात्रामा १३४० जना, लुम्बिनी बेलहिया रुटबाट ८८ ट्रिप यात्रामा ३४७९ जना, लुम्बिनी तिलौराकोट रुटबाट ५५ ट्रिप यात्रामा १३४८ जना, लुम्बिनी रामापुर कलोनी रुटबाट ५ दिनमा २४ ट्रिप यात्रामा १०३३ जनाले लुम्बिनी भ्रमण गरेका छन् ।

उक्त धम्म यात्रा सञ्चालनका लागि जिल्ला प्रसासन कार्यलयको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबलबाट चालक र सहयोगीसहितको सहयोग कायम रहेको छ ।

पन्ध्र दिनको अवधिमा बिद्युतीय बस सञ्चालनमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग पुर्‍याउने पर्यटन व्यवसायी, नेपाली सेना प्रहरी तथा सरोकारवालाहरुप्रति कोषका कोषाध्यक्ष भट्टराईले आभार व्यक्त गरेका छन् ।

लुम्बिनी विकास कोषले ५ वटा बस लुम्बिनी तिलौराकोट, लुम्बिनी देवदह, लुम्बिनी रामग्राम, लुम्बिनी बुटवल र लुम्बिनी सैनामैना क्षेत्रमा नियमित रुपमा सञ्चालन गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *