गणेशमान सिंहलाई भगाउने र आङ थार्केलाई जोगाउने महान कुकुरहरू ! – Nepal Press
सन्दर्भः कुकुर तिहार

गणेशमान सिंहलाई भगाउने र आङ थार्केलाई जोगाउने महान कुकुरहरू !

इटहरी । आज कुकुर तिहार । कुकुरलाई पूजा गर्ने दिन । नेपालमा कुकुरलाई सकारात्मक र नकारात्मक दुवै अर्थमा मान्छेले प्रयोग गर्छन् । कुकुरलाई भान्साकोठामै छिराउनेदेखि घरमा समेत नराख्नेसम्मका जमात नेपालमा छन् । सुरक्षा निकायले अनुसन्धान गर्न प्रयोग गर्नेदेखि घर तथा भेडाबाख्रा हेरालुसम्ममा कुकुरलाई प्रयोग गर्ने चलन छ ।

नेपाल पञ्चाङ निर्णयक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार यमलोकको ढोकामै बस्ने ‘श्याम’ र ‘सबल’ भन्ने दुई कुकुरको कारणले कुकुरलाई यमदूतसमेत भन्ने चलन छ । नेपालको यही वैदिक सनातनी मान्यताका कोणमा हुने कुकुर तिहारको प्रसंगलाई विश्वभर ब्रान्ड गर्न काठमाडौंका मेयर बालेन्द्र शाह बालेनले प्रस्तावसमेत गरेका छन् । उनले यो कुरा फ्रान्सेली राजदूतसँग पनि भेटेर गरेका थिए ।

कुकुर तिहारको दिन आज यहाँ महान नेपाली क्रान्ति योद्धा गणेशमान सिंहलाई भगाउने र महान नेपाली आरोही आङ थार्केलाई जोगाउने दुई महान कुकुरको चर्चा गरिएको छ ।

जेलबाट फुत्केपछि सिंहलाई भगाउन सहयोग गर्ने कुकुरहरु

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालका दाइ तथा चार सहिदमध्ये एक गंगालालले राजनीतिमा ल्याएका थिए गणेशमान सिंहलाई । सिंह सन् १९९७ मा नेपाल प्रजा परिषद्को नेताको रुपमा पक्राउ परेर जेल परेका थिए । तर, सिंह २००१ मा जेल तोडेर भाग्न सफल भएका थिए । पूर्णबहादुर एमए र चन्द्रमान कम्पाउन्डरको सहयोगमा सिंह काठमाडौंको भद्रगोल जेल तोडेर भागेका थिए ।

क्रमशः ६ फिटे, १२ फिटे र २४ फिटे पर्खाल हुँदै विद्युत भएको तारसमेत नाघेर २००१ को माघको औंशीको रात सिंह भाग्न सफल भएका थिए । राणकालका बढाकाजी रत्नमान सिंहका नाति भएर पनि राणाविरुद्ध लागेको चर्चा पाएका सिंहले जेल तोडेर भागेपछि थप चर्चा पाएका थिए ।

जेल तोडेर भारततर्फ भाग्दा सिंहलाई अरु ठाउँका कुकुरहरुले तनाव दिए । तर, आफ्ना ठाउँका कुकुरहरुले उनलाई माया गरेर भगाउन सहयोग गरे । सिंहसँग लामो संगत गरेका तथा उनको जीवनी ‘लौहपुरुष’ लेखेका घनेन्द्रपुरुष ढकालले गणेशमान सिंहले आफ्ना टोलका कुकुरलाई ज्यादै प्रेम गर्ने र टोलका कुकुरले पनि उनलाई ज्यादै माया गर्ने लेखेका छन् ।

उनी लेख्छन्, ‘२००१ सालमा गणेशमानजी जेलबाट भागेर भारत जाने क्रममा आफ्नै घरटोलको बाटो भएर जान खोज्नुभएथ्यो । तर, अरु टोलका कुकुरहरुले उहाँलाई बाटो छेकेर ढिम्किन दिएनन् । गणेशमानजीले धेरै प्रयत्न गर्नुभयो । तर, विफल हुनुभयो । अनायास उहाँको आफ्नै टोल याट्खाका एक हुल कुकुरहरु गणेशमान भए ठाउँ आए र अरु कुकुरहरुसँग झगडा गरेर गणेशमानको उद्धार गरे ।’

आफ्नो ज्यान दिएर आङ थार्केलाई जोगाउने तिब्बती कुकुर

आङ थार्के महान नेपाली आरोही हुन् । सन् १९५० जुन ३ मा अन्नपूर्ण हिमाल आरोहण गर्दाको फ्रान्सेली टोलीका सरदार थिए थार्के । अन्नपूर्ण आरोहण दुनियाँका १४ अग्ला आठ हजार मिटरभन्दा अग्ला चुचुराहरुमा भएको पहिलो आरोहण थियो । उनै सरदार थार्केलाई एक तिब्बती कुकुरले बचाएको थियो ।

एक आरोहणको क्रममा थार्के तिब्बत गएका थिए । उनलाई तिब्बती एक आकर्षक कुकुरले पच्छ्यायो । कुकुर थार्केको पाल बाहिर आएर बस्न थाल्यो । उनको नाम चिन्न थाल्यो । कसैले उनको नाम लिएमा कान हल्लाउँथ्यो कुकुर । कतिसम्म भने हिमाल चढ्न थार्केले पाल छोड्दा कुकुर पनि छोड्थ्यो । उनी पालमा सुत्दा कुकुर पालको मुखमा गार्ड जस्तो भएर बस्थ्यो । थार्केलाई कुकुरको यो स्केलको माया देखेर आरोहण दलका अरु सदस्यहरुले कुकुरलाई थार्केको ‘छायाँ’ भन्न थाले ।

थार्केले टोगो नाम दिएको कुकुर बडो ज्याङ्गो थियो । एकदिन आरोहणकै क्रममा हिम पहिरो गयो । पहिरोमा परेर थार्केको खुट्टा चिप्लियो । हातमा बल नभएको जस्तो भयो । अचानक कुनै बलियो कुराले हात अँट्याएपछि बलियो भएका थार्केले बल्ल खुट्टामा अडिने तागत पाए । उनले हिउँमा पुरिएका दुई आरोही तान्ने बल पनि पाए । हात अड्याउने को हो भनेर खोज्दा थार्केले टोगो भएको देखे ।

तर, थार्केलाई जोगाएको टोगो आफै भने जोगिन सकेन । टोगोको गुणलाई थार्केले बिर्सेनन् । उनको आत्मकथा ‘शेर्पाः द मिमोएर अफ आङ थार्के’मा समेत उनले टोगो कुकुरको प्रसंग ल्याएका छन् ।


प्रतिक्रिया

One thought on “गणेशमान सिंहलाई भगाउने र आङ थार्केलाई जोगाउने महान कुकुरहरू !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर