रहेनन् समाजशास्त्री तथा पहिचानवादी नेता ओम गुरुङ
काठमाडौं । समाजशास्त्री तथा आदिवासी जनजाति आन्दोलनको अभियान्ता ओम गुरुङको ७० वर्षको उमेरमा निधन भएको छ । विगत केही वर्षदेखि मृगौलाको समस्यासँग जुधिरहेका गुरुङको नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा निधन भएको हो ।
आदिवासी जनजाति महासंघका महासचीव दिवस राईका अनुसार क्यान्सरको उपचारको क्रममा उनको मृत्यु भएको हो । राईले नेपालप्रेसलाई भने, ‘उहाँ किड्नीको बिरामी हुनुहुन्थ्यो । पछि एक्कासी क्यान्सर लागेछ । र उपचारको क्रममा बित्नुभयो ।’
गुरुङले त्रिभुवन विश्वविद्यालयमा लामो समय मानव शास्त्र र समाजशास्त्रको अध्यापन गराएका थिए । उनले केही पुस्तकहरु पनि लेखेका छन् । साथै आदिवासी जनजाति महासंघको महासचीव भएर एक कार्यकाल पूरा गरेका थिए ।
गुरुङ नेपालमा चलेको आदिवासी जनजाति आन्दोलनको उक अभियान्ता समेत थिए । आख्यानकार राजन मुकारुङका अनुसार नेपालमा आदिवासी जनजाति आन्दोलन परिचित गराउन गुरुङले महत्वपूर्ण भूमिका खेलेका थिए । मुकारुङले भने, ‘पहिचानको राजनीतिलाई एक तहसम्म नोटिस्ड गराए पनि पछिल्लो समय उहाँ मौन जस्तो रहनुभएको थियो ।’