पृथ्वीसुब्बा गुरुङको आश्वासन- एमाले सरकार बन्नासाथ वृद्धभत्ता पाँच हजार – Nepal Press

पृथ्वीसुब्बा गुरुङको आश्वासन- एमाले सरकार बन्नासाथ वृद्धभत्ता पाँच हजार

काठमाडौं । नेकपा एमाले उपमहासचिव तथा लमजुङका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले चुनावपछि एमाले सरकार बन्नासाथ वृद्धभत्ता ५ हजार बनाउने आश्वासन दिएका छन् ।

शुक्रबार बेंसीशहर नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको काम गर्न एमालेलाई एकल बहुमत दिन आग्रह गरे ।

उनले भने, ‘जनताको काम गर्न एकल बहुमत चाहिनेरहेछ । हाम्रो सरकार बन्नासाथ वृद्धभत्ता ५ हजार पुर्‍याउँछौं । त्यो वेलामा सम्झिनुहोला एमाले र केपी ओलीलाई । सूर्य चिन्हमा भोट हालेकै कारणले वृद्धभत्ता ५ हजार पायौं भनेर सम्झिनुहुनेछ ।’

ओली नेतृत्वको सरकारले नै यसअघि वृद्धभत्ता बढाएर ४ हजार बनाएको उनले दाबी गरे । उनले भने, ‘हामीले नै ४ हजार बनाएका हौं । हुन त सरकारको ढुकुटीबाट आउने हो । तर, त्यसलाई राज्यले जनताको समस्या बुझ्नुपर्छ । अल्पसंख्यक, दलितहरुलाई पनि एमालेले भत्ताको व्यवस्था गरेको छ ।’

एमालेले जिल्ला–जिल्लामा विकासको लहर ल्याएको दाबी गर्दैै गुरुङले भने, ‘देश र जनताको हितमा हामीले काम गरेका छौं । त्यसैले जनताले गठबन्धनका उम्मेदवार जिताउने कि एमालेका भन्ने तपाईंहरुको हातमा छ । कांग्रेस र गठबन्धनले जनताको पक्षमा कुनै काम गरेको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर