एजेण्डा र अभिमतमा प्रतिस्पर्धीविहीन केपी ओली
हामी संसदीय निर्वाचनको सम्मुखमा छौं । नेपाल जस्तो संसदीय प्रणाली अंगीकार गरेको मुलुकमा संसदको दुई मुख्य कार्यभार हुन्छन् । एक, कार्यपालिका गठन गर्ने अथवा भनौं प्रधानमन्त्री चुन्ने । अर्को, संसदमार्फत ऐन-कानून निर्माण गर्ने । तसर्थ, यो निर्वाचनको महत्वपूर्ण ध्येय भनेको अर्को अवधिको सरकार बनाउने, त्यसमा पनि सरकारको नेतृत्व, प्रधानमन्त्री छान्ने हो ।
तर, आगामी निर्वाचन आउन १ महिनामात्रै बाँकी रहँदा पनि यस निर्वाचनको एकमात्र प्रधानमन्त्री पदका उम्मेदवार छन्, नेकपा (एमाले) को तर्फबाट केपी शर्मा ओली । अरु दल ( गठबन्धन)ले कोही नेता या व्यक्तिलाई प्रधानमन्त्रीको रुपमा जनताका सामु प्रस्ताव गर्न सकेका छैनन् । आगामी निर्वाचनका लागि नेकपा (एमाले) बाहेक अरु कसैले औपचारिक रुपमा प्रधानमन्त्रीको रुपमा आफ्नो उम्मेदवार उभ्याउन नसक्नु कम महत्वपूर्ण या चासोको विषय हैन । यसको पछाडि एउटै कारण हो, एमालेले प्रस्ताव गरेको केपी ओलीको तुलनामा अरु दलका नेताहरु आफैंले आफूलाई पुड्का महसुस गर्नु । अरु नेता प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्दा केपी ओलीसँग तुलनायोग्य नभएपछि केपी ओलीतिरै जनताले भोट हाल्ने डर अन्य दलमा देखियो ।
यसर्थ, आउने संसदीय निर्वाचनमा केपी ओलीको प्रतिस्पर्धी नै देखिएनन् या भनौं केपी ओलीको प्रतिस्पर्धा केपी ओलीसँग मात्रै हो । अझ बुझ्ने भाषामा भन्दा यस निर्वाचनमा राजनीतिक दलहरु दुई कित्तामा उभिएका छन्, केपी ओलीलाई प्रधानमन्त्री बनाउने कि रोक्ने ? यद्यपि केपी ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्न चाहनेसँग फेरि पनि एकमतको विकल्प छैन ।
यो निर्वाचनको महत्वपूर्ण ध्येय भनेको अर्को अवधिको सरकार बनाउने, त्यसमा पनि सरकारको नेतृत्व, प्रधानमन्त्री छान्ने हो ।
कार्यपालिकाको संरचना हेर्दा केपी ओली प्रमुख प्रतिपक्षी दलको नेता हुनुहुन्छ । तर, नेपालको राजनीतिक परिदृश्य हेर्दा उहाँ संस्थापन पक्षको नेता र अरु दलका नेताहरु प्रतिपक्ष जस्तो देखिन्छन् । उनीहरुबीच कुनै कुरामा एकमत छैन, एउटामात्रै कुरामा एकमत छ, केपी ओलीलाई रोक्न पाए आफ्नो चान्स आउनसक्छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला, महामन्त्री गगन थापा, रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंहलगायत धेरै नेताहरुले आफ्नो चुनाव क्षेत्रमा भोट माग्ने चुनावी भाषणमा आफूलाई जिताए प्रधानमन्त्री हुन्छु भनेर जनतालाई ध्यानाकर्षण गर्न (लोभ देखाउन) थालेका छन् । प्रचण्ड प्रधानमन्त्रीको बाटो खोल्न सुरक्षित दुलो खोज्दै (भाग्दै) गोरखा पुगेका छन् ।
तर पनि संस्थागत रुपमा अबको प्रधानमन्त्रीको उम्मेदवार फलानो नेता हो भनेर कुनै दलले निर्णय या घोषणा गर्न सकेको छैन । धेरै नेताले प्रधानमन्त्री पदको इच्छा व्यक्त गरेको नेपाली कांग्रेसले त के एकल निर्णयमा चल्ने नेकपा (माओवादी केन्द्र)ले समेत पुष्पकमल दाहाल प्रचण्ड (जो एकदम आकांक्षीसमेत छन्) लाई भावी प्रधानमन्त्री पदको उम्मेदवारको रुपमा संस्थागत निर्णय या घोषणा गर्ने हिम्मत गर्न सकेको छैन ।
कसैले तर्क गर्लान्, हामी दलगत चुनावी प्रतिस्पर्धा गर्ने संसदीय अभ्यासमा छौं । तर पनि यस संसदीय निर्वाचनको प्रमुख काम कार्यपालिका गठन (प्रधानमन्त्री चयन) भएकाले प्रत्येक दलले आफूले निर्वाचनमा विजय हासिल गर्दा आफ्नो तर्फबाट नेतृत्व गर्ने प्रधानमन्त्रीको उम्मेदवारको रुपमा निश्चित नेतालाई जनताका सामु प्रस्ताव गर्ने अन्तर्राष्ट्रिय अभ्यास हो, आवश्यकता पनि हो । गठबन्धन भएर साझा उम्मेदवार दिन नसकेर त्यसो नगरेको भनेर तर्क पनि गर्न सक्लान् ।
तर, आफ्नै निकट अभ्यासलाई स्मरण गर्दा २०७४ को संसदीय निर्वाचनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा ‘वाम गठबन्धन’ बनाएर निर्वाचनमा होमिएको थियो । त्यस ‘वाम गठबन्धन’का तर्फबाट औपचारिक रुपमा एक घटक नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा जनताका सामु प्रस्ताव गरिएको थियो । जनताले त्यही प्रस्तावलाई अनुमोदन पनि गर्यो । जनताका बीच प्रस्ताव गर्न अप्ठ्यारो लाग्ने पार्टी प्रमुख भएर त्यसो नगरेको हो भने पनि हतास मान्नुपर्ने अवस्था छैन । हाम्रो छिमेकी भारतको गत संसदीय निर्वाचनमा भारतीय जनता पार्टीका तर्फबाट अध्यक्ष अमित शाहको प्रस्तावमा पार्टीका अर्का नेता नरेन्द्र मोदीलाई प्रधानमन्त्रीका रुपमा जनतासमक्ष प्रस्ताव गरिएको थियो र त्यो अनुमोदनसमेत भयो ।
आउने संसदीय निर्वाचनमा केपी ओलीको प्रतिस्पर्धी नै देखिएनन् या भनौं केपी ओलीको प्रतिस्पर्धा केपी ओलीसँग मात्रै हो ।
तसर्थ, विगतको अभ्यास, अन्य अनुभवको पाठ आफ्नैसामु भएर पनि गठबन्धनको तर्फबाट या अन्य कुनै दलको तर्फबाट प्रधानमन्त्री पदको उम्मेदवार प्रस्ताव नहुनुको एउटै कारण हो, केपी ओलीसँग टक्कर लिन कुनै नेताले हिम्मत गर्न नसक्नु ।
देश र जनता केपी ओलीमय छ । नेपालीहरु केपी ओलीकै नाममा ध्र्रुवीकृत छन् । एउटा ध्रुवमा केपी ओलीलाई मन पराउने छन् र अर्को ध्रुवमा नरुचाउने । केपी ओली केन्द्रित ध्रुवका मानिसहरु केपी ओली नेतृत्वको एमालेबाट मात्रै राष्ट्रियताको प्रवर्द्धन र देशको समृद्धि सम्भव देख्छन् भने केपी ओली नरुचाउने ध्रुवका मानिसहरुको विचारमा एकरुपता देखिँदैन, विविध कारणहरु देखिन्छन् । अचम्म त के भने केपी ओलीले राष्ट्रियताको प्रवर्द्धन र देश समृद्ध गर्न सक्छन् भन्ने विचार गरेरै दुर्भाग्यबस धेरै नेता तथा कार्यकर्ता भयभित भएर अर्को ध्रुवमा टाँसिएर बसेका छन्, उहाँलाई रोक्न तम्सेका छन्, फगत आफ्नो राजनीतिक भविष्यको सुनिश्चितताको लागि । देशको लागि योभन्दा ठूलो विडम्बना के हुनसक्छ र ?
देशको भविष्य र जनताको हितलाई केन्द्रविन्दु बनाएर विचार गर्ने हो भने हालका लागि केपी ओली प्रतिस्पर्धीविहीन नै हो, जुन हालको निर्वाचनको परिदृश्यमा देखिएको छ । देशलाई छातीमा, जनताको भविष्यलाई आँखाको नानीमा सजाऔं, देशलाई नेतृत्व गर्ने व्यक्तिको बारेमा एकमना एकरुपताको निष्कर्ष निस्कन कुनै गाह्रो नै छैन ।
एक भोट एक छापमात्र हैन एउटा भविष्य हो र गन्तव्य पनि ।
(लेखक श्रेष्ठ नेपाल बुद्धिजीवी परिषद्का सचिव हुन् ।)