द्वन्द्वमा माओवादीबाटै अपहरणमा परे, अहिले उसैसँग प्रतिस्पर्धा !
सिन्धुपाल्चोक । २०५७/५८ मा माओवादी युद्धको देशभर चरम प्रभाव थियो । गाउँमा मात्रै होइन शहरबजारमा समेत माओवादीहरुको उपस्थिति हुन थालिसकेको थियो । अझ दुर्गम गाउँबस्तीहरुमा भने माओवादीले आफ्नो ‘राज्यसत्ता’ नै सञ्चालन गरेको थियो ।
गाउँमा अरु राजनीतिक दलका गतिविधि शून्य थियो, फरक राजनीतिक दलका नेता कार्यकर्ताहरु गाउँमा जानै सक्दैनथे । तर, सिन्धुपाल्चोकको कर्णाली उपनामबाट परिचित हालको जुगल गाउँपालिका साविकको पाङताङ गाउँ विकास समितिका अध्यक्ष होमनारायण श्रेष्ठ भने माओवादीहरुसँग उनकै भाषामा भन्दा ‘प्रतिकार’ गरेर गाउँमै बसेर आफ्नो पार्टीको नियमित गतिविधि गरिरहेका थिए । सशस्त्र युद्धको बेला पनि एमालेको राजनीति गाउँमा हुन थालेपछि माओवादी उनीसँग रिसाएका थिए ।
२०५८ पुस २९ गते रातको समयमा विद्रोही माओवादीले उनलाई घरबाटै अपहरण गरेर लग्यो । उनको अपहरण भयो भन्ने सुनेपछि स्थानीय जनताले माओवादीको ‘जनअदालत’ लाई चारैतिरबाट घेरा हालेका थिए । त्यतिवेला नै हो, उनले जनताको माया कस्तो हुन्छ भन्ने महसुस गरेको । ‘जनताले आलोचनामात्रै गर्दैनन्, माया पनि गर्दारहेछन् भन्ने लाग्यो’, उनी भन्छन्, ‘अपहरणबाट मुक्त भएपछि अध्यक्षबाट राजीनामा नगर्ने मनस्थितिमा पुगें ।’
२ दिन २ रात माओवादी अपहरणमा परेपछि उनी एमाले राजनीतिमा झनै सशक्त भएर लागे । पटक पटक ‘जनकारबाही’को धम्की सहे । उनी निडर बने । ‘डर, धम्की र त्रास देखाएर पार्टी छाड्न दबाब दिए । तर, म निडरताका साथ एमालेमा सक्रिय भइरहेँ’, उनी सम्झन्छन् ।
हो माओवादीले सशस्त्र युद्धमा अपहरण गरेको दुःख दिएको ठीक २१ वर्षपछि उनी फेरि माओवादीसँग आमनेसामने भएका छन् । यो आमनेसामने मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनको लागि हुँदैछ । सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट उनी एमालेको तर्फबाट उम्मेदवार छन् । उनको प्रतिस्पर्धा गठबन्धनको तर्फबाट माओवादी केन्द्र वागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्री छन् ।
होमनारायण श्रेष्ठ सानैदेखि निडर र हक्की स्वभाव र उत्तिकै मिलनसार पनि छन् । उनको निडर र हक्की स्वभाव सानैदेखि हुनुमा उनको परिवारमा आफ्नो बुबाको गोली प्रहार गरेर हत्या भएपछि त्यो सानो बाल मानसपटलमा सानैदेखि विद्रोह र अन्याय नसहने गरी गडिरह्यो ।
झण्डै ३ दशक सक्रिय राजनीतिमै बिताएका श्रेष्ठ निष्ठाको राजनीतिको पर्याय हुन् । निजी जीवनलाई भुलेर आम नागरिकका जीवनमा समर्पित नाम हो होमनारायण । व्यक्तिगत खुशी र ऐशआरामलाई थाती राखेर आम जनताका खुशीका निम्ति सधैं लडिरहने मान्छे हुन् उनी । पार्टीभित्रका आन्तरिक निर्वाचनमा पटक-पटक हार व्यहोर्दै आएका उनले बाह्य निर्वाचनमा अक्सर कहिल्यै हारेका छैनन् ।
२२ वर्षकै उमेरमा २०५४ सालको स्थानीय निकाय निर्वाचनमा पाङताङबाट गाविस अध्यक्ष जितेका श्रेष्ठ २०७४ को स्थानीय निर्वाचनमा जुगल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । उनी जुगलको मात्रै अध्यक्षमा मात्रै होइन देशभरका गाउँपालिकाहरुको छाता संगठन गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षसमेत छन् अहिले ।
अनुभवले खारिएका मान्छे, क्षमतामा अब्बल । उनले अर्थशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएका होमनारायणको राजनीतिक यात्रा लामोमात्र छैन संघर्षले भरिएको छ ।
अविरल बगेको ब्रह्मायणी जस्तै उनी पनि राजनीतिमै बगे, बगिरहे निरन्तर । २०४६ सालमा ८ कक्षामा पढ्दै गर्दा अनेरास्ववियुमा संगठित भएर उनले राजनीतिक यात्रा तय गरेका थिए । त्यतिवेला कांग्रेस र कम्युनिष्टको चर्चा थियो । निम्नमध्यम वर्गीय परिवारमा जन्मिएका उनी कम्युनिष्टले मात्र धनी र गरीबलाई समान रुपमा हेर्छ भन्ने छाप परेपछि अनेरास्ववियुमा संगठित भएका थिए । विद्यार्थी राजनीतिमा सक्रिय रहेका उनी उच्च शिक्षा अध्ययनका लागि काठमाडौं गए ।
२०५१ सालमा अध्ययनको सिलसिलामा काठमाडौं पसेका उनल पढाइलाई निरन्तरता दिन मजदुरी गर्न थाले । महेन्द्ररत्न क्याम्पस ताहाचलमा सांस्कृतिक कमिटीमा रहेर भित्रभित्रै आफ्नो राजनीतिक सक्रियता पनि बढाइरहे । ‘गलैंचा बुनेर कलेज पढें’, उनी सम्झन्छन् ।
२०५४ सालमा स्थानीय निकायको निर्वाचन घोषणा भएपछि उनका दाजु दीर्घनारायण श्रेष्ठ पाङताङबाट गाविस अध्यक्षमा उठ्ने चर्चा थियो । दाजुलाई चुनाव जिताउन भनेर उनी गाउँ फर्किए । तर, गाउँ र समाजले होमनारायण नै चुनावमा उम्मेदवार बन्नुपर्ने आवाज उठाएपछि दाजुलाई ‘ब्याक’ गरेर उनी आफैं चुनाव लडे र जिते पनि ।
जनताका पक्षमा काम गर्न खोज्दा जनता नै आलोचनामा उत्रिन्थे रे तिनताका । जिल्ला विकास समितिले पनि आवश्यक चासो नदिएपछि उनले गाविस अध्यक्षबाट राजीनामाको मनस्थिति बनाइसकेका थिए । तर, जब उनी माओवादीद्वारा अपहरणमा परे अनि मनस्थिति बदलियो ।
जिल्लाको सबैभन्दा विकट र दुर्गम मानिएको जुगल गाउँपालिकाको ५ वर्षे कार्यकालबाट बिदा हुँदै गर्दा त्यहाँ जनताका बीच केही आशालाग्दो कामको सुरुवात श्रेष्ठले गरे । मुख्य सडकहरु अहिले पनि कच्ची छन् । तर, भित्री बाटोहरु वडासम्म पुग्ने सडकहरु कालोपत्रे गरेर जुगलका स्थानीयले पनि आफ्नै गाउँमा कालोपत्रे सडक देख्ने त्यहाँ स्थानीयको सपनालाई ५ वर्षभित्र श्रेष्ठले पूरा गरे ।
जुगलवासीलाई श्रेष्ठले ५ वर्षको अवधिमा विकासको भोक जगाएका छन् र ५ वर्षमा पूरा हुन नसकेका र गर्न नसकेका काम अब प्रदेश सांसद भएर हिजो आफूले देखेका सपनाहरु आफ्नो पालिकामा मात्रै होइन प्रदेश (ख) भित्रका तीन गाउँपालिका र एउटा नगरपालिकाको पाँच वडामा पूरा गर्ने योजना आफूसँग रहेको श्रेष्ठले बताए ।
‘मसँग स्पष्ट ‘भिजन’ र ‘लक्ष्य’ छ । विकास कसरी गर्नुपर्छ त्यो मैले यो ५ वर्षमा देखेको छु’, उनले भने, ‘त्यसैले अब बाँकी काम प्रदेशमा गएर गर्नेछु ।’
आफ्नो प्रदेशभित्रको जुगल, बलेफी, सुनकोशी र चौतारा साँगाचोकगढी नगरपालिकाको ५ वडाभित्रका स्थानीयसँग आफ्नो लामो समयदेखिको सम्पर्क र सहकार्य भएकाले गठबन्धन भए पनि जित्न आफूलाई समस्या नरहेको श्रेष्ठको दाबी छ ।