विश्वकपमा स्वारेज- हातले बल रोके, विपक्षी खेलाडीलाई टोके
उरुग्वे । कम्तीमा अफ्रिकी फुटबल प्रेमीले लुइस स्वारेजलाई कहिल्यै भुल्ने छैनन् । सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजना भएको विश्वकपमा स्वारेज नै थिए जसले पहिलो पटक सेमिफाइनल पुग्नै आँटेको अफ्रिकालाई रोके ।
त्यति बेला घाना क्वाटर फाइनलमा उरुग्वेसँग प्रतिस्पर्धा गर्दै थियो । निर्धारित समयको खेल बराबरीमा सकिएर अतिरिक्त समय पुरा हुन पनि केही सेकेन्ड मात्र बाँकी रहँदा खेल हेरिरहेका दर्शकले टाइब्रेकरको मनस्थिति बनाइसकेका थिए । फाइनलको सिटी बज्नै लाग्दा घानाका स्टेभन अपियाले प्रहार गरेको बलले उरुग्वेका गोलरक्षकलाई बिट गरिसकेको थियो । यस्तो अवस्थामा घानाका खेलाडीहरू सेमिफाइनल पुगेको खुसीयाली मनाउन तयार हुँदै थिए ।
स्ट्राइकर स्वारेजले पेनाल्टीको जोखिम लिँदै गोल लाइनबाट हातले बल क्लियर गरिदिए । आफूले सोझै रेड कार्ड पाएर मैदानबाहिर हुने जोखिम मोल्न उनी तयार भए । नभन्दै स्वारेजलाई सोझै रेड कार्ड दिइयो । त्यसपछि घानाले पेनाल्टी पायो । घानाका आसामोहा ज्ञानको पेनाल्टी प्रहार क्रसबारमा लागेर फर्कियो । टाइब्रेकर उरुग्वेकै पक्षमा गयो र ३–२ गोलले विजयी भएर सेमिफाइनल पुग्यो ।
स्वारेजले उक्त ह्यान्ड बल क्लियरेन्सलाई ‘सेभ अफ दी टुर्नामेन्ट’ भने । घानाका प्रशिक्षक मिलोभान राजेभाचले स्वारेजले अन्याय गरेको अभिव्यक्ति दिए । स्वारेज भन्छन्, ‘मलाई लाग्छ, त्यो सुझबुझपूर्ण निर्णय थियो । त्यो अवस्थामा हरेक खेलाडीले मैलेजस्तै गर्ने थिए ।’
त्यस बेला आफूमा स्पोर्टसम्यानसिपको अभाव भएको आरोप पनि उनी खण्डन गर्छन् । यदी त्यो गलत हो भने कुनै खेलाडीले गोल गर्न लाग्दा पछाडिबाट ट्याकल गरेर घाइते बनाउनु पनि उत्तिकै खराब भएको उनको तर्क छ ।
त्यति बेला घाना दोस्रो पटक मात्र विश्वकप खेल्दै थियो । पहिलो पटक उसले सन् २००६ को जर्मनी विश्वकप खेलेको थियो । अफ्रिकी टोलीका रूपमा क्यामरुन पहिलो पटक क्वार्टर फाइनलसम्म पुगेको थियो । सन् १९९० को विश्वकपमा अतिरिक्त समयमा क्यामरुनलाई ३–२ गोलले पराजित गरेर इङ्गल्यान्ड सेमिफाइनल पुगेको थियो । त्यसपछि सेनेगल २००२ को विश्वकपमा क्वार्टर फाइनल पुग्यो । यस पटक पनि अतिरिक्त समयमा पराजित भएर अफ्रिकी टोली सेमिफाइनल पुग्न सकेन । टर्कीले सेनेगललाई १–० गोलले हराएर सेमिफाइनलमा स्थान बनायो ।
घानापछि कुनै पनि अफ्रिकी टोली फेरी विश्वकपको क्वार्टर फाइनलसम्म पनि पुग्न सकेका छैनन् । घरेलु महादेशमा आयोजना भएको विश्वकपमा घानाले बेहोरेको त्यो ‘ब्याड लक’ फुटबलमा हुने दुर्लभ घटना हो । युरोपियन क्लब फुटबलमा आएर सामुयल इटो, याया टाउरे, डिडियर ड्रोग्बादेखि पछिल्लो समयका सेडियो माने, मोहम्मद सलाह र रियाद माहरेजजस्ता अफ्रिकी खेलाडीहरू चम्किए पनि उनीहरुका देशले भने विश्वकपमा अपेक्षित सफलता हात पार्न सकेका छैनन् ।
स्वारेज भने त्यसपछि पनि विवादबाहिर रहेनन् । डच क्लब आयाक्सका लागि खेल्नेक्रममा विपक्षी खेलाडीलाई टोकेपछि उनलाई ६ खेलको प्रतिबन्ध लाग्यो । इङ्लिस प्रिमियर लिग फुटबलको खेल दौरान उनले चेल्सीका ब्रानिस्लभा इभानोभिचलाई पनि टोके । जानीजानी टोकेको भन्दै उनलाई इङ्लिस फुटबल संघले १० खेलको प्रतिबन्ध लगाएको थियो ।
उनको टोकाई त्यतिमै सीमित भएन । सन् २०१४ को विश्वकपअन्तर्गत समूहगत चरणको अन्तिम खेलमा इटालीका डिफेन्डर चर्जियो केलिनीलाई डी बक्सभित्र उनले टोके । त्यसपछि स्वारेजलाई विश्व फुटबल महासंघले चार महिना प्रतिबन्ध लगाएको थियो । दोस्रो चरणमा स्वारेजबिनै खेल्न वाध्य उरुग्वेले कोलम्बियासँग २–० गोलको पराजय बेहोरेर बाहिरियो ।
सन् २०१८ मा आयोजित अघिल्लो विश्वकपमा उरुग्वे क्वाटर फाइनलसम्म पुगेको थियो । त्यति बेला फ्रान्सले जो पछि प्रतियोगिताको विजेता बन्यो, उरुग्वेलाई २–० गोलले हरायो । तत्कालीन युरोपियन च्याम्पियन पोर्चुगललाई दोस्रो चरणमा हराएर उरुग्वे अन्तिम ८ मा पुगेको थियो ।
आगामी महिना कतारमा हुने विश्वकपमा भने उरुग्वे सहभागी हुँदै । यस पटक उरुग्वेले महादेशीय छनोटमा तेस्रो स्थानमा रहेर विश्वकप यात्रा तय गरेको हो। ३५ वर्षीय स्वारेजको यो अन्तिम विश्वकप हुने पक्का छ। ३५ वर्षीय स्वारेजले सम्भवतः अर्को विश्वकपअघि नै खेलाडी जीवनबाटै संन्यास लिनेछन् । पेनाल्टी पाउनका लागि डिबक्समा लड्ने, शरीरमा चोट लागेको नाटक गर्नेजस्ता निरन्तर ऊनीमाथि लाग्ने आरोपहरू विश्वकपमा दोहोरिने हो या होइन, फुटबल प्रेमीका लागि साक्षी बन्न पाउने अन्तिम अवसर हो यो।
उरुग्वेका महान् खेलाडी
उरुग्वे विश्वकप फुटबलको एक ऐतिहासिक टोली हो । सन् १९३० मा आयोजना भएको पहिलो विश्वकप नै उरुग्वेले जितेको थियो । त्यसपछि विश्वयुद्धका कारण रोकिएर पहिलो पटक सन् १९५० मा आयोजना भएको चौथो संस्करणको उपाधि पनि उरुग्वेकै कब्जामा गयो ।
उल्लेखनीय के छ भने पहिलो विश्वकप जितेपछि आयोजना भएका विश्वयुद्धअघिका दुई संस्करण भने उरुग्वेले खेल्न अस्वीकार गर्दै सहभागी भएन । आफ्नो मैदानमा भएको पहिलो विश्वकप खेल्न केही युरोपेली देशले अस्वीकार गरेको भन्दै त्यसको बदलामा इटालीमा भएको दोस्रो र फ्रान्समा भएको तेस्रो विश्वकप खेल्न उरुग्वेले अस्वीकार गरेको थियो ।
दोस्रो पटक विश्व च्याम्पियन भएयता उरुग्वेले विश्वकपमा उपाधिको कुरै छाडौँ उपाधिको भिडन्तसमेत गर्न सकेको छैन । तर स्वारेजहरुको पुस्ताले उरुग्वे फुटबलको अनुहार चाहिँ फेर्न सफल भयो । १२ वर्षपछि सन् २००२ को विश्वकपमा छनोट भएको उरुग्वे त्यति बेला समूहगत चरणबाटै बाहिरिएको थियो ।
सन् २००६ को विश्वकपमा भने उरुग्वे छनोट नै हुन सकेन । दक्षिण अमेरिकी महादेशको छनोटमा पाँचौँ भएर इन्टर कन्टिनेन्टल प्ले अफ खेल्न पाएको उसले विश्वकपमा स्थान बनाउन अष्ट्रेलियालाई हराउनुपर्ने थियो । पहिलो लेग १–० गोलले जिते भने पनि दोस्रो लेगको निर्धारित समयमा अष्ट्रेलिया १–० गोलले अगाडि भएपछि टाइब्रेकरमा पुगेको थियो । पेनाल्टी सुट आउटको ‘लक’ उरुग्वेको पक्षमा रहेन ।
उसले विश्वकप खेल्न थप चार वर्ष कुर्नुपर्ने भयो । यही निराशाबिच सन् २००७ मा स्वारेजले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । त्यसको एक वर्षपछि एडिन्सन काभानी पनि राष्ट्रिय टोलीमा भित्रिए । डीएगो फोर्लान चम्किरहेको त्यस समयमा स्वारेज र काभानीको उपस्थितिले उरुग्वे अझ बलियो बन्यो ।
डिएगो गोडिनजस्ता पर्खाल उनीहरूको रक्षापंक्तिमा थिए । तर सन् २०१० को विश्वकपमा पनि उरुग्वेलाई छनोट हुन भने कम्ता गाह्रो भएन । इन्टरकन्टिनेन्टल प्ले अफमा कोस्टारिकालाई हराउँदै उरुग्वेले विश्वकप खेलेको थियो । त्यस विश्वकपको सर्वोत्कृष्ट खेलाडी अवार्डका रूपमा गोल्डेन बल फोर्लानलाई दिइएको थियो । त्यसको अर्को वर्ष उरुग्वेले महादेशीय च्याम्पियनसिप कोपा अमेरिका जित्यो ।
स्वारेज प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए । उरुग्वेले १६ वर्षपछि कोपा अमेरिका जितेको थियो । त्यसयता स्वारेज व्यक्तिगत रुपमा अत्यधिक चम्किए । सन् २०१३÷१४ मा उनी लिभरपुल र इङ्लिस प्रिमियर लिगका सर्वोत्कृष्ट खेलाडी चुनिए । युरोपका घरेलु लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई दिइने ‘युरोपियन गोल्डेन जुत्ता’ उनले दुई पटक जितेका छन् । सन् २०१३÷१४ सिजनमा लिभरपुलका लागि उनले घरेलु लिगमा ३१ गोल गर्दा त्यो सिजन उक्त संख्या युरोपका घरेलु लिगकै रेकर्ड बनेको थियो ।
सन् २०१४ को विश्वकपमा भएको टोकाइका कारण लिभरपुलले स्वारेजलाई निकाल्ने निर्णयमा पुगेको अवस्थामा बार्सिलोनाले उनलाई भित्र्याएको थियो । त्यसपछि बार्सिलोनामा बनेको थियो ‘एमएसएन कम्बिनेसन’ । लियोनल मेस्सी, लुइस स्वारेज र नेमारको उक्त कम्बिनेसनले बार्सिलोना पहिलो सिजनमै घरेलु लिग र युरोपियन च्याम्पियन्स लिग दुवै जित्न सफल भएको थियो । मेस्सी र क्रिस्टियानो रोनाल्डोको दबदबा रहेको ला लिगामा स्वारेज सन् २०१५÷१६ सिजन सर्वाधिक गोलकर्ता मात्र बनेनन्, युरोपियन गोल्डेन जुत्ता पनि जित्न सफल भए ।
त्यस सिजन स्वारेजलाई ला लिगाको सर्वोत्कृष्ट खेलाडी अवार्ड पनि दिइएको थियो । दुई सिजनयता स्वारेज अर्को स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा छन् । त्यहाँ पनि उनले घरेलु लिगको उपाधि जितेका छन् । स्वारेजले १७ वर्ष लामो आफ्नो प्रिमियर क्लब करियरमा ७ सय ७२ खेल खेल्दै ४ सय ५६ गोल गरेका छन् । उनले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा ६८ गोल गरेका छन् ।
स्वारेज उरुग्वेका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । अर्जेन्टिनी गाब्रियल बाटिस्टुटालाई आफ्नो आदर्श मान्ने स्वारेज आधुनिक फुटबलका जबर्जस्त स्ट्राइकर भए पनि उनी रोनाल्डो र मेस्सीको छायाँमा परेको टिप्पणी पनि हुने गरेको छ ।