जसले कोरोना महामारीलाई अवसरमा परिणत गरे
काठमाडौं । झण्डै ११ वर्ष अगाडि नेपालमा ‘डेटा एनालिस्ट’ को रुपमा आफ्नो व्यवसायिक जीवन अगाडि बढाउने निर्णय लिँदा नेपालमा उक्त विषयको विज्ञतालाई कसरी प्रयोगमा ल्याउने भन्ने विषयमानै अन्योल देखिन्थे नाम चलेका कर्पोरेट हाउसहरु ।
तर पनि जान श्रेष्ठले नेपालमा नै बसेर आफ्नो करियर अगाडि बढाउने निर्णय गरे । त्यतिबेला लिएको ‘बोल्ड डिसिजन’ले समयकालमा उनलाई राम्रै गर्यो । उनले काम सुरु गरेको केही समयमानै नेपालमा ‘ टेक्नोलोजिकल लिप फ्रगिङ्ग’ को अभ्यास गरिरहेको थियो ।
अर्थात नेपालले प्रविधिको क्षेत्रमा आफूलाई व्यापक रुपमा अभ्यस्त बनाउने प्रयास गरिरहेको थियो । जसका कारण उनले नेपालमै बसेर नाम चलेका विदेशी ब्राण्डसँग काम गर्ने मौका प्राप्त गरे । करियरले राम्रै गति लिने प्रारुप तब देखा पर्यो जब २०१३ /१४ ताका नेपालमा ई- कमर्स साइटहरु विस्तारै ‘बुम’हुन थाले ।
सोही समयमा उनी नेपालमा नाम चलेको एक ‘ई- कमर्स’ कम्पनीमा आवद्द हुन पुगे । सो समयमा उनलाई नेपालमा ‘ई – कमर्स’ क्षेत्रले प्रचुर सम्भावना बोकेको छ भन्ने अड्कल काटिसकेका थिए । सोही क्षेत्रमा आवद्ध भइसकेपछि उनको अनुभव भने फरक थियो ।
‘ई-कमर्स’को पनि कस्टमर इन्ड सम्हालिरहेका जानले काम सुरु गरिसकेको छोटो समयमानै नेपालमा ‘ई -कमर्स’ क्षेत्रको विकास गर्नका निमित्त ‘लजिस्टिक’ अर्थात कुनै पनि सामानलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपोसार गर्ने संयन्त्रको बिकास हुनु टड्कारो आवश्यकता महशुस गरे ।
ग्राहकहरुको सामान कहाँ पुग्यो भनेर ट्र्याक गर्न नसकिने , भेन्डरले रियल टाइममा आफ्नो भुक्तानी समेत प्राप्त गर्न नसक्ने , सामान विक्री भइसकेको लामो समयसम्म पनि भेन्डरलाई पैसा भुक्तानी नगरिकन लजिस्टिक कम्पनीले सो पैसाको दुरुपयोग गरिदिन तथा कतिपय अवस्थामा त भेंन्डरको पैसानै लिएर लजिस्टिक कम्पनीनै भागिदिने सम्मका समस्या उनले भोग्नु पर्यो ।
उनी लामो समयसम्म यस लगायतका समस्यालाई समाधान गर्न सक्ने लजिस्टिक कम्पनीको खोजिमै लागिरहे । उनी आफ्ना नजिकका साथीभाईहरुसँग लजिस्टिक कम्पनीहरुमा देखा परेका समस्या र त्यसको समाधानका विषय परामर्श गर्न थाले । सोहीक्रम उनको भेट भयो दिपेश जङ् बुढाथोकीसँग ।
दिपेश सो समयमा एउटा लजिस्टिक कम्पनीमै अप्रेशन हेडको रुपमा कार्यरत थिए । उनलाई आफ्नो क्षेत्रमा रहेको समस्याको बारे थाह नहुने कुरै भएन तर पहिलो पटक उनले समस्याको मात्र नभई समाधानको बारेमा पनि उपाय खोजिरहेका व्यक्तीलाई भेटेका थिए । दिपेशलाई उनीसँगै मिलेर यस क्षेत्रमा काम गर्ने हुटहुटी चल्यो ।
त्यसपछिका उनीहरुका चिया भेटमा लजिस्टिक कम्पनीको समस्या र त्यसको समाधान बाहेक अरु खास्सै गफनै हुन छोडे र अन्तत उनीहरुले आफैले एउटा लजिस्टिक कम्पनीको स्थापना गर्ने निधो गरे । उनीहरु दुई जनाको पहल र पुँजीमा एउटा पृथक लजिस्टिक कम्पनीको स्थापना हुनु त्यति सहज थिएन ।
सोही समयमा फेला परे उनीहरुलाई डामेको हतियारले डामिएका अर्का पात्र अर्थात यथावत लजिस्टिक सिस्टम र कम्पनीबाट आजित भएका अर्का पात्र मन्जिल थापा मगर । त्यसपछि ती तीन युवाहरुको एउटै धेय बन्न पुग्यो नयाँ लजिस्टिक कम्पनीको स्थापना । नाम चलेको कम्पनीमा राम्रै ओहोदामा रहेका यी तीन युवाहरुको लागि करियरलाई दाउमा राखेर नयाँ कम्पनी स्थापना गर्नु सानोतिनो विषय थिएन तर पनि तिनै जनाले त्यो चुनौतीलाई स्वीकार्ने निर्णय गरे ।
‘अहिले सम्झिदा त्यो जब छोड्ने आट गर्नु पनि ठुलो आँट थियो जस्तो लाग्छ ।’ दिपेश भन्छन् । समर्थन जनाउँदै मन्जिल थप्छन् ‘नट ओन्ली गूड् रेली भेरी गूड भनम न ।’ कम्पनी स्थापनाको होड लिएर हिंडेका यी तीन युवाहरु सिस्टम डेभलप्मेन्ट , अफिस स्पेस म्यानेजमेन्ट लगायतका काममा जुटे । र अन्तत सन् २०१९को अन्त्यतिर विधिवत रुपमा जन्म भयो लजिस्टिक कम्पनी ‘ड्यास’ ।
तर भोजनको पहिलो गासँमानै ढुङ्गा लाग्यो भने कस्तो महशुस होला ड्यासको लागि पहिलो गासँको ढुङ्गाको रुपमा देखा पर्यो विश्वलाई नै आक्रन्त बनाएको कोरोना महामारी । कोरोना महामारीले सारा विश्वलाई नै ठप्प बनायो । निम्न वर्गिय मानिसको घरमा त चुल्हो बल्न समेत हम्मे हम्मे पर्ने अवस्था सिर्जना भयो ।
ती कहाली लाग्दो समयमा यी तीन युवाले आफ्नो बचत मात्र नभएर ऋण समेत गरी झण्डै ४० लाख रुपैयाँ ‘ड्यास’ को लागि खर्च गरिसकेका थिए । ‘भएको बचत र ऋण गरेर इन्भेस्ट गरेको ठ्याक्क कोरोना सुरु भयो , हामीसँग सिस्टम छ , अफिस छ तर स्टाफ छैन , आम्दानी छैन केही छैन त्यो किसिमको परिस्थिति आयो। ’जानले भने ।
सुरुका केही महिना त अवस्था सुध्रेला कि भनेर उनीहरु चुपचाप बसे तर समस्या ज्युँका त्युँ भएको देखेपछि उनीहरु महामारीको सामना गर्ने निर्णय गरे । सो समयमा औषधीबाहेक अन्य वस्तुको ‘डेलिभरी’ लगभग नगन्य नै थियो सोही कारण महामारीकै बीचमा औषधी डेलिभरी गर्ने प्रस्ताव लिएर उनीहरु एक औषधी कम्पनीमा पुगे ।
‘पिक कोरोनाको टाइम थियो कुनै पनि लजिस्टिकले डेलिभरीको सुविधा दिएको थिएन सायद त्यहि कारणले होला हामीले हाम्रो पहिलो क्लाइन्ट भेट्यौ त्यो पनि नामचिन औषधी कम्पनी । ’ दिपेश भन्छन् । उनीहरुले नामचिन कम्पनीबाट बिजनेस त पाए तर उनिहरुसँग एक जना पनि ‘डेलिभरी पर्सन’ थिएनन् । सोहीकारण उनीहरु आफै डेलिभरी पर्सन बन्ने निर्णय गरे ।
महामारीकै बीचमा ब्याग बोकेर घरघरमा औषधी पुर्याउन पुगे । सो समयलाई सम्झिदै दिपेश भन्छन् ‘हामीलाई त्यति बेला सम्म सिस्टमको समस्यालाई कसरी हल गर्ने थाहा थियो , अन्य अप्रेशनको बारे थाहा थियो तर फिल्डमा खटिने डेलिभरी स्टाफको समस्याको बारेमा त्यति थाहा थिएन तर जब हामी आँफै डेलिभरी स्टाफ बन्यौँ तब बल्ल उहाँहरुको समस्याको बारे थाहा पायौं अहिले हाम्रा डेलिभरी स्टाफलाई हामी डेलिभरि ‘हिरोज’ भनेर संबोधन गर्छौ उहाँहरुलाई समय समयमा व्यक्तित्व बिकास तालिम दिन्छौ , प्रोत्साहन स्वरुप बोनस तथा पुरस्कारको व्यवस्था गरेका छौँ ।’
दिपेशका अनुसार उनीहरुले कोरोनाको समयमा लगभग हजार भन्दा बढी ठाउँमा औषधी डेलिभरी गरेका छन् । कोरोना महामारीमा देखाएको आट र साहसको फलस्वरुप हाल उनीहरुलाई अन्य ठुल) ठुला कम्पनीले पनि विश्वास देखाएका छन् । हालको समयमा ड्यासका उपत्यका बाहिर झन्डै सय जना स्टाफ छन् ।
‘बाहिर गएर फर्किएर आउनु भएका धेरै जना अहिले ‘ड्यास’का डेलिभरी हिरोज हुनुहुन्छ उहाँहरुको अनुहारमा एक किसिमको सन्तुष्टी देख्दा पनि केही अर्थपूर्ण गरिएछ जस्तो लाग्छ ।’ जान भन्छन् ।
उनीहरुका अनुसार ‘ड्यास’ ले यति छोटो समयमा यत्तिको प्रगति गर्नुको मुख्य कारण उनीहरुले दिएको सुविधानै हो । ड्यास लाई लजिस्टिक पार्टनरको रुपमा प्रयोग गर्ने भेन्डरले रियल टाइममानै आफ्नो भुक्तानी प्राप्त गर्न सक्छन् । बजारमा थोरै वजन आधी किलो अफर गर्ने लजिस्टिक कम्पनी ड्यास बाहेक अरुकुनै नभएको दिपेशको दाबी छ ।
जसले गर्दा अचार बेच्ने घरेलु गृहणीदेखि ठुला ठुला औजार बेच्ने कम्पनीसम्म अहिले ड्यासकाका ग्राहक भएका छन् । ४० लाखको पुँजीमा सुरु भएको ड्यास अहिले १ करोड माथि पुगेको उनीहरुको भनाई छ ।
‘अब त देयर इज नो वे लुकिङ्ग ब्याक, नुन देखि सुनसम्म गोन्जाओ देखि गुल्मी सम्म विश्वसनीय रुपमा सामानको डेलिभरी गर्ने लजिस्टिक कम्पनीको रुपमा ड्यासलाई स्थापित गराउने हो । जानले भने ।