नेपालमा निजी क्षेत्रको अवस्थाबारे प्रतिवेदन तयार हुने – Nepal Press

नेपालमा निजी क्षेत्रको अवस्थाबारे प्रतिवेदन तयार हुने

काठमाडौं । नेपालको निजी क्षेत्रको अवस्थाबारे प्रतिवेदन तयार पार्न अन्तर्राष्ट्रिय वित्त निगमसँग सहकार्य गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले हातेमालो गर्ने सहमति गरेका हुन् ।

यस प्रतिवेदनले देशमा निजी क्षेत्रको लगानीबाट मुलुकको विकासमा पारेको प्रभावका बारेमा तथ्याङ्क, अवधारणा, विश्लेषण र नीतिगत सुझावहरू प्रस्तुत गर्ने महासंघले जनाएको छ । महासंघका अनुसार प्रतिवेदनको उद्देश्य सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाहरूबीच निजी क्षेत्रको विकासका सवालहरूबारे नीतिगत बहसका लागि आवश्यक जानकारी उपलब्ध गराउनु हो ।

सन् १९९० यता नेपालको निजी क्षेत्रको वृद्धि गुणात्मक रहेको छ । ९९ प्रतिशतभन्दा बढी औपचारिक व्यवसायहरू निजी क्षेत्रको स्वामित्वमा छन् । त्यसैगरी पूँजी निर्माण तथा रोजगारी सिर्जनामा निजी क्षेत्रको उपस्थिति दरिलो रहेको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘नेपालका विकाससम्बन्धी लक्ष्यहरू हासिल गर्न निजी क्षेत्रको थप विकास तथा सुदृढीकरण आवश्यक छ । बृहत् तथा सुसूचित नीतिगत सुधार एवम् सार्वजनिक तथा निजी क्षेत्रबीच बहसबाट मात्रै यो हासिल गर्न सम्भव छ ।’

अन्तर्राष्ट्रिय वित्त निगमका नेपालका लागि आवासीय प्रतिनिधि बाबाकार एस. फायेले भने, ‘सार्वजनिक–निजी क्षेत्रबीचको नीतिगत बहसलाई थप सुसूचित गर्नुका साथै नेपाली नागरिकहरूको हितका लागि निजी क्षेत्रले विकासमा पार्ने प्रभाव अभिवृद्धि गर्न निजी क्षेत्रको अवस्थाबारे सघन रूपमा अनुसन्धान गरिएको विश्लेषणात्मक आवधिक प्रतिवेदन महत्वपूर्ण हुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर