त्रिशूली जलविद्युत कम्पनीको शेयरबापतको रकम चुक्ता गर्न ७८ हजारको आवेदन – Nepal Press

त्रिशूली जलविद्युत कम्पनीको शेयरबापतको रकम चुक्ता गर्न ७८ हजारको आवेदन

काठमाडौं । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको शेयरबापतको बाँकी रकम चुक्ता गर्न झण्डै ७८ हजारले आवेदन दिएका छन् । कम्पनीले शेयरवापतको रकम बुझाउन गएको असोज ४ बाट आवेदन माग गरेको थियो ।

कम्पनीको शेयर बाँडफाँटमा शेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५५९ जना सर्वसाधारणमध्ये झण्डै ७८ हजारले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाएका हुन् । यसबाट १६ करोड १० लाख रुपैयाँ संकलन भएको छ ।

साविकका सर्वसाधारण शेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ संकलन गरिनेछ । आगामी कात्तिक १७ आवेदन दिने अन्तिम दिन हो ।

कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले अन्तिम दिनअगावै आवेदन दिन शेयरधनीहरुलाई आग्रह गरेका छन् ।

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) शेयर निष्काशन गरी प्रतिशेयर एक सय रुपैयाँ अङ्कित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँमात्र संकलन गरेको थियो ।

रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक ८ प्रतिशत व्याज दिनुपर्ने प्रावधानबमोजिम शेयरधनीले प्रतिकित्ता ३ रुपैयाँ व्याज प्राप्त गर्ने हुँदा हाल प्रतिकित्ता ८७ रुपैयाँमात्र जम्मा गरे हुने कम्पनीले जनाएको छ ।

आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सीडीएस एण्ड क्लिरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो शेयर’ सफ्टवेयरबाट समेत शेयरधनीहरुले रकम बुझाउन/आवेदन दिन सक्नेछन् । शेयरधनीहरुले यसरी रकम भुक्तानी गर्दा आश्वा शुल्कसमेत तिर्नुपर्ने छैन । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लि. रहेको छ ।

कम्पनीले रसुवा र नुवाकोटमा ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक शेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटवासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत शेयर रहनेछ ।

आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको व्याजबाहेक ७ अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ । निर्माण अवधिको ब्याज ७८ करोड १७ लाख ९३ हजारसहित आयोजनाको कुल लागत ८ अर्ब २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको । निर्माण अवधिको ब्याजबाहेकको आयोजनाको अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रुपैयाँमध्ये ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *