टिकट नपाउनेलाई संवैधानिक र राजनीतिक नियुक्ति दिइने गठबन्धनका शीर्ष नेताको आश्वासन (भिडिओ) – Nepal Press

टिकट नपाउनेलाई संवैधानिक र राजनीतिक नियुक्ति दिइने गठबन्धनका शीर्ष नेताको आश्वासन (भिडिओ)

विराटनगर । सत्ता गठबन्धनका शीर्ष नेताहरूले टिकट नपाएर असन्तुष्ट भएकाहरूलाई फकाउँदै चुनाव जितेर बहुमतको सरकार बनेपछि राजदूत, संवैधानिक अंग लगायतका राजनीतिक नियुक्तिहरूमा अवसर दिइने आश्वासन बाँडेका छन् ।

विराटनगरमा शनिवार प्रदेशस्तरीय गठबन्धन कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शीर्ष नेताहरूले पहिले चुनावमा एमालेलाई हराउने र त्यसपछि टिकटबाट वञ्चित भएकाहरू सबैलाई अवसर दिइने बताए ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेश १ मा गठबन्धनलाई चुनाव जिताएर केपी ओलीलाई जवाफ दिनुपर्ने भएकाले कुनै असन्तुष्टि नराख्न निर्देशन दिए ।

कांग्रेसका धेरै नेताहरू टिकट नपाएर असन्तुष्ट भएकोतर्फ संकेत गर्दै उनले चुनावपछि राष्ट्रियसभा लगायत राजनीतिक नियुक्ति दिइने बताए ।

सोही भेलामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने- म कांग्रेस लगायत गठबन्धन भित्रका दलका सबै साथीहरूलाई अपिल गर्न चाहन्छु,गठबन्धनले जितेर हाम्रो सरकार बन्यो भने तपाईँहरू सबैलाई अवसर नै अवसर हुन्छन् । अहिले टिकट नपाएका वा भनेजस्तो नपाएर मन खुम्चिएका साथीहरूलाई पनि भोलि बहुमतको सरकार बनेपछि थुप्रै राजनीतिक नियुक्ति हुन्छन् । संवैधानिक नियुक्ति,राजदूतहरू के के हुन्छन् त्यहाँ अवसर हुन्छ । हारियो भने हामी सबैको हालत खराब हुन्छ ।

प्रचण्डले असन्तुष्ट कार्यकर्तालाई हौस्याउँदै अहिले टिकट पाउनेभन्दा नपाउनेले भविष्यमा राम्रो मौका पाउने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर