आधारभूत तालिम पुरा गरेका नेपाल प्रहरीका १४६ जना इन्सपेक्टरलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नेपाल प्रहरीको पोष्ट ग्याजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको प्रहरी निरीक्षक (इन्सपेक्टर)को आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ । १४ महिलासहित जम्मा १४६ जना प्रहरी निरीक्षक सहभागी आधारभूत तालिम २०७८ साउन १३ गतेबाट त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन भएको हो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आइतबार आयोजित विशेष समारोहबीच प्रतिष्ठानमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १–८१औं (पोष्ट ग्याजुएट डिप्लोमा इन पुलिस साइन्स १२औं) समूहको दीक्षान्त समारोहकाविच दीक्षित प्रहरी निरीक्षकलाई आ-आफ्ना अभिभावकले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
समारोहमा गृहमन्त्री बालकृष्ण खाणले तालिममा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक कैलाश लिम्बुलाई स्वर्गीय कुलानन्द स्मृति पुरस्कार प्रदान गरेका हुन् । साथै उनले सर्वद्वितीय प्रशिक्षार्थी प्रहरी निरीक्षक आदर्श गिरी, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षक आशिस पोखरेल, अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारी, कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक अभय लामा, मस्केट्री तथा चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक पूर्णबहादुर केसी र शारीरिक व्यायाम र प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक सनम मल्ललाई पुरस्कार प्रदान गर्नुका साथै उत्कृष्ट प्रशिक्षकलाईसमेत पुरस्कार प्रदान गरेका छन् ।
समारोहमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) सहकुलबहादुर थापाले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीलाई सपथ ग्रहण गराएका थिए । प्रशिक्षार्थीले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत बिद्यालयद्वारा सांगितीक धुन प्रस्तुत गरिएको थियो ।
समारोहमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन सह–प्रा.डा. हरिप्रसाद अधिकारी, महान्यायधिवक्ता खम्मबहादुर खाती, गृहसचिव विनोदप्रकाश सिंहका साथै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, पूर्व प्रहरी महानिरीक्षक, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा समादेशक, नेपाली सेना तथा सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृत, प्रहरी नायव महानिरीक्षकह तथा वरिष्ठ अधिकृत, प्रशिक्षार्थीका अभिभावक तथा अन्य व्यक्ति सहभागि थिए ।