ओलीप्रति प्रचण्डको कटाक्ष- गोरुगाडा सिद्धान्त अपनाउन लागेपछि गठबन्धन बन्यो – Nepal Press

ओलीप्रति प्रचण्डको कटाक्ष- गोरुगाडा सिद्धान्त अपनाउन लागेपछि गठबन्धन बन्यो

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीले ‘गोरुगाडा सिद्धान्त’ अपनाउन लागेपछि गठबन्धन बनेको भन्दै कटाक्ष गरेका छन् ।

पोखरामा जारी गठबन्धनको प्रादेशिक भेलामा बोल्दै प्रचण्डले गठबन्धन गोरुगाडा सिद्धान्तको विपरीत बनेकाले संविधान, लोकतन्त्र र राष्ट्रका रक्षा निम्ति कायम नै रहने बताए ।

‘जनआन्दोलनताका एमालेभित्रै केही मान्छेले गोरुगाडा सिद्धान्त बताउँदै बसे । पछि सुध्रे होलान् भनेको फेरि त्यही सिद्धान्त अपनाउन लागेपछि गठबन्धन बन्यो,’ प्रचण्डले भने ।

पाँचदलीय गठबन्धन निर्वाचनमा जानका लागि मात्र नबनेको भन्दै ठूलो मिहिनेत र धेरै छलफलपछि गठबन्धन बनेको उनको भनाइ थियो ।

‘गठबन्धन निर्वाचनमा जान मात्र बनेको होइन । यसो भनिन्छ भने गठबन्धन पछाडिको सिद्धान्तलाई नजरअन्दाज गरेको हुन्छ,’ प्रचण्डले भने ।

दाहालले पाँच दलका शीर्ष नेता सबै एक भएको सन्देश दिन प्रदेशस्तरीय भेलामा हिँडेको बताए ।

‘तपाईंहरू अघि बढ्नुस्, प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारलाई जिताउन लाग्नुस्,’ उनले भने, ‘हामी सबै आज यहाँ आएको एक छौं भन्ने सन्देश दिन आएका हौं ।’

ठूलो संघर्षपछि ल्याएको परिवर्तन उल्ट्याउन र राष्ट्रिय एकता खण्डित गर्न एमाले नेतृत्वको गठबन्धन बनेको प्रचण्डको आरोप छ । देशलाई घातकरूपमा पछि धकेल्न अर्को गठबन्धन उद्धत रहेको उनले बताए ।

चुनावपछि गठबन्धन जुनसुकै हालतमा विजयी हुने उनको विश्वास छ । नयाँ आर्थिक विकासको युगतर्फ लैजान पनि गठबन्धनको विजयी आवश्यक भएको प्रचण्डले बताए । नमीठा अनुभवबीच गठबन्धन बनेको र परिवर्तन रक्षाका लागि बनेको गठबन्धन बचाउन जिम्मेवारीबोध गरेर हँसिया हतौडा, रुख, कलममध्ये जसको उम्मेदवार भएपनि मत हाल्न उनको आह्वान छ ।


प्रतिक्रिया

One thought on “ओलीप्रति प्रचण्डको कटाक्ष- गोरुगाडा सिद्धान्त अपनाउन लागेपछि गठबन्धन बन्यो

  1. ओलिले गुमेको भाग फिर्ता ल्याए, भारतसँग दाइभाइको होइन समान व्यवहार गरे त्यो भारतलाई मन परेन । अनि उसले नियुक्त गरेका एजेण्टहरूलाई ओलिको विरूद्व प्रयोग गरे । यस्ता दलालहरूले फुर्ति लगाउने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर