मनोचिकित्सक डा इरा नाइम भन्छिन् : मानसिक स्वास्थ्यलाई प्राथमिक हेरचाहमा राख्नुपर्छ
'मानसिक स्वास्थ्य कायम राख्न जीवनयापनमा ध्यान दिनुस्'
काठमाडौं । बदलिँदो परिवेश, व्यस्त जीवनशैली लगायतका धेरै कारणहरुले हाल विश्व समुदायमा मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्याहरु बढ्दै गएको अवस्था छ । यद्यपी, पश्चिमा मुलुकहरुको तुलनामा नेपाल लगायतका दक्षिण एसियाली मुलुकहरुमा मानसिक स्वास्थ्यसँग सम्बधित समस्याहरुलाई कलंकित ढंगबाट ग्रहण गर्ने परिपाटी पनि व्याप्त छ । मानसिक स्वास्थ्यसँग सम्बन्धित अन्धविश्वास, मानसिक स्वास्थ्य जनचेतनाको अपरिहार्यता र नेपाल जस्तो मुलुकमा यसको आवश्यकता लगायतका विषयमा नेपाल प्रेसले दुबईमा कार्यरत वरिष्ठ मनोचिकित्सक डा इरा नाइमसँग वार्तालाप गरेको छ ।
विगत एक दशकदेखि मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत नाइम कगनेटिभ बिएभोरिएअल थेरापी (संज्ञानात्मक व्यवहार थेरापी) तथा रिप्रोसेसिङ थेरापी पुनः प्रशोधन थेरापी विज्ञसमेत हुन् । नाइम नर्भिक इन्टरनेशनल हस्पिटलको आयोजनामा संम्पन्न भएको प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य नामक अन्तरक्रिया कार्यक्रमका लागि नेपाल आएकी हुन् । उनै नाइमसँग नेपाल प्रेसले गरेको कुराकानी यहाँ प्रस्तुत छ ।
वर्तमान अवस्थामा नेपाल लगायतका दक्षिण एसियाली मुलुकहरुमा मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्याहरुको जनचेतनास्तरलाई कस्तो अवस्थामा रहेको पाउनु भएको छ ?
विगत एक दशकको मेरो अनुभवको आधारमा भन्नु पर्दा नेपाल, पाकिस्तान लगायतका दक्षिण एसियाली मुलुकहरुमा मानसिक स्वास्थ्यसँग धेरै अन्धविश्वासहरु जोडिएको पाएको छु । मानसिक स्वास्थ्य क्षेत्रलाई नै ‘स्टिग्माटाइज्ड’ (कंलकित) गराइएको छ भन्दा फरक नपर्ला । यसो भनिरहँदा जुन बेलादेखि म यस क्षेत्रमा छु त्यसको तुलनामा मानिसहरुमा हाल मानसिक स्वास्थ्यसँग सम्बन्धित जनचेतना बढेको पनि देखिरहेको छु ।
यस किसिमको कंलकित क्षेत्रमा आवद्द हुने निर्णय कसरी लिनु भयो ?
म राष्ट्रियताको हिसाबले पाकिस्तानी हुँ । मेरो जन्म लालनपालन सब पाकिस्तानमै भएको हो । तपाईंहरुलाई थाहा छ होला पाकिस्तान अत्यन्तै धार्मिक मुलुक हो जुन कुरा केही हदसम्म नेपाललाई पनि मान्य हुन्छ । पाकिस्तानमा हुर्किंदै गर्दा मलाई मानिसहरुको व्यवहार चाल चलनहरुले एक किसिमको कौतुहलता जगाउँथ्यो र सँगसँगै कोही व्यक्तिको फरक व्यवहार देख्नेबित्तिकै त्योसँग जोडिएका अन्धविश्वास पनि सुन्न पाइहालिन्थ्यो सोही कारण मानिसको व्यवहार चाल चलन पछाडिको रहस्य बुझ्ने हुटहुटीले मलाई यस क्षेत्रमा आवद्द बनायो भन्नु पर्छ ।
मानसिक स्वास्थ्यलाई कंलकित हिसाबले ग्रहण गरिनुको कारण के हो जस्तो लाग्छ तपाईंलाई ?
जनचेतनाको कमी यसको प्रमुख कारण हो । एउटा उदाहरण दिएर भन्छु । तपाईंले आ-आफ्नो परिवारका अन्य सदस्यहरुलाई मलाई टाउको दुख्यो पेटमा, मुटुमा समस्या आएजस्तो लाग्यो भनेर भन्नुहोस् उहाँहरुले तपाईंलाई अस्पताल जाने सुझाव दिनुहुन्छ तर के तपाईले मलाई ‘एन्जाइटी’ भयो, ‘प्यानिक अट्याक’ भयो, डिप्रेशन भयो भन्नुहोस् उहाँहरुले तपाईंलाई मनोचिकित्सककोमा जानु भन्ने सुझाव दिने सम्भावना अत्यन्तै न्युन हुन्छ । यस्तो हुनुको पछाडि पनि कारण छ हामीलाई मानसिक स्वास्थ्यमा समस्या आउनु भनेको पूर्णरुपमा मानसिक सन्तुलन गुमाउनु हो भन्ने लाग्छ । हामिले चलचित्रहरुमा पनि त्यही देख्दै आएका छौं । पूर्णरुपमा मानसिक सन्तुलन गुमाउनु मानसिक स्वास्थ्य समस्याको एउटा मात्र अवस्था हो । त्यसलाई हामीले मेडिकलको भाषामा ‘सिजोफेनिया’ भन्छौँ । सिजोफेनिया बाहेकका पनि धेरै मानसिक समस्या हुन्छन् भन्ने बुझाउन अत्यन्त आव्यस्यक छ अहिलेको समयमा ।
तपाईंको बुझाईअनुसार नेपालमा मानसिक स्वास्थ्य सम्बन्धित समस्याहरुलाई समाधान गर्न के कुराको आवस्यक छ जस्तो लाग्छ ?
यसका लागि सर्वप्रथम त नेपालको सरकारले यस क्षेत्रमा लगानी बढाउनु पर्छ । यो कुरा नेपालमा मात्र नभएर जुनसुकै देशमा पनि लागु हुन्छ । मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्याको बारे आम मानिसलाई बुझाउन र समस्या समाधान गर्नका निमित्त कुनै पनि सरकारले कति स्रोत साधनको प्रयोग गरेको छ भन्ने कुरा गहतम हुन्छ । हालको अवस्थामा कुरा गर्नु पर्दा नेपालमा मानसिक स्वास्थ्यकर्मीको नै नेपालमा कमी भएको मैले पाएको छु ।
मानसिक स्वास्थ्यलाई सबल तुल्याउनका निम्ति आम मानिसले के कुरा गर्नु पर्छ ?
यसको लागि सबै जनाले आफ्नो जीवनयापनमा ध्यान दिनु पर्ने अति आवश्यक हुन्छ । खानपान, दैनिक व्यायाम लगायतमा अत्यन्तै ध्यान दिनुपर्छ । हामीमध्ये धेरैलाई यो कुरा थाहा छ तर हामी व्यवहारमा उतार्दैनौं । यसबाहेक अर्को कुरा के बुझ्नुपर्छ भने मानसिक स्वास्थ्य ठीक गराउन वा भनौ राख्नका निम्ति कोही पनि व्यक्ति आफैंमा प्रतिवद्द हुनुपर्छ । कुनै पनि व्यक्तिले आफ्ना भावनाहरुलाई अन्वेषण गर्न सक्नुपर्छ, स्वीकार गर्न सक्नुपर्छ । आफूलाई केही कुराले सताएको महसुस हुँदा त्यो कुरालाई लुकाउने हैन कि स्वीकार गरेर त्यसको समाधान गर्न तर्फ लाग्नु पर्छ ।
कोही दोस्रो व्यक्तिले आफू मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्याबाट गुज्रिरहेको छु भनेर सुनाउन आउँदा हामीले कुन रुपमा त्यो कुरालाई ग्रहण गर्ने वा उसलाई के सुझाव दिने ?
रोचक प्रश्नका निम्ति धन्यबाद । यसमा सबैले के बुझ्नुपर्छ भने यदि तपाईंसँग मानसिक स्वास्थ्य समस्यासँग सम्बन्धित विज्ञता छैन भने तपाईंले दोस्रो व्यक्तिको कुरा सुन्नु मात्र पर्छ । यो नगर त्यो नगर भनेर आफूलाई मन लागेको सुझाव दिनु भन्दा पनि त्यो व्यक्तिको कुरा सुन्ने र उसलाई मानसिक स्वास्थ्यकर्मीको सहयोग लिने सुझाव मात्र दिनुपर्छ ।
अन्त्यमा नर्भिक अस्पातलसँगको सहकार्यमा तपाई ‘प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य’ नामक अन्तरक्रियाको लागि दुबईदेखि नेपाल आउनु भएको छ । मानसिक स्वास्थ्यलाई प्राथमिक हेरचाहमै राख्नुपर्ने अपरिहार्यता चाहीँ किन छ ?
हामीले अघि नै पनि चर्चा गर्यौ । मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्यालाई कुन हिसाबमा ग्रहण गरिन्छ ? मानसिक स्वास्थ्यसँग जोडिएका अन्धविश्वासको बारे पनि केही चर्चा गर्यौँ । जनचेतनाको बारे पनि केही कुरा गर्यौँ । यस्तो अवस्थामा हामीले प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्यलाई एकीकृत गर्न सक्यौँ भने मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्यालाई हल गर्न धेरैनै टेवा पुग्छ भन्ने नै मुलभुत कुरा हो ।
व्यस्तताको बाबजुत हामीलाई समय दिनु भएकोमा धन्यवाद ।
तपाईंहरुको मिडिया प्ल्याटफर्मलाई पनि मेरो तर्फबाट धन्यवाद । मानसिक स्वास्थ्यताको आवश्यकता र अपरिहार्यताको बारेमा बुझ्नका निम्ति हाम्रो वार्तालापले केही टेवा पुर्यायो होला भन्नेमा आशावादी छु ।