श्रमजीवी पत्रकार हटाउन लागिएपछि राससमा धर्ना, आन्दोलनको नेतृत्व पत्रकार महासंघले गर्ने – Nepal Press

श्रमजीवी पत्रकार हटाउन लागिएपछि राससमा धर्ना, आन्दोलनको नेतृत्व पत्रकार महासंघले गर्ने

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत २२ जना श्रमजीवी पत्रकार हटाउन थालिएपछि नेपाल पत्रकार महासंघ लगायत पेशागत संगठनहरुले रासस कार्यालयमा धर्ना दिएका छन् ।

पत्रकारलाई निष्कासन नै गर्ने गरी श्रमजीवी पत्रकारविरुद्ध रासस व्यवस्थापनले कदम चालेको भन्दै राससका अस्थायी÷ करार÷ ज्यालादारी पत्रकार संघर्ष समितिको आयोजना तथा नेपाल पत्रकार महासंघलगायत पेशागत संघ संगठनका प्रतिनिधिहरूको सहभागितामा राससमा धर्ना दिइएको हो ।

धर्नापछि आयोजित विरोध समारोहलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका महासचिव रोशन पूरीले पत्रकारविरुद्धका कदम तत्काल सच्चाउन रासस व्यवस्थापनलाई चेतावनी दिए ।

उनले छिट्टै बैठक बसेर महासंघ कै नेतृत्वमा आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरिने र कुनै पनि हालतमा श्रमजीवीको मुद्दा स्थापित गरेरै छाड्ने स्पष्ट पारे । उनले अबको आन्दोलनको अगुवाइ महासंघले गर्ने पनि जानकारी दिए ।

महासचिव पुरीले महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले नै श्रमजीवी पत्रकारलाई हटाउने कार्य गर्नु अनुचित भएकाले तत्काल २२ जना पत्रकारको नवीकरण गर्न माग गरे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले महासंघका पूर्व अध्यक्ष झा व्यवस्थापन प्रमुख हुँदैमा आन्दोलनमा महासंघको साथ सहयोग नरहने अवस्था नहुने भन्दै महासंघले ती २२ जना पत्रकारको रोजगारी खोस्न नदिने बताए ।

उनले दीर्घकालीन समस्या समाधानका लागि रासस विनियमावली संशोधन गरेर जानुको विकल्प नरहेको बताए । सञ्चारीका समूह नेपालका अध्यक्ष विमला तुम्खेवाले धर्ना प्रति ऐक्यबद्धता जनाउँदै तत्काल समस्या समाधान गर्न आग्रह गरिन् ।

समाजवादी प्रेस संगठन कार्यवाहक अध्यक्ष विश्वमणि सुवेदीले राससका पत्रकारको अधिकार सुनिश्चित गरी उनीहरूलाई न्याय दिन रासस व्यवस्थापनसँग अनुरोध गरे ।

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले श्रमजीवी पत्रकारलाई निष्कासन गरे प्रेस चौतारी कडा आन्दोलनमा उत्रने चेतावनी दिए । उनले राससका २२ जना श्रमजीवी पत्रकारलाई हटाइएमा राससका अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्दराज राईको पदसम्म नजोगिने चेतावनी दिँदै त्यस्तो अवस्था आउने छैन भन्ने विश्वास व्यक्त गरे ।

श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले नियत खराब राखेर व्यवस्थापन पक्षले श्रमजीवी पत्रकारलाई हटाउन खोजेको स्पष्ट नियत देखिएको बताए । उनले श्रमजीवी पत्रकारलाई हटाउँछु भन्ने कल्पनासमेत नगर्न चेतावनी दिए ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारीले रासस व्यवस्थापनले विकल्प नखोजी श्रमजीवी पत्रकारलाई निकाल्न खोज्नु दुःखद भएकाले विकल्प खोजेर समस्या समाधान खोज्न व्यवस्थापनलाई सुझाव दिए ।

प्रेस सेन्टर नेपालका उपाध्यक्ष विदुर खड्काले राससमा लामो समयदेखि काम गरेका पत्रकारलाई कुनै पनि बहानामा निकाल्न खोजे थप कडा आन्दोलन गर्ने चेतावनी दिए ।

समाजवादी प्रेस संगठनका महासचिव भूपराज खड्काले लामो समयदेखि कार्यरत पत्रकारलाई हटाउने नियत रासस व्यवस्थापनको देखिएको बताउँदै त्यसविरुद्ध आफ्नो संगठनले जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने बताए ।

राससका पत्रकार संघर्ष समितिका संयोजक रमेश गिरिले व्यवस्थापन पक्षले विकल्प हुँदाहुँदै नियत राखेर २० वर्षदेखि कार्यरत रहेका श्रमजीवीलाई हटाउन खोजेको जानकारी गराए । उनले रोजगारी सुनिश्चितता नहुँदासम्म आन्दोलन जारी रहने बताए ।

प्रेस चौतारी नेपाल प्रतिष्ठान प्रदेश कमिटी इन्चार्ज मोहन बास्तोलाले पत्रकार महासंघका पूर्व अध्यक्षले नेतृत्व गरेको संस्थामा श्रमजीवी पत्रकारलाई हटाउन खोज्नु लाजमर्दो विषय भएको बताए । उनले तत्काल ती पत्रकारको रोजगारी सुनिश्चितता गर्न माग गरे ।

रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्काले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पत्रकारलाई निष्कासन गर्ने सवालमा साथ नरहने बताइन् । उनले ती पत्रकारको रोजगारी गुम्न नदिनका लागि आन्दोलन गर्ने चेतावनी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर