चुनावी दौडमा किन छैनन् यी ‘भेटेरान’ नेताहरु ?
काठमाडौं । पछिल्लो समय नेपाली राजनैतिक परिवेशमा पुस्तान्तरणको बहसले राम्रै चर्चा बटुलिरहेको छ । पाका पुराना नेतालाई ससम्मान बिदाइ र नयाँ पुस्तालाई नेतृत्व भन्ने भाष्य नेपाली ‘पब्लिक स्पियर’मा केही हदसम्म नयाँ डिस्कोर्सको रुपमा उदाएको पनि यथार्थ हो । आम मानिसहरुमाझ सुरु भएको यो बहसलाई मूलधारका राजनैतिक पार्टीले भने खासै महत्व दिएको देखिँदैन ।
आसन्न चुनावका लागि भएको मनोनयन दर्ताले यो कुरालाई उजागर गर्छ । वैकल्पिक शक्तिको वकालत गर्दै आएका केही स्वतन्त्र उम्मेदवार र नयाँ पार्टीका उम्मेदवारबाहेकको आसन्न चुनावमा खासै नयाँ उम्मेदवार देख्न पाइँदैन । विशेष गरी सत्तासम्म पहुँच राख्न सक्ने र सम्भावना बोकेका मूलधारका राजनैतिक पार्टीहरुमा पुरानै अनुहारहरु हावी देखिएका छन् ।
यस्तो अवस्थामा नेपाली राजनीतिका केही ‘भेटेरान’ नेताहरु भने केही हदसम्म ‘आउट अफ द बक्स’ देखिएका छन् अर्थात चुनावी दौडबाट बाहिरिएका छन् ।
लोकेन्द्रबहादुर चन्द
चुनावी दौडबाट बाहिरिएका ‘भेटेरान’ नेताहरुको सूचीमा अग्रपङ्क्तिमा नाम आउने नेतामध्ये एक हुन् लोकेन्द्रबहादुर चन्द । वि.सं २०४०, वि.सं २०४६, वि.सं २०५३ र वि.सं २०५८ मा गरी चार पटक नेपालको प्रधानमन्त्री बनिसकेका चन्दले सक्रिय राजनीतिबाट अघोषित विश्राम लिएका छन् । राप्रपाका वरिष्ठ नेता चन्द आसन्न चुनावमा केवल मतदाताको रुपमा सहभागी हुनेछन् ।
अष्टलक्ष्मी शाक्य
नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि चुनावी दौडबाट बाहिरिएकी ‘भेटेरान’ नेताहरुको सूचीमा अटाउन पुगेकी छन् । पार्टीले उनलाई काठमाडौं क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस गरे पनि शाक्य आफैंले चुनाव लड्ने इच्छा देखाइनन् । सो क्षेत्रमा एमालेले शिवसुन्दर राजवैद्यलाई उम्मेदवार बनाएको छ ।
डा. बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि चुनावी दौडबाट अलग्गिएका छन् । २०६४, २०७० र २०७४ सालको निर्वाचनमा गोरखा क्षेत्र नं २ बाट निर्वाचित भट्टराईले यस पटक सो क्षेत्रमा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई सघाउने भएका छन् ।
अग्निप्रसाद सापकोटा
प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले आसन्न चुनावमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । चुनावको उम्मेदवार मनोनयन हुने अघिल्लो दिन उनले पत्रकार सम्मेलन गर्दै सो घोषणा गरेका थिए ।
यसअघि उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा पनि उनी सिन्धुपाल्चोक २ बाटै निर्वाचित भएका थिए । सापकोटा २०६८ मा सूचना तथा सञ्चार र २०७२ सालमा भूसंरक्षणमन्त्री भएका थिए ।
कृष्णबहादुर महरा
नेकपा माओवादी केन्द्रले दाङ २ बाट प्रतिनिधिसभाका लागि सिफारिस गरे पनि महरा आसन्न चुनावमा प्रत्यक्ष निर्वाचनको ‘दौड’ बाट बाहिरिएका छन् ।
माओवादीले उनलाई समानुपातिकको सूचीको पहिलो नम्बरमा राखे पनि महराले उक्त सूचीबाट पनि आफ्नो नाम हटाउन लगाएका थिए ।
भीम रावल
आसन्न चुनावमा प्रतिस्पर्धा गर्न नचाहेर भन्दा पनि टिकट नपाएर चुनावी दौडबाट टाढा बस्न बाध्य भएका नेता हुन्, नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल । उनी अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका थिए । तर एमालेले सो क्षेत्रमा माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोरालाई टिकट दिएको छ ।
२०५१ सालदेखि २०७४ सम्मका चार वटा निर्वाचन लडेका रावलले २०५६ सालको निर्वाचनमात्र हारेका थिए । २०६४ सालको निर्वाचनमा भने उनी समानुपातिक तर्फबाट सांसद भएका थिए ।
हरिबोल गजुरेल
चुनाव लड्न नचाएर भन्दा पनि टिकट नपाएर चुनावी दौडबाट बाहिरिएका अर्का ‘भेटेरान’ नेता हुन्, नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल । सिन्धुली २ बाट निरन्तर जित्दै आएका नेता गजुरेलको क्षेत्रमा माओवादी केन्द्रका सिन्धुली जिल्ला अध्यक्ष राजन दाहालले टिकट पाएका छन् ।
नेता गजुरेल २०७४ सालको निर्वाचनमा अत्यधिक मत ल्याएर निर्वाचित भएका थिए ।
डा. मीनेन्द्र रिजाल
टिकट नपाएका नेताहरुको सूचीमा दरिएका अर्का नेता हुन् नेपाली कांग्रेसका डा. मीनेन्द्र रिजाल । २०७४ सालको निर्वाचनमा मोरङ २ बाट विजयी नेता रिजालको ठाउँमा यसपटक कांग्रेसले सुजाता कोइरालालाई उम्मेदवार बनाएको छ ।
रोमी गौचन थकाली
नेपाली कांग्रेस मुस्ताङका सभापति एवं पूर्वमन्त्री रोमी गौचन थकाली पनि यस पटक चुनावी दौडबाट बाहिरिएका छन् । उनी २०७० मा मुस्ताङबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
नयाँलाई अवसर कि आफ्नालाई सेटल गराउने पोलिटिकल मुभ ?
वर्तमान राजनैतिक परिवेशलाई मध्यनजर गर्दा केही नेताहरु पार्टीको आन्तरिक राजनीति, गठबन्धनमा समाहित दलहरुबीचको सहमतिलगायतका कारणले चुनावी दौडबाट बञ्चित हुन पुगेका छन् । केही नेताहरुले नयाँलाई अवसर दिन स्वेच्छाले चुनावी दौडबाट बाहिरिएको दाबी गरिरहेका छन् ।
यद्यपि स्वेच्छाले चुनावी दौडबाट बाहिर निस्किएको दाबी गरिरहेका अधिकांश नेताहरुमा एउटा कमन ट्रेण्ड के देखिन्छ भने आफ्ना नजिकका आफन्त वा सहयोगीलाई सेटल गराउने । चुनाव नलड्नुको अर्थ राजनीतिमा सक्रिय नहुने भन्ने नहुने बताउँदै चुनाव नलड्ने घोषणा गरेका पूर्वप्रधानमन्त्री भट्टराईले पुत्री मानुषीलाई काठमाडौं ७ मा सत्ता गठबन्धनको साझा उम्मेदवार बनाए । बाबुरामको क्षेत्रमा प्रचण्डले उम्मेदवारी दर्ता गरे । यी घटना संयोगमात्रै पक्कै हुन सक्दैन । के यसलाई भट्टराईको नयाँ पोलिटिकल मुभ भनेर प्रश्न गर्न सकिन्न ?
यस्तै निवर्तमान सभामुख सापकोटाले पनि आफूले चुनाव जित्ने निश्चित भए पनि नयाँ तथा युवा उम्मेदवारलाई अवसर दिन भनेर पछि हटेको दाबी गरे पनि चुनावी दौडमा आफ्नै भतिजा माधवलाई सिन्धुपाल्चोक क्षेत्र नं १ को टिकट दिलाएका छन् । के यसलाई निवर्तमान सभामुख सापकोटाको राजनीतिक ‘त्याग’ भन्न सकिन्छ ? प्रश्न गर्ने यथेष्ट ठाउँ रहेका छन् ।
यस्तै एमालेकी उपाध्यक्ष शाक्यले पार्टीले सिफारिस गर्दागर्दै पनि चुनाव नलड्ने भन्दै शिवसुन्दर राजवैद्यलाई अगाडि सारिन् । राजवैद्य अष्टलक्ष्मीका आफन्त भने होइनन् । आफू चुनावी दौडबाट पछि हटेर आफ्नै छोरा योगेशलाई सेटल गराए कांग्रेस मुस्ताङका सभापति एवं पूर्वमन्त्री रोमी गौचनले ।
आफ्नै छोराभतिजा तथा नजिक व्यक्तिको लागि मैदान खाली गर्नु के राजनैतिक इमानदारिता हो ? के यसलाई राजनीतिमा पुस्तान्तरणको अभ्यास भन्न मिल्छ ? प्रश्न अनुत्तरित छ ।