मिर्गौला प्रत्यारोपणमा वीरको लापरबाही : सासुबाट झिकेर डाक्टरले म्याच नगरेको भनेपछि… – Nepal Press

मिर्गौला प्रत्यारोपणमा वीरको लापरबाही : सासुबाट झिकेर डाक्टरले म्याच नगरेको भनेपछि…

काठमाडौं । दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण गर्ने बेला डाक्टरले म्याच नगर्ने भनेपछि वीर अस्पतालमा एक बिरामी तथा आफन्त आक्रोशित बनेका छन् ।

धादिङको गल्छी गाउँपालिका-२ कल्लेरीकी ३५ वर्षीया चमेली गैरे ६ महिनादेखि डायलासिस गराइरहेकी थिइन् । डायलासिसको कष्टकर दिनचर्या सहनुभन्दा मिर्गौला प्रत्यारोपण गरी सहज जीवन चलाउन परिवारजनले निर्णय गरे । सोही अनुसार गैरेकी सासू जुठी सार्की मृर्गौला दिन राजी भइन् । प्रत्यारोपणका लागि ३ महिनायता निरन्तर दाता र बिरामी दुवैको विभिन्न परीक्षणा भइरहेको थियो ।

गत मंगलबार चिकित्सकहरूले अपरेसन थिएटरमा लगेर सासूको मिर्गौला झिके । तर, स्वास्थ्य परीक्षण गरेर झिकिएको मिर्गौला बुहारीलाई प्रत्यारोपण गर्ने बेला ‘मिर्गौला मिलेन’ भन्दै प्रत्यारोपण नगरेको परिवारका सदस्यले बताएका छन् । सासुको शरिरबाट झिकेको मिर्गौला चमेलीको नशामा समस्या भएको भन्दै प्रत्यारोपण रोकियो । अहिले बट्टामा राखेर उक्त मिर्गौला एक ल्याबमा पठाइएको छ । चमेलीका पति जीतबहादुर अस्पताल र डाक्टरको गम्भीर लापरबाही भएको गुनासो गर्छन् ।

‘यत्रो लामो समयदेखि चेकजाँच गरिरहेको छ । एकको अर्कोमा म्याच गर्छ कि गर्दैन भन्ने कन्फर्म नभई किन बिरामीको ज्यानमाथि खेलबाड गरेको यसको जवाफ कसले दिने ?’, जीतबहादुरले नेपाल प्रेससँग भने ।

‘वीर अस्पतालले किड्नी ट्रान्सपलान्ट गर्न आमाको मिर्गौला झिक्यो । तर, झिकेपछि अस्पतालका चिकित्सकले ट्रान्सप्लान्ट गर्न नमिल्ने बताए । त्यसपछि हाम्रो परिवार नै समस्यामा पर्‍यो’, उनले भने, ‘डाक्टरले पहिले चाहिँ प्रत्यारोपण गर्न मिल्छ भन्ने अनि झिकेपछि मिल्दैन भन्दै खेर फाल्ने । जसको ज्यान थियो, अहिले उसको ज्यानमा पनि छैन । जसलाई दिने भनेको हो, उसलाई पनि झिकेको मिर्गौला दिन मिलेन । दुई-दुईजनाको स्वास्थ्यमा खेलबाड गरियो ।’

मंगलबार बिहान १० बजेबाट चमेलीमा मिर्गौला प्रत्यारोपणको कार्य सुरू भएको थियो । आफूहरूलाई दिउँसो तीन बजेमात्रै प्रत्यारोपण हुन नसक्ने जानकारी गराएको आफन्तले बताएका छन् । मिर्गौला प्रत्यारोपणका लागि दाता र रिसिभरबीच २/३ महिनाअघिदेखि नै क्रसम्याचका चरणबद्ध परीक्षण हुने भएपनि एकजनाको शरीर काटेर मिर्गौला झिकिसकेपछि अन्तिममा बहाना बनाउनु बिरामीको स्वास्थ्यमा लापरबाहीबाहेक अरु केही नभएको आफूहरूले न्याय खोज्ने आफन्तको भनाइ छ ।

चमेली गल्छी गाउँपालिका-२ की महिला सदस्य हुन् । यसअघि २०७४ को स्थानीय निर्वाचनमा पनि उनी सोही वडाको महिला सदस्यमा निर्वाचित भएका थिइन् । आर्थिक अवस्था कमजोर रहेका कारण चमेलीको उपचारमा गाउँपालिकाले पनि सहयोग गरेको थियो ।

वीर अस्पताल निर्देशक डा. भुपेन्द्रबहादुर बस्नेतले मिर्गौला झिक्नुभन्दा पहिले ठीक रहेको र झिकेपछि प्रत्यारोपण गर्न नमिल्ने भएको दाबी गरे ।

उनले भने, ‘वीर अस्पतालले यसभन्दा पहिले ४९९ जनाको सफल मिर्गौला प्रत्यारोपण गरेको थियो । ५ सयको पालामा आएर के भयो, भयो ! मंगलबार बिदाको दिन पनि उपचार नरोकी अप्रेसन गरिएको थियो । तर, निकाल्नुभन्दा पहिला सबै मिल्ने देखिएको मिर्गौला झिकेपछि नमिल्ने देखियो ।’

घटनाको सत्यतथ्य बुझ्न छानबिन समिति बनाइएको र बिरामी पक्षसँग छलफल गरिएको बस्नेतले बताए ।

‘गर्दागर्दै पनि केही कुरा बिग्रिन्छ । अहिले यो केस पनि त्यस्तै भएको हो ’, उनी पन्सिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *