रक्षा पंक्तिकी पर्खाल गीता- विपक्षीलाई रोकेर जिताउँछिन् आफ्नाे टीम
काठमाडौं । फुटबल टीम गेम हो, जसमा सबै खेलाडीहरुको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । तर, सबैभन्दा बढी चर्चा गोलकर्ता एवं स्ट्राइकरले पाउँछन् ।
टीमको हार या जीतमा प्रायः स्ट्राइकरकै नाम अगाडि आउँछ । जबकि रक्षापंक्तिमा रहेर विपक्षीको आक्रमणलाई निस्तेज तुल्याउने खेलाडीहरुले पनि उत्तिकै अहम् भूमिका खेलेका हुन्छन् । तर, उनीहरुको योगदानको कमै चर्चा हुने गर्छ ।
नेपाली महिला राष्ट्रिय टिमकी डिफेन्डर गीता रानाकै कुरा गरौं न । उनले ६ वर्षदेखि अनवरत नेपाली महिला टीमको रक्षापंक्ति सम्हाल्दै आएकी छन् । कैयौं म्याचमा उनले विपक्षीका खतरनाक आक्रमण निस्तेज पारेर आफ्नो टीमको संकटमोचन गरेकी छन् । यद्यपि स्ट्राइकरहरुको तुलनामा उनको चर्चा कम छ ।
५ फिट ५ इन्च अग्ली सेन्टर ब्याक गीतालाई बिट गरेर कुनै पनि खेलाडीलाई पोस्टसम्म बल पुर्याउन निकै हम्मे पर्छ । उनलाई नेपाली महिला फुटबल टीमको पर्खालको उपमा दिँदा फरक पर्दैन ।
१३-१४ वर्षको उमेरमै जिल्ला, अञ्चलस्तरीय प्रतियोगिता खेलेकी गीता पश्चिम नेपालको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकी बासिन्दा हुन्् । सानोमा गाउँका दिदीहरुको लहैलहैमा रमाइलोका लागि फुटबल खेल्ने गरेकी गीताको अहिले खेल जीवनकै हिस्सा बनेको छ ।
नेपालमा छोरीले खेलाडी बन्छु भन्दा परिवारबाटै कमै समर्थन पाउने गर्छिन् । फेरि गीताको बाल्यकाल त्यति सहज पनि थिएन । सानैमा आमाले छोडेर गएपछि बुबाले हुर्काएका थिए उनलाई । खेल्न जाँदा उनलाई बुवाले धेरै गाली गर्ने गर्थे रे !
तर, उनले बुवाको गाली पनि खाइरहिन् र फुटबल खेल्न पनि छोडिनन् । गीताले स्ट्राइकर भएर फुटबल खेल्न सुरु गरेकी थिइन् । स्ट्राइकरमात्रै उनले धेरै खेलमा गोलकिपरको भूमिका पनि निभाइन् । आफूलाई स्ट्राइकर र गोलकिपर प्रमाणित गरिसकेकी गीताले राष्ट्रिय टीमसम्म पुग्दा आफुलाई एक उत्कृष्ट डिफेन्डर सावित गरेकी छन् ।
एनसेल कप र कोकाकोला कप फुटबलमा राम्रो प्रदर्शन गर्दै गीताले विभागीय टोली नेपाल एपीएफ क्लबसम्मको यात्रा तय गरिन् । उनको खेल राम्रो भएकै कारण एपीएफले सुर्खेत जिल्ला फुटबल संघमार्फत उनलाई क्लबमा अनुवन्ध गरेको थियो । एपीएफमा आवद्ध हुँदा सहज हुने थानेर आफूले क्लवको प्रस्ताव स्वीकारेको गीता सुनाउँछिन् ।
गीताको पोजिसन पनि एपीएफमै आएपछि तय भएको हो । सुरुवातमा स्ट्राइकरबाट डिफेन्स खेल्नुपर्दा गीताको मन सन्तुष्ट भएन । तर, अहिले सन्तुष्ट हुन सिकेको उनी बताउँछिन् ।
‘स्ट्राइकरबाट डिफेन्स खेल्नु पर्दा नराम्रो लागेको थियो । अहिले आफ्नो पोजिसनसँग सन्तुष्ट छु’, उनले भनिन्, ‘मनमा चैं स्ट्राइकर हुन पाए हुन्थ्यो जस्तो लागिरहन्छ ।’
गीता एपीएफमा आबद्ध भएको ८ वर्ष बितेको छ । महिला टीमले खेल्ने हरेक प्रतियोगिताको च्याम्पियन टीम हो एपीएफ । एपीएफले सधैं राम्रो नतिजा ल्याउनुमा गीताको प्रदर्शनको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।
एपीएफमा सुरुवाती सेटमा खेल्न नपाएका गीता दुई/तीन वर्षमै राष्ट्रिय टीममा स्थान बनाउन सफल भइन् । उनले सन् २०१६ मा भारतको सिलिगुडीमा आयोजित साफ च्याम्पियनसिपबाट राष्ट्रिय टीममा डेब्यु गरेकी हुन् । प्रशिक्षक कुमार थापाले त्यसवेला दिएको सेन्टर ब्याकको भूमिका गीताले अहिलेसम्म कुनै खोट लगाउने ठाउँ नराखी निभाइरहेकी छन् ।
निरन्तर राष्ट्रिय टीममा स्थान बनाइरहेकी गीताले अहिले खेल जीवनमा पछाडि फर्किएर हेर्नु परेको छैन । उनले राष्ट्रिय टीमबाट ३९ वटा खेल खेलिसकेकी छन् ।
गीतासँगै रक्षापंक्तिमा गतिलो कम्बिनेसन मिलाएर खेल्ने अर्की खेलाडी पुनम जर्घा मगरले गत साफदेखि राष्ट्रिय टीमबाट सन्न्यास लिएकी छन् । पुनमको अनुपस्थितिमा नेपालको डिफेन्सलाइन कमजोर हुने गीता बताउँछिन् । नयाँ खेलाडी आए पनि पुनमको स्थान लिन नसक्ने गीताको भनाइ छ ।
तर, खेल जीवनमा स्वर्ण नजिती सन्न्यास नलिने गीताको सोच छ । ‘स्वर्ण जितेरै सन्न्यास लिने सोच छ’, उनले भनिन्, ‘मलाई अरु केही चाहना छैन । साफको गोल्ड मेडल भए पुग्छ । त्यत्ति हो ।’
यस पटक नेपाली टीम स्वर्ण जित्ने राम्रो अवसरबाट चुकेको उनी बताउँछिन् । ‘भारतसँग जस्तो बंगलादेशविरुद्ध खेल्न सकेनौं’, उनले थपिन् ।
एन्फाले भविष्यको स्थिर योजना बनाउन नसकेको र राम्रो म्याच एक्स्पोजर खेलाडीले नपाएको देख्दा फुटबलमा भविष्य छ भनेर भन्न गाह्रो हुने गीताको भनाइ छ ।
‘अन्य देशमा कुनै प्रतियोगिता खेलेपछि अब के गर्ने भन्ने योजना हुन्छ । हाम्रोमा त्यो छैन । एउटा प्रतियोगिता खेल्यो, एक वर्ष थन्कियो जस्तै छ । त्यसैले पनि भविष्य छ फुटबलमा भन्न सक्दिनँ । दुःख लाग्छ’, गीताले थपिन्, ‘हामीले सबै कुरा त्यागेर खेलेका हुन्छौं । तर, हाम्रो लागि राम्रो म्याच एक्सपोजर छैन । अरु देशले गर्छ । हाम्रोले किन गर्दैन ? किन हेर्दैन ।’