लुम्बिनीमा संघतर्फ ७ र प्रदेशतर्फ ४ जनामात्रै महिला उम्मेदवार, देलान् त प्रभावशाली नेताहरुलाई टक्कर ? – Nepal Press

लुम्बिनीमा संघतर्फ ७ र प्रदेशतर्फ ४ जनामात्रै महिला उम्मेदवार, देलान् त प्रभावशाली नेताहरुलाई टक्कर ?

रुपन्देही । लुम्बिनीमा प्रतिनिधिसभातर्फ २६ र प्रदेशसभातर्फ ५२ निर्वाचन क्षेत्र छन् । जसअनुसार मंसिर ४ गते हुने निर्वाचनमा क्रियाशील दलबाट ११ जना महिलाले मात्रै प्रत्यक्षतर्फ उम्मेदवार बन्न पाएका छन् ।

संविधानले संघ, प्रदेश र स्थानीय तहमा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । तर, दलहरुले उम्मेदवारी दर्ता गर्ने क्रममै यस व्यवस्थालाई उपेक्षा गरेका छन् ।

निर्वाचन कानूनले पनि महिला सहभागितासहित समावेशिताका लागि बाध्यकारी व्यवस्था गरेको छ । तर, दलहरुले विभिन्न बाध्यात्मक कारण देखाउँदै यसलाई टारेका छन् । दलहरुले निर्वाचनमा प्रत्यक्षतर्फ महिलालाई अवसर नदिएर समानुपातिकमै सीमित गरेका छन् । यसले मूल नीति निर्माण तहमा महिला सहभागिता कमजोर हुने देखिएको छ ।

अधिकारकर्मी सुमित्रा शर्मा महिला क्षमतालाई स्वीकार गर्ने प्रवृत्तिको विकास नहुँदा चुनावको प्रत्यक्षमा महिलाहरुले मौका नपाएको बताउँछिन् । ‘महिला आफैं पनि नेतृत्वमा पुग्न संकुचित छन् । सक्षम महिलाहरु पनि चुनावमा भिड्न पाउँदैनन्, उनीहरुलाई मौका नै दिइँदैन’, उनले भनिन् ।

लुम्बिनीमा मंसिर ४ गते हुने निर्वाचनको प्रतिनिधिसभातर्फ ७ जना महिलामात्रै उम्मेदवार छन् । त्यसमाथि पनि ठूला दल एमाले, कांग्रेस र माओवादीबाट ६ जनामात्रै उम्मेदवार छन् । प्रदेशमा सबै दलबाट ४ जनामात्रै महिला उम्मेदवार छन् ।

२६ निर्वाचन क्षेत्रमा एमाले, कांग्रेस, माओवादीले ३८ पुरुष उम्मेदवार उठाएका छन् । एमालेबाट २३ उम्मेदवारमध्ये २ जना महिला उम्मेदवार छन् । कांग्रेस र माओवादीबाट एक-एक जना महिलाले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उठ्ने मौका पाएका छन् । जनमोर्चा र एकीकृत समाजवादीबाट एकएक जना महिलाले प्रत्यक्षमा चुनाव लडेका छन् ।

एमालेबाट विद्रोह गरेर एकजनाले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । लुम्बिनी प्रदेशमा राजनीतिक दलबाट प्रतिनिधिसभातर्फ ३४८ जना उम्मेदवार छन् । तीमध्ये ३७ प्रतिशतमात्रै महिला छन् ।

प्रदेशसभातर्फ भने अझै कम महिलाले मौका पाएका छन् । प्रमुख राजनीतिक दलबाट महिला उम्मेदवार बन्ने संख्या निकै कम छ । प्रदेशसभातर्फ ४९७ जनाको उम्मेदवारी परेको छ । तीमध्ये २९ जनामात्रै महिला छन् ।

लुम्बिनीमा समानुपातिक र प्रत्यक्ष गरी ८७ जना सांसद चुनिन्छ । संसदको पहिलो कार्यकालमा प्रदेशसभामा प्रत्यक्ष निर्वाचित महिलाको संख्या एकमात्रै थियो । उपनिर्वाचनबाट विमला वली सांसद बनेकी थिइन् ।

अधिकारकर्मी शर्मा महिलाहरुले सशक्त आवाज उठाउन नसक्दा पनि राजनीतिक दलले प्रत्यक्षतर्फ महिलालाई अगाडि नसारेको बताउँछिन् । ‘सबै दलका महिलाहरु एकजुट र अडिग भई अभियान चलाउने हो भने परिवर्तन सम्भव छ’, उनले भनिन् । समानुपातिकभित्र पनि पहुँच र उच्च ओहदाका व्यक्तिलाई मात्रै समावेश गर्ने गरिएको उनको भनाइ छ ।

राजनीतिक दलहरुले उम्मेदवार छनोटअघि प्रत्येक क्षेत्रबाट आकांक्षीहरुको सूची माग गरेका थिए । तर प्रत्यक्षतर्फको सूचीमा महिलाको आकांक्षा निकै कम देखिएको थियो । ‘प्रत्यक्षमा उठ्ने हिम्मत नै नगर्ने, समानुपातिकमा बस्न खोज्ने नेतृहरुमात्रै हुनुहुन्छ, अनि यस्तोमा कसरी पार्टीले अवसर दिनसक्छ’, रुपन्देहीका एक राजनीतिक दलका नेताले भने । महिला नेतृहरुले संगठन निर्माण, कार्यकर्ता परिचालनलगायतका काम कमै गर्ने प्रवृत्ति रहेको उनी बताउँछन् ।

गएको प्रतिनिधिसभा निर्वाचनमा लुम्बिनीबाट जनमोर्चाकी दुर्गा पौडेलमात्रै निर्वाचित भएकी थिइन् । यो पटक उनीसहित एमालेबाट शान्ता चौधरी र कोमल वली, कांग्रेसबाट पुष्पा भुसाल, माओवादी केन्द्रबाट रेखा शर्मा र एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री प्रतिनिधिसभाको चुनावी मैदानमा छन् ।

जनता समाजवादी पार्टीबाट पाल्पा २ मा दुर्पता सोमै प्रत्यक्षतर्फ उम्मेदवार रहेकी छन् ।

प्रदेशसभाको प्रत्यक्ष निर्वाचनतर्फ प्रमुख दलबाट चार जना महिलामात्रै भिडेका छन् । एमालेबाट रुकुमपूर्वको २ मा भावना बुढाथोकी र बर्दिया २ को २ मा कृष्णी थारु चुनावी मैदानमा छन् । माओवादी केन्द्रबाट बाँके १ को १ मा कृष्णा केसी र बर्दिया १ को २ मा अञ्जु दहित उम्मेदवार छन् । कांग्रेसले प्रत्यक्षमा कुनै पनि महिलालाई अवसर दिएन ।

प्रत्यक्षमा प्रतिस्पर्धा गरेकामध्ये कृष्णी थारु लुम्बिनीकी निवर्तमान उपसभामुख हुन् । केसी निवर्तमान प्रदेशसभा सदस्य हुन् ।

रामकुमारी भर्सेस गाेकर्ण

गुल्मी क्षेत्र नं २ मा नेकपा एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री एमाले सचिव गोकर्ण विष्टसँग मैदानमा छन् । सत्ता गठबन्धनकी साझा उम्मेदवार झाँक्री नेकपा एसकी सचिव तथा पूर्वमन्त्री हुन् । तर, २०५६ सालदेखि निरन्तर सोही क्षेत्रमा निर्वाचन लडेका प्रभावशाली नेता तथा पूर्वमन्त्री विष्टसँग जीत निकाल्न उनलाई चुनौतीपूर्ण छ ।

झाँक्रीले विष्टसँग लड्ने निर्णय गरेर हिम्मत देखाएको उनका समर्थकहरु बताउँछन् । जिल्लामा आफ्नो पार्टीको कमजोर संगठन भएकाले गठबन्धन दलको भर पर्नुपर्ने र स्थानीय तहको निर्वाचनमा समेत निकै कम मत आएकाले झाँक्रीलाई चुनौती छ । त्यसमाथि उनी आफैंले नेकपा एसको जिल्ला नेतृत्वमा पुर्‍याएका नेताहरु पुनः एमाले फर्किएकाले झाँक्रीलाई चुनाव जित्न सहज छैन । गठबन्धन दलको सबै मत सुरक्षित राख्नसकेमात्र उनको संसदयात्रा पूरा हुनेछ ।

शान्ता र गंगा भर्सेज मेटमणि

दाङ क्षेत्र नं १ मा नेकपा एमालेले शान्ता चौधरीलाई उम्मेदवार बनाएको छ । कमलरी आन्दोलनले जन्माएकी नेतृ चौधरीलाई यसअघि एमालेले समानुपातिकबाट सांसद बनाएको थियो । शान्ताले यहाँ आफ्नै पूर्वसहकर्मी नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि हालका शहरी विकासमन्त्री छन् । २०७४ सालको निर्वाचनमा उनले नेकपा एमालेका तर्फबाट यही निर्वाचन क्षेत्रमा चुनाव जितेका थिए । तत्कालीन एमालेका जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य चौधरी पछिल्लो समय पार्टी विभाजन भएसँगै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका हुन् । राजनीतिक पृष्ठभूमि हेर्दा शान्ताभन्दा मेटमणि निकै अगाडि छन् । विगतमा चौधरीद्वयले एमालेमा रहेर थुप्रै सहकार्य गरेका थिए ।

कमलरी आन्दोलनदेखि पछाडि पारिएको वर्ग थारू समुदायमा राजनीतिक चेतना भर्न उनीहरू दुबैले सँगै काम गरेका थिए । अहिले विगतका सहकर्मीबीच हुने प्रतिस्पर्धा रोचक हुने आँकलन छ । निर्वाचन क्षेत्र नं. १ थारू बाहुल्य क्षेत्र हो ।

यो क्षेत्रमा प्यूठान, अर्घाखाँचीलगायतका जिल्लाबाट बसाइ सरेर आउनेहरू छन् । प्यूठानी धेरै रहेको हुँदा यहाँ जनमोर्चाको पनि राम्रो पकड छ । जनमोर्चा गठबन्धन दलमै छ ।

अर्कोतर्फ विगतमा एमालेकै उम्मेदवार भएर मेटमणिले यही क्षेत्रबाट जितेको हुँदा शान्तालाई अहिले त्यो मत मिल्नसक्छ । शान्ताको लागि एमाले नेतृ तथा पूर्वसांसद गंगा चौधरी तगारो बन्दैछिन् । पार्टीले आफूलाई टिकट नदिएपछि गंगाले शान्ताविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएकी छन् । यसबाट शान्ताको मत काटिने सम्भावना छ ।

क्षेत्र नं १ लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्र हो । लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिका यस क्षेत्रमा पर्छन् ।

रेखा भर्सेज शंकर

दाङ क्षेत्र नं २ मा गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रले पूर्वमन्त्री रेखा शर्मालाई उम्मेदवार बनाएको छ । शर्माले २०६४ सालको संविधानसभा निर्वाचन पश्चिम दाङबाट जितेकी थिइन् । जतिखेर दाङमा पाँच निर्वाचन क्षेत्र थिए । उतिखेर सबै क्षेत्र माओवादीले क्लिनस्वीप गरेको थियो ।

पूर्वसभामुख कृष्णबहादुर महरा पछि सरेपछि रेखालाई पार्टीले उम्मेदवार बनाएको हो । दाङ क्षेत्र नं २ को घोराही क्षेत्रमा पर्छ । यहाँ बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिका गरी दुई पालिकामात्रै छन् । रोल्पा र प्यूठानसँग सीमा जोडिएको यो क्षेत्रमा अधिकांश मानिस रोल्पाबाट बसाई सरेर आएका छन् । आस्थाका दृष्टिकोणले रोल्पालीहरू अधिकांश माओवादी निकट छन् । त्यसको लाभ रेखालाई हुनसक्छ । उनी मन्त्री हुँदा वा राजनीतिक रूपमा पनि कुनै पनि विवादमा नमुछिएकी नेतृ हुन् । त्यसको लाभ उनले उठाउन सक्छिन् ।

यो नेपाली कांग्रेसको बलियो पडक भएको क्षेत्रसमेत हो । त्यसैले उनलाई थप फाइदा हुनसक्छ । तर, उनलाई नेकपा एमालेका महासचिव शंकर पोखरेललाई हराउन सहज छैन । २०७४ सालको निर्वाचनमा शंकर वाम गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नम्बर २ को (१) बाट निर्वाचित भएका थिए । त्यसपछि उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बने ।

शंकरको गृहनगर तुलसीपुर उपमहानगरपालिका नै हो । शंकरले २०५१ पछि हालसम्म कुनै पनि केन्द्रको संसदीय निर्वाचन जितेका छैनन् । त्यसैले उनी २०७४ सालमा आफ्नो निर्वाचन क्षेत्र नं ३ छोडेर क्षेत्र नं २ मा चुनाव लड्न गएका थिए ।

शंकरले मुख्यमन्त्री हुँदा लुम्बिनी प्रदेशको स्थायी राजधानी रूपन्देहीबाट दाङ सार्न भूमिका खेलेका थिए । त्यसैलाई उनले भोट तान्ने प्रमुख अस्त्रको रुपमा प्रयोग गर्ने देखिन्छ । मनोनयन दर्ता गरेपछि उनले त्यो कुरा पनि प्रमुखताका साथ उठाएका थिए ।

गत बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको परिणामका कारण पनि शंकर उत्साहित छन् । गठबन्धन दलका उम्मेदवारलाई हराउँदै घोराही उपमहानगरपालिकासहित बहुमत वडाध्यक्षमा एमालेले जीत निकालेको थियो । जे जस्तो भए पनि इमानदार छविकी रेखा र पार्टीभित्र कम्युनिष्ट आन्दोलन र जबजको व्याख्याता मानिने शंकरबीचको प्रतिस्पर्धा पक्कै रोचक हुनेछ ।

कोमल भर्सेज दीपक

दाङ क्षेत्र नं ३ मा नेकपा एमालेले कोमल वलीलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । वली २०७४ सालको निर्वाचनताका राप्रपा छोडेर एमाले प्रवेश गरेकी थिइन् ।

पार्टीले समानुपातिक सांसद बनाएपछि कोमल यो बीचमा राष्ट्रियसभा सदस्यसमेत बनेकी थिइन् । दाङ टिकरीकी कोमल कला क्षेत्रबाट उदाएकी नेतृ हुन् । स्थानीय निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार विजयी हुनुले पनि कोमल हौसिएकी छन् । तर, कोमललाई यहाँ सोचे जस्तै सहज भने छैन ।

उनका प्रमुख प्रतिस्पर्धी कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी छन् । विगतमा एमालेकै शंकर पोखरेलसँग पनि चुनाव लडेका उनी लामो समयदेखि राजनीतिमा सक्रिय छन् । उनकै टीम पार्टीको १४औं महाधिवेशनमा जिल्लादेखि प्रदेशमा हावी छ । पार्टीभित्र संस्थापन पक्षधर गृहमन्त्री बालकृष्ण खाण पक्षलाई हराएर दीपक लुम्बिनीका एक्ला नेता कहलिएका छन् ।

पुष्पा भर्सेस टोपबहादुर

अर्घाखाँचीमा कांग्रेसकी केन्द्रीय सदस्य एवं निवर्तमान उपसभामुख पुष्पा भुसाल एमाले सचिव टोपबहादुर रायमाझीसँग मैदानमा छन् ।

सत्ता गठबन्धनबाट पुष्पा अंक गणितमा बलियो छिन् । तर, २०६४, २०७० र २०७४ सालमा चुनाव जितेका रायमाझी पटक-पटक मन्त्री र उपप्रधानमन्त्री बनेका छन् । ३ पटक लगातार निर्वाचन जितेर ‘ह्याट्रिक’ गरी १५ वर्ष एकछत्र सांसद बनेका रायमाझीलाई हराउन भुसालले आफ्नै पार्टीभित्रको मतभेद र गठबन्धनभित्रको असन्तुष्टि मिलाउनुपर्नेछ ।

नेकपा एसभित्र प्रदेशसभामा टिकट नपाएको भन्दै असन्तुष्टि छ । माओवादीमा पनि जनमोर्चालाई छोड्न परेकोमा उस्तै असन्तुष्टि छ । तर, राजनीतिक परिवारमा लामो समय अनुभव संगालेकी पुष्पा सहज रुपमा जीत निकाल्ने अठोटका साथ मैदानमा पुगेकी छन् ।

दुर्गा भर्सेस सूर्य

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल २०७४ सालमा वाम गठबन्धनको समर्थनमा प्यूठानबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन् । त्यतिवेला पौडेलले कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेललाई हराएकी थिइन् । २०७४ मा जुन पार्टीका उम्मेदवारलाई हराएकी थिइन् अहिले पौडेलले त्यही पार्टीको समर्थन पाएकी छन् । तर, २०७४ का सारथी नेकपा एमालेका उम्मेदवार प्रतिस्पर्धामा आएका छन् ।

यसपटक कांग्रेस-माओवादीसहितको गठबन्धनको बलमा संसदमा दोहोरिन तयारीमा छिन् पौडेल । उनीसँग प्रतिस्पर्धामा छन् एमालेका नेता सूर्य थापा । थापा उनै हुन् जसले २०७४ को निर्वाचनमा पौडेललाई जिताउन भूमिका खेलेका थिए ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको साथ पाएकाले पौडेलले केही सहज महसुस गरेकी छन् । एक्लै प्रतिस्पर्धामा रहेका एमाले उम्मेदवार थापा पनि प्यूठानमा राष्ट्रिय जनमोर्चाको विरासत तोड्ने योजनामा छन् ।

झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा थापाले प्रधानमन्त्रीको प्रेस सल्लाहकारको जिम्मेवारी निर्वाह गरेका थिए । गठबन्धन दलको मत जोड्दा पौडेलको जीतमा कुनै समस्या देखिँदैन । तर, उनको टिकटप्रति कांग्रेसको असन्तुष्टि तथा गठबन्धन दलमा देखिएको आन्तरिक असन्तुष्टि चुनौती हुनसक्छ ।

सोमैको औपचारिकता

पाल्पा क्षेत्र नं २ मा जसपाबाट दु्रर्पता सोमै प्रतिनिधिसभाको मैदानमा छिन् । अन्य दलको तुलनामा यहाँ उनको पार्टीको बलियो संगठन नभएकाले पनि उनको उम्मेदवारी औपचारिकतामात्रै हो ।

यो क्षेत्रमा एमाले पोलिटब्युरो सदस्य ठाकुर गैरे तथा नेकपा एसका लुम्बिनी अध्यक्ष तथा २०५१ सालदेखि सो क्षेत्रका निरन्तर उम्मेदवार सोमप्रसाद पाण्डे प्रतिस्पर्धामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर