अर्थतन्त्रका अधिकांश सूचक निराशाजनक, रेमिट्यान्समा भने सुधार (पूर्णपाठ) – Nepal Press
राष्ट्र बैंकको प्रतिवेदन

अर्थतन्त्रका अधिकांश सूचक निराशाजनक, रेमिट्यान्समा भने सुधार (पूर्णपाठ)

काठमाडौं । अर्थतन्त्रका अधिकांश सूचक दबाबमा रहेको सरकारी प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षको दुई महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले विदेशी मुद्रा सञ्चिति बढ्न नसकेको, महंगी बढेको, चालू खाता र शोधानान्तर स्थिति घाटामा रहेको देखाएको छ । अर्थतन्त्रको अर्को महत्वपूर्ण सूचक रेमिट्यान्समा भने सुधार देखिएको छ ।

यस्ता छन् अर्थतन्त्रका सुचकहरु

मूल्यवृद्धि ८.६४ प्रतिशत

भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फिति ८.६४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फिति ३.४९ प्रतिशत रहेको थियो । साउनमा ८.२६ प्रतिशत मूल्यवृद्धि थियो । भदौ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ८.१७ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फिति ९.०२ प्रतिशत रहेको छ ।

रेमिट्यान्समा वृद्धि

भदौ महिनामा रेमिट्यान्स १९.८ प्रतिशतले बढेको छ । दुई महिनामा १ खर्ब ८७ अर्ब ४ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ५.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।

साढे ८ अर्बले घट्यो विदेशी मुद्रा

असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले कमी आई २०७९ भदौ मसान्तमा ११ खर्ब ८९ अर्ब १६ करोड कायम भएको छ । तर, गत साउनको तुलनामा भदौमा भने ८ अर्ब ६९ करोडले विदेशी मुद्राको सञ्चिति घटेको देखिन्छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा भदौ मसान्तमा २.० प्रतिशतले कमी आई ९ अर्ब ३५ करोड कायम भएको छ । आर्थिक वर्ष २०७९/८० को दुई महिनाको आयातलाई आधार मान्दा अहिले बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.० महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।

दुई महिनामै ३७ अर्बले चालू खाता घाटा

भदौमा चालू खाता ३७ अर्ब १८ करोडले घाटामा रहेको छ । साउनमा चालू खाता १६ अर्ब २६ करोडले घाटामा रहेको थियो । अघिल्लो वर्षको भदौमा चालू खाता १ खर्ब ६ अर्ब ८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ५९ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २९ करोड १७ लाखले घाटामा रहेको छ ।

भदौमा शोधनान्तर स्थिति पनि २३ अर्ब ६८ करोडले घाटामा छ । साउनमा यस्तो घाटा २२ अर्ब ६३ करोड थियो ।अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोड रूपैयाँले घाटामा रहेको थियो ।

आन्तरिक कर्जा बढ्यो, निक्षेप परिचालन घट्यो

आर्थिक वर्ष २०७९/८० को दुई महिनामा कुल आन्तरिक कर्जा ०.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.१ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७९ भदौ मसान्तमा यस्तो कर्जा ११.६ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ०.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.७ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७९ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ७.४ प्रतिशतले बढेको छ ।

सेवाबाट हुने आम्दानीमा पनि गिरावट

भदौमा नेपालको खुद सेवा आय १८ अर्ब ६२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय .१७ अर्ब ५२ करोड रूपैयाँले घाटामा थियो ।

भ्रमणमा मात्रै १७ अर्ब खर्च

सेवा खाताअन्तर्गत भ्रमण आय ७२.२ प्रतिशतले बढेर .५ अर्ब ९५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३ अर्ब ४६ करोड रुपैयाँ थियो । नेपालले भ्रमण खर्च १७ अर्ब ९५ करोड रुपैयाँ गरेको छ । यो खर्च ६२.७ प्रतिशतले वृद्धि हो ।

सरकारको खर्च बढी आम्दानी कम

नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार आर्थिक वर्ष २०७९/८० को दुई महिनामा संघीय सरकारको कुल १ खर्ब ३४ अर्ब ३४ करोड रूपैयाँ खर्च भएको छ । यस अवधिमा चालू खर्चतर्फ १ खर्ब ८ अर्ब ७३ करोड, पुँजीगत खर्चतर्फ ५ अर्ब ८६ करोड र वित्तीय व्यवस्थाअन्तर्गतको खर्चतर्फ १९ अर्ब ७५ करोड रहेको छ । सरकारको कुल राजस्व १ खर्ब ४३ अर्ब ८१ करोड (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) परिचालन भएको छ । यसमध्ये कर राजस्वतर्फ १ खर्ब ३० अर्ब ७० करोड र गैर कर राजस्वतर्फ १३ अर्ब ११ करोड परिचालन भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *