महिलालाई दलबाट किन उपेक्षा ? यस्तो छ २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी र नतिजा
काठमाडौं । राजनीतिक दल र तिनका उम्मेदवार आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिरहेका छन् । प्रतिनिधिसभामा ३३ प्रतिशत महिलाको अनिवार्य सहभागिता गराउनुपर्ने संवैधानिक व्यवस्था छ । जुन व्यवस्थालाई २०७४ सालको निर्वाचनमा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीबाट पूर्ति गरेका थिए ।
महिला नेतृत्वले प्रत्यक्षतर्फ ५० प्रतिशत महिला उम्मेदवार उठाउनुपर्ने आवाज उठाउँदै आएका छन् । भर्खरै मात्र कार्यकाल सकिएको प्रतिनिधिसभामा महिला सांसदले जरुरी सार्वजनिक महत्वको प्रस्ताव नै दर्ता गराएर प्रत्यक्षतर्फ महिलाको सहभागिता ५० प्रतिशत हुनुपर्नेमा जोड दिएका थिए । तर, उक्त सार्वजनिक जरुरी महत्वको प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेश भएर छलफलमा मात्रै सीमित हुन पुग्यो ।
यसैगरी राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निर्वाचन आयोगका पदाधिकारी तथा प्रमुख राजनीतिक दलका पदाधिकारीलाई बोलाएर संसदमा महिला समावेशिताको विषयमा वृहत छलफल गर्यो । उक्त बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिला सहभागिता बढाउने विषयमा छलफल भएको थियो । समितिले निर्वाचन आयोगलाई प्रत्यक्षतर्फ एकतिहाइ महिला अनिवार्य उम्मेदवार बनाउने गरी राजनीतिक दललाई निर्देशन दिन पत्राचार गर्यो ।
लगत्तै आयोगले समितिको निर्देशनअनुसार राजनीतिक दललाई आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा प्रत्यक्षतर्फको निर्वाचनमा एकतिहाइ महिला अनिवार्य उम्मेदवार बनाउन निर्देशन दियो । उक्त निर्देशनात्मक पत्र अधिकांश राजनीतिक दलका शीर्ष नेताको टाउको दुखाइको विषय बन्यो ।
कतिपय राजनीतिक दलले त कानुनमै नभएको व्यवस्था कार्यान्वयन गर्न भनेर निर्वाचन आयोगलाई निर्देशन दिने अधिकार कसले दियो भन्ने प्रश्न गर्न सम्म भ्याए । यसबाट बाध्यकारी व्यवस्थाबाहेक महिलालाई नेतृत्वमा ल्याउन राजनीतिक दल कत्तिको तयार छन् भन्ने प्रश्न खडा गरेको छ ।
के छ विगत ?
२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ५५ राजनीतिक दल र स्वतन्त्रबाट गरेर एक हजार ७७८ जना उम्मेदवार सहभागी भएका थिए । जसमध्ये स्वतन्त्रबाट उम्मेदवारी दिएका ३८ सहित जम्मा १४६ जना अर्थात ८ प्रतिशतमात्र महिला उम्मेदवार बनेका थिए । राजनीतिक दल र स्वतन्त्रबाट १६५ जना निर्वाचित हुँदा ६ जना अर्थात ३ प्रतिशतमात्रै महिला निर्वाचिन भए । बाँकी ९७ प्रतिशत पुरुष निर्वाचित भए ।
२०७४ को निर्वाचनमा एमाले सबैभन्दा ठूलो दल बनेको थियो । एमालेले १६५ निर्वाचन क्षेत्रमध्ये १०३ वटामा उम्मेदवार उठाएको थियो । कूल उम्मेदवारमध्ये ४ प्रतिशत अर्थात ५ जनामात्रै महिला थिए । एमालेबाट २ जना महिला उम्मेदवार निर्वाचित हुन सफल भए । उनीहरुमा पद्माकुमारी अर्याल स्याङजा- २ र झापा- २ बाट पवित्रा निरौला रहेका छन् ।
कांग्रेसले १५४ क्षेत्रमा उम्मेदवारी दिँदा नौ जना अर्थात ५ प्रतिशत महिला परेका थिए । कांग्रेसबाट २३ जना निर्वाचित हुँदा महिला एकजना पनि परेनन् ।
नेकपा माओवादी केन्द्रले ५९ जना उम्मेदवार उठाउँदा ६ प्रतिशत अर्थात ४ जना महिला परेका थिए । जसमध्ये ५० प्रतिशत अर्थात ३ जना महिला निर्वाचित हुन सफल भए । निर्वाचिन हुनेमा ललितपुर- ३ बाट बहालवाला ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल, कञ्चनपुर- १ बाट वीना मगर र रुकुम पूर्व- १ बाट कमला रोका रहेका छन् ।
राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल प्यूठान १ बाट निर्वाचित भइन् ।
प्रदेश १ मा ३ प्रतिशत महिला निर्वाचित
२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनअन्तर्गत प्रदेश १ का ६६ वटा निर्वाचन क्षेत्रमा ३० राजनीतिक दल र स्वतन्त्रबाट ४७० जनाले उम्मेदवारी दिएका थिए । जसमा राजनीतिक दल र स्वतन्त्रबाट ५ प्रतिशत अर्थात २७ जना महिला उम्मेदवार थिए । प्रत्यक्षतर्फ ५६ जना निर्वाचित हुँदा ३ प्रतिशत अर्थात २ जनामात्रै महिला परे ।
त्यसमा एमालेबाट ३९ जनाले उम्मेदवारी दिँदा २ जना अर्थात ५ प्रतिशतमात्रै महिला परे । एमालेबाट ३६ जना निर्वाचित हुँदा दुई जना महिला पनि सफल भए ।
यस्तै माओवादी केन्द्रले १६ जनालाई उम्मेदवार बनाउँदा ६ प्रतिशत अर्थात एकजनामात्रै महिला परे । माओवादीबाट निर्वाचित १० जनामा महिला पर्न सकेनन् ।
कांग्रेसले ५४ जनाको उम्मेदवारी दिँदा एक जनामात्रै महिला परे । कांग्रेसबाट ८ जना निर्वाचित हुँदा महिला पछि परे ।
मधेसमा ७ प्रतिशत महिला निर्वाचित
मधेस प्रदेशमा प्रत्यक्षतर्फ ३६ राजनीतिक दल र स्वतन्त्रबाट ९८५ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये ५५ जना अर्थात ५ प्रतिशत महिलाको उम्मेदवारी परेको थियो । मधेसमा ६४ जना निर्वाचित हुँदा ५ जना अर्थात ७ प्रतिशत महिलाले सफलता हात पारे ।
एमालेबाट ३१ जनाले उम्मेदवारी दिँदा २ जना अर्थात ६ प्रतिशत महिला थिए । एमालेबाट १४ जना निर्वाचित हुँदा दुवै जना महिलाले सफलता पाए माओवादी केन्द्रबाट ३४ जना उम्मेदवार बन्दा एक जना अर्थात २ प्रतिशतमात्रै महिला थिए । माओवादीबाट ६ जना निर्वाचित हुँदा महिलाले शतप्रतिशत नतिजा निकाले ।
कांग्रेसले भने ६४ जनालाई उम्मेदवार बनाउँदा एकजना पनि महिला परेनन् । जसमा ८ जनामात्रै निर्वाचित भए ।
मधेसमा बलियो रहेको राष्ट्रिय जनता पार्टीबाट ३१ जनाले उम्मेदवारी दिँदा ४ जना अर्थात १२ प्रतिशत महिला परेका थिए । जसमध्ये १५ जना निर्वाचित हुँदा महिला ५० प्रतिशत अर्थात २ जना सफल भए ।
त्यस्तै संघीय समाजवादी पार्टीबाट ३३ जनाले उम्मेदवारी दिँदा एक जनामात्रै अर्थात ३ प्रतिशत महिला परेका थिए । जसमध्येबाट २० जना निर्वाचित हुँदा महिलाको संख्या शून्य भयो ।
बागमतीमा महिला : उम्मेदवारी १२ प्रतिशत, ७ प्रतिशत जीत
बागमतीमा ६६ वटा निर्वाचन क्षेत्रका लागि ३२ राजनीतिक दल र स्वतन्त्रबाट प्रत्यक्षतर्फ ६३३ जनाले उम्मेदवारी दिएका थिए । जसमा १२ प्रतिशत अर्थात ७२ जना महिलाको उम्मेदवारी परेको थियो । ६६ जना निर्वाचित हुँदा ५ जना अर्थात ७ प्रतिशतमात्रै परे ।
एमालेबाट ४६ जनाले उम्मेदवारी दिएकोमा ३ जना अर्थात ६ प्रतिशतमात्रै महिला थिए । एमालेबाट ४० जना निर्वाचित हुँदा २ जना अर्थात ६६ प्रतिशत महिला सफल भए ।
माओवादी केन्द्रबाट २१ जनाले उम्मेदवारी दिँदा ३ जना अर्थात १४ प्रतिशतमात्रै महिला परेका थिए । माओवादीबाट १५ जना निर्वाचित हुँदा ३ जनै महिला सफल भए ।
कांग्रेसबाट ६४ जनाले उम्मेदवारी दिँदा २ जना अर्थात ३ प्रतिशतमात्रै महिला परे । ७ जना निर्वाचित हुँदा कांग्रेसबाट महिला शून्य भयो ।
गण्डकीमा ९ प्रतिशत उम्मेदवारी, ५ प्रतिशत निर्वाचित
गण्डकीको ३६ निर्वाचन क्षेत्रका लागि १८ राजनीतिक दल र स्वतन्त्रबाट २३७ जनाले उम्मेदवारी दिएका थिए । जसमा २२ जना अर्थात ९ प्रतिशत महिलाको उम्मेदवारी परेको थियो । ३६ जना निर्वाचित हुँदा २ जना अर्थात ५ प्रतिशतमात्र महिला परे ।
एमालेले १८ जनाको उम्मेदवारी दर्ता गराउँदा एक जनामात्रै महिला परे । एमालेबाट १७ जना निर्वाचित हुँदा महिला पनि सफल भए । माओवादी केन्द्रबाट १५ जनाले उम्मेदवारी दिँदा २ जना अर्थात १३ प्रतिशत महिला परेका थिए । तीमध्ये९ जना निर्वाचित हुँदा महिला एक जनामात्रै सफल भए ।
यस्तै कांग्रेसबाट ३४ जनाले उम्मेदवारी दिँदा एक जनामात्र महिला परे । ६ जना निर्वाचित हुँदा कांग्रेसबाट महिला शून्य हुन पुग्यो ।
लुम्बिनीमा कांग्रेसका महिला उम्मेदवार शून्य
लुम्बिनीको प्रदेशसभाको प्रत्यक्षतर्फ ५२ क्षेत्रका लागि ३० राजनीतिक दल र स्वतन्त्रबाट ५५५ जनाले उम्मेदवारी दिएका थिए । जसमा ८ प्रतिशत अर्थात ४६ जनामात्रै महिला उम्मेदवार थिए । ५२ जना निर्वाचित हुँदा २ जनामात्रै महिला परे ।
एमालेले ३२ जना उम्मेदवार उठाउँदा २ जनामात्रै महिला परे । एमालेबाट २८ जना निर्वाचित हुँदा एकजनामात्रै महिला सफल भए । माओवादी केन्द्रबाट ३० जना उम्मेदवार बन्दा एकजनामात्रै महिला परे । माओवादीबाट १४ जना निर्वाचित हुँदा महिला पनि पर्न सफल भए ।
कांग्रेसले ५१ जनालाई उम्मेदवार बनाउँदा एक जना पनि महिला परेनन् । जसमध्ये कांग्रेसका ७ जना निर्वाचित भए । संघीय समाजवादी फोरमले ३३ जना उम्मेदवार उठाउँदा १५ प्रतिशत अर्थात ५ जना महिला परे । तीमध्ये ३ जना निर्वाचित हुँदा महिला एकजना सफल भएनन् ।
कर्णालीमा प्रत्यक्षतर्फ ठूला दलबाटै महिला उम्मेदवार शून्य
कर्णाली प्रदेशसभामा २४ क्षेत्रका लागि भएको निर्वाचनमा १७ राजनीतिक दल र स्वतन्त्र गरेर १३३ जनाले उम्मेदवारी दिए । जसमा २ प्रतिशत अर्थात ३ जना महिलाको उम्मेदवारी परेको थियो । यी पनि स्वतन्त्र उम्मेदवार थिए । यहाँ ठूला तीन दल एमाले, माओवादी र कांग्रेसले प्रत्यक्षतर्फ एक जना पनि महिलाको उम्मेदवारी दर्ता गरेनन् । जसले गर्दा २४ जना निर्वाचित हुँदा कर्णाली प्रदेशसभाको प्रत्यक्षतर्फ महिलाको संख्या शून्य भयो ।
यहाँ एमालेबाट उठेका १४ जनै उम्मेदवार निर्वाचित भए । माओवादीबाट उठेका १० जनामध्ये ९ जना निर्वाचित भए । कांग्रेसबाट २५ जना उठ्दा एकजनामात्रै निर्वाचित भए ।
एक/एक जना महिला उम्मेदवार बनाएको नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले एक क्षेत्र पनि जित्न सकेन ।
सुदूरपश्चिममा माओवादीबाट एक जना मात्रै निर्वाचित
सुदूरपश्चिममा १९ राजनीतिक दल र स्वतन्त्रबाट १६४ जनाको उम्मेदवारी परेको थियो । जसमा ९ प्रतिशत अर्थात १५ जनामात्रै महिला थिए । ३२ जना निर्वाचित हुँदा ३ प्रतिशत अर्थात एक जनामात्रै महिला सफल भए ।
एमालेबाट २० जना उम्मेदवार बन्दा सुदूरपश्चिममा पनि कर्णालीमा जस्तै एक जना पनि महिला परेनन् । एमालेबाट १७ जना निर्वाचित भएका थिए । माओवादीले १२ जना उम्मेदवार उठाउँदा एकजनामात्रै महिला परिन् । माओवादीबाट १० जना निर्वाचित हुँदा महिला उम्मेदवारी सफल भए ।
कांग्रेसले ३१ जना उम्मेदवार उठाउँदा ६ प्रतिशत अर्थात २ जना महिला परे । तर, ४ जना निर्वाचित हुँदा एक जना पनि महिला सफल भएनन् । राष्ट्रिय जनता पार्टी नेपालले ९ जना उम्मेदवार उठाउँदा एकजना महिला परिन् । उसबाट एकजना निर्वाचित हुँदा महिला हुन सकेनन् ।