कमल थापालाई भोट माग्न मैदानमा खटिए कृष्ण दाहाल
हेटौंडा । प्रतिनिधि तथा प्रदेशसभा उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्ने दिन असोज २३ गते बिहान ८ः३० बजे तत्कालीन मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद कृष्णप्रसाद दाहालको एउटा स्टाटस फेसबुकमार्फत सार्वजनिक भयो । दाहालले लेखेका थिए, ‘ कहिलेकाहीँ परिस्थिति प्रतिकूल हुन्छ । त्यसको सामना गर्नुपर्छ र सकिन्छ । तर, अनुकूल परिस्थिलाइ प्रतिकूल बनाउने निर्णयप्रति खेद छ । सन्दर्भ- आधिकारिक निर्णय कमरेड रामेश्वर राना आधिकारिकता अर्कैलाई ।’
एमालेको उम्मेदवार कमल थापा ‘फाइनल’ भएपछि मकवानपुरे राजनीतिमा देखिएको हलचलको क्रममा दाहालको स्टाटस सार्वजनिक भएसँगै टिकट पाएपनि थापालाई मकवानपुर एमालेको साथ पाउन समस्या हुने अनुमान थियो । दाहालको स्टाटस मात्र हैन टिकट खोसिएका राना पनि रुष्ट थिए भने केही पार्टी कार्याकर्ताले पार्टी कार्यालयमा तालाबन्दीसमेत गरेका थिए ।
थापाले उम्मेदवारी दर्ता गरेर आएसँगै बिस्तारै एमाले नेता तथा कार्यकर्ताहरुले ‘सुर्य’ को कारण देखाउँदै थापालाई सघाउन सकिन्छ भन्ने सन्देशसहितको भनाईहरु सामजिक सञ्जालमार्फत सार्वजनिक गरे भने करिब एक हप्तापछि उनै थापालाई जिताउन टिकट खोसिएका एमाले केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्जसमेत रहेका रामेश्वर रानाले आग्रह मात्र गरेनन् थापालाई जिताउने जिम्मा आफैं लिने घोषणा पनि गरे । उनले कार्यकताहरुलाई सूर्यवाहक उम्मेदवारलाई हार्न छुट नभएको समेत बताए ।
रानासहित मकवानपुरका अन्य नेताहरु थापाको पक्षमा खुलिसकेको अवस्थामा उनका सदाबाहर प्रतिस्पर्धी दाहाल भने अझै पनि कार्यक्रममा देखा परेका थिएनन् । थापाको कार्यक्रममा दाहालको अनुपस्थितिले अझैपनि केही शंका गर्ने ठाउँ बन्दै गएको थियो । दाहाल उपस्थित नहुँदा थापालाई असर पर्ने त हैन भन्ने बहस पनि भएका थिए ।
तर कात्तिक ६ गते पूर्वी मकवानपुरको वागमती गाउँपालिकामा भएको चुनावी सभामा थापा र दाहाल एउटै मञ्चमा देखिए । पुराना तथा सदाबाहर प्रतिस्पर्धीलाई एउटै मञ्चमा देख्दा केही कार्यकर्ताहरु अनौठो मानेर बसेका पनि थिए । २०४८ सालको आम चुनावबाट २०७४ सालको प्रतिनिधिसभा निर्वाचनसम्म प्रमुख प्रतिस्पर्धी रहेका थापा र दाहाल एउटै मञ्चमा उभिएर एकअर्काको साथ रहेको सन्देश दिएका थिए ।
२०४८, २०५६ र २०७४ मा उनै थापालाई पराजित गरेका दाहालले यो पटक थापालाई कुनैपनि हालतमा जिताउन कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘हाम्रो समाजमा अतिथि देव भव’ भन्ने चलन छ । हामीले हाम्रो घरमा आएका पाहुनाको सहयोग र सत्कारमा कमि गर्नु हुन्न तसर्थ यो पटक सुर्यबाहक कमल थापालाई जिताउनुको बिकल्प छैन् ।’
थापाले गलत दिशालाई भुलेर सही गन्तव्यमा आइपुगेको भन्दै दाहालले एमालेबाट उम्मेदवार बनेका उम्मेदवारहरुलाई विजयी गराउनु आफूहरुको दायित्व भएको उल्लेख गरे । एमालेका उम्मेदवारलाई विजयी गराउनु पार्टी नेताहरुको दायित्व रहेको भन्दै एमाले वागमती प्रदेश कमिटी सदस्य देवराज रिमालले दाहालको उपस्थितिले एमाले कार्यकर्ताहरुमा थप उर्जा मिलेको बताए । दाहालले अतिथि देव भवको अर्थलाई बुझाएको बताउँदै रिमालले थापाले जित्नु एमालेको जित भएको उल्लेख गरे ।
कार्यक्रममा थापाले पनि एमालेको चुनाव चिन्हबाट निर्वाचन लड्न पाउनु आफ्नो लागि गौरवको विषय भएको भन्दै राष्ट्रवादी शक्तिहरु एक भएर देशमा रहेको अन्तराष्ट्रिय हस्तक्षेपलाई हराउने बेला आएको बताए ।
पार्टीका ईमानदार सिपाहीहरूलाई लालसलाम ।