दैनिक गुजारा खोसिएकी शर्मिला भन्छिन्– बालेनले मलाई रुवाएर गाडा लानुभयो, तर उहाँको सधैँ भलो होस् (तस्बिर/भिडिओ)
यूएन पार्कको पुलबाट दक्षिण लागेपछि बागमती किनाराको सुकुम्वासी बस्तीमा पुराना खिया लागेको टिन र पम्पलेटले छाएको, बासले बारेको एउटा झुपडी छ । सोही झुपडीमा आफ्नो दुई वर्ष एक महिनाको नानी र श्रीमानसँग बस्दै आएकी छिन् शर्मिला तामाङ ।
यी तिनै शर्मिला तामाङ हुन्, जसको एउटा भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । टेकुस्थित प्रसूति गृहको दुई नम्बर गेटको अगाडि ठेलामा पानीपुरी र चटपटे बेच्दै परिवारको गुजारा गरिरहेकी शर्मिलाको ठेला महानगरले उठाएपछि उनले बिलौना गरिरहेको भिडिओले महानगर र मेयर बालेन्द्र शाहको कार्यशैलीमाथि प्रश्न उठाइरहेको छ ।
गरिखाने भाँडोमा महानगरले कब्जा गरेपछि शर्मिलाले अहिले के गर्दै होलिन् ? भन्ने कौतुहलतालाई मेटाउन हामी उनको वासस्थानमा पुग्दा उनी आफ्नो २५ महिने नानीलाई काखमा च्यापेर मलिन अनुहारका साथ शर्मिलाले हामीलाई स्वागत गरिन् र आफ्नो विगत वर्तमान र भविष्यको फेहरिस्त सुनाउन राजी भइन् ।
झण्डै आधा घण्टासम्म उनी भक्कानिँदै सम्हालिँदै आफ्नो व्यथा सुनाइरहिन हामी सुनिरह्यौँ ।
झण्डै २ वर्ष देखी सडकमा व्यापार गर्दै आएकी शर्मिलाका श्रीमान् दिलीप खड्का विगत तीन महिनादेखि बिरामी छन् । श्रीमान् बिरामी भएपछि घरको चुल्हो बाल्ने एक मात्रै सहारा थियो, महानगरले धुलीसाँध बनाएको उनको ठेला ।
शर्मिलाका अनुसार सो ठेला पनि उनले सहयोग स्वरूप प्राप्त गरेकी थिइन् । स्वास्थ्य अवस्थामा ठिकै भइदिए त उनका श्रीमान् दिलीप पुनः घर घरमा रगं लगाउन गएर घरको खर्च टार्थे होला तर अहिलेको अवस्थामा अब कसरी घरको खर्च टर्छ भन्ने प्रश्नको जवाफ शर्मिलासँग छैन ।
हुन त महानगरसँग उनको जम्काभेट पहिला पहिला पनि हुने गरेको थियो तर यसरी ठेला नै उठाएर लगेको हिजो नै पहिलो पटक हो । हिजोको दिनलाई सम्झिँदा पनि शर्मिलाका आँखा रसाउँछन् । घाँटीमा गाँठो पर्छ वाक्य फुट्दैन ।
महानगरका प्रतिनिधि आउँदै छन् भन्ने थाहा भइदिएको भए आफूले हिजो ठेला नै निकाल्ने थिइन भन्छिन् शर्मिला ।
हिजो उनी छिट्टै नै ठेला थन्काएर श्रीमानलाई अस्पताल लाने तयारीमा थिइन रे । परिस्थिति केही असहज भएपछि उनी त्यही अड्किइन अचानक महानगरको टोली आयो उनको ठेलाका सामान लछार पछार पर्यो ठेलालाई गाडीमा हाल्यो ।
रोजी रोटीको बाटो खोसिन थालेपछि ठेलालाई नै अँगालो हाल्दै शर्मिला पनि महानगरको गाडीमा उक्लिन, ठेला टेकु पुर्याइयो । ठेला छाडिइदिनका लागि उनले हार गुहार गरिन् । राई कराई गरिन् तर उनको आवाज सुनिदिने र दुःख बुझिदिने कोही थिइन् । अन्ततः उनको ठेलामा महानगरको डोजर चल्यो । उनले त्यो दृश्य लाचार भएर हेर्न बाहेक केही गर्न सकिनन्
महानगरले आफ्नो पेटमा लात हान्दा पनि महानगर मेयर बालेन शाहप्रति उनको केही गुनासो छैन ।
उनी भन्छिन्, ‘यसमा मेरो भन्नु केही छैन । बरु खै कुन चाहिँ बिरामीलाई मेयर बालेनले निः शुल्क उपचार गराइदिएको थियो रे । यसका लागि उहाँलाई धन्यवाद ।’
उनलाई आशा छ, परिआएको खण्ड मेयर शाहले उनको पनि निः शुल्क उपचार गरिदिने छन् । तर उनी अब फेरी सडकमा व्यापार गर्न जाने आँट र पुजी आफूसँग बाँकी नभएको बताउँछिन् ।
मेयरले शहरको लागि राम्रै गरेको तर गरिब जनताको लागि भने ठिक नगरेको उनको बुझाई छ ।
शर्मिला आफूलाई जस्तो बज्रपात अरू कसैलाई नहोस् भन्ने कामना गर्छिन् ।