को हुन् पम्फा भुसालका प्रतिस्पर्धी एमालेका अमृत ?
ललितपुर । ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालको प्रमुख प्रतिस्पर्धी छन् एमालेका अमृत खड्का । ललितपुर- ३ मा २४ हजार ३६ मत ल्याएर अघिल्लो चुनावमा विजयी भुसाललाई अहिले कांग्रेसको भर देखिन्छ ।
उनले कांग्रेसका मदनबहादुर अमात्यलाई हराएकी थिइन् । अहिले उनीविरूद्ध एमालेले अमृत खड्कालाई अघि बढाएको छ । तर, एमालेको उम्मेदवार खड्का हाइ प्रोफाइल नभए पनि स्थानीयस्तरमा भिजेका नेता हुन् ।
माओवादीका सोही क्षेत्रका जिल्ला सहइन्चार्ज सरोज डंगोल, हालै ललितपुर उपमहानगरको उपमेयरमा गठबन्धनबाट हारेका बाबुराजा बज्राचार्यसहित माओवादीको ठूलै टीम एमाले प्रवेश गरेकाले पनि पम्फालाई चुनौती थपिएको छ ।
२०३० सालमा जन्मिएका अमृत यहाँका स्थानीय हुन् भने पम्फा अर्घाखाचीकी हुन् । । सैँबुको नामले परिचित यो क्षेत्र सहर बढ्दै जाँदा भैँसेपाटीबाट परिचित छ ।
‘मल्लकालमा पाल्पाबाट आएको रहेछ हाम्रो पुर्खा । मगर र खड्कालाई सँगै ल्याइएको रहेछ यहाँ । नैकाप र भैसीपाटीमा मगर र खड्काको टोल नै छ’, अमृत सुनाउँछन् ।
२०४६ को जनआन्दोलनमा उनी घाइते भए । २०५४ सालमा २३ वर्षकै उमेरमा उनी पाटनदेखि पारि, खोकनादेखि वर सैंबु गाविस अर्थात् भैँसेपाटीको अध्यक्ष पदमा एमालेबाट निर्वाचित भए । जिल्ला विकास समिति एमालेले जित्यो । सुन्दर, शान्त र ‘भीआईपी’ हरूको हब बनेको भैँसेपाटी सहरमा बस्ती बसाउने विषयमा फरक मत राख्दा उनी राजनीतिक पेलानमा परे । काम गर्ने वातावरण नहुँदा पनि उनले जनताको पक्ष छाडेनन् ।
‘मेरो राजनीतिक यात्रामा धेरै उतारचढाब आए । म हरेस खाइनँ । बरु मेरो अध्ययन, अनुसन्धान, व्यवसाय गर्ने अर्को उर्जा हासिल गरेँ । समाज सेवासागै राजनीतिक यात्रामा निरन्तर लागेँ । लो प्रोफाइलबाटै काम गर्न रुचाउँछु म त्यही भएर २२ वर्षपछि फेरि जनताबीच उपस्थित भएकाे छु’, उनी भन्छन् ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई सार्थक बनाउन आफूहरू जस्तै युवाहरूलाई पार्टीले अघि सारेको भन्दै उनले ललितपुर-३ का आम मतदाताले साथ दिनेमा ढुक्क भएको बताए ।
अमृत यतिखेर २२ वटा वडामा फैलिएको आफ्नो क्षेत्रका मतदातामाझ गइरहेका छन् । ‘मैले आजलाई होइन भोलिसम्मको भिजन मतदातासँग राखेको छु’, उनी भन्छन्, ‘गर्न सक्ने र हुन सक्ने भिजन मसँग भएकाले मतदाता असाध्यै खुशी छन् ।’
अन्तर्राष्ट्रिय बजारमा भेडाको ऊनबाट बनेका वस्तुहरू निर्यातमा उनको लामो समयको अनुभव छ ।
‘हस्तकला र वस्तुकलाको मूल कालिगड भएको हो मेरो क्षेत्र । यहाँ उत्पादन भएका हस्तकला र वस्तुकलाले अन्तर्राष्ट्रिय बजारमा एकक्षत्र छ । तर, व्यवस्थित हुन सकेको छैन । अबका दिनमा योजनासहित यसलाई व्यवस्थित गर्दैछु’, आफ्नो योजना सुनाउँदै उनले भने ।
नीति, ऐन, कानूनका कारण हस्तकला, वास्तुकला लोप हुँदै गएको उनी बताउँछन् ।
‘अहिलेसम्मको अध्ययन, अनुसन्धान र मैले व्यवहारिक रूपमा गरेको कामले गर्न सकिन्छ भन्ने आँटमा ममा छ’, किसान हुँदाको अनुभव सुनाउँदै उनी भन्छन्, ‘खेती किसान गर्ने मान्छे निजी गाडी चढ्न सक्दैनन् । तर, मेरो भिजनले सबैलाई निजी गाडी चढ्ने बनाउँछु भन्ने हो ।’
स्थानीय हुनु,जनप्रतिनिधिको अनुभव लिइसक्नु,माओवादी पंक्ति लगातार ठूला नेतासहित एमालेमा समाहित भइरहनु र पम्फा भुसालप्रति स्थानीयका गुनासा तथा नेपाली कांग्रेस जम्मा एउटा प्रदेश सभा सीटमा खुम्चिनुका कारण उत्पन्न असन्तुष्टिका कारण ललितपुर ३ मा लो प्रोफाइल नेता अमृत खड्का हाइ प्रोफाइल बहालवाला मन्त्री पम्फा भुसालमाथि चुनावी अभियानका क्रममा हाबी भइरहेका छन् ।