शंकर पोखरेललाई मुख्यमन्त्री हटाउन एमाले छाडेका पूर्व सांसद दृघनारायणलाई किन भित्र्यायो एमालेले ?
रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई लुम्बिनी प्रदेशको तत्कालीन समयमा मुख्यमन्त्रीबाट हटाउन प्रमुख भूमिका खेलेका कपिलवस्तुका दृघनारायण पाण्डेलाई नेकपा एमालेले डेढ वर्षमै पुनः स्वागत गरेको छ । सोमबार एमाले प्रवेश गरेका पाण्डेले विगतमा गरेको गलत निर्णयको पश्चताप गर्दै फर्किएको दाबी गरेका छन् ।
२०७४ सालको निर्वाचनअघि नेपाली कांग्रेसबाट उम्मेदवारी नपाएपछि एमाले प्रवेश गरेर उनले निर्वाचन जितेका थिए । लुम्बिनी प्रदेशसभामा कपिलवस्तु क्षेत्र नं २ को १ बाट निर्वाचित पाण्डे लुम्बिनी प्रदेशसभामा एमालेको कोटामा सामाजिक विकास समिति सभापति बनेका थिए ।
उनले विकास समितिको सभापति पाउँदा नेकपा एमालेमा लामो समय एमालेमा रहेर सोही जिल्लाबाट प्रदेशसभामा निर्वाचित विष्णु पन्थीलाई अवसर नदिइएको भन्दै आलोचना भएको थियो ।
तर तीन वर्षपछि उनै नेता पाण्डेले आश्चर्यजनक रुपमा सांसदबाट मात्रै राजीनामा दिएनन् नेकपा एमालेसमेत छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले तत्कालीन सांसद पाण्डेले ठूलो रकमसहित बार्गेनिङ गरेर एमाले छाडेको गम्भीर आरोप लगाएका थिए । उनी राष्ट्रिय सभामा जान पाउने सर्तमा राजीनामा दिएका थिए ।
कस्तो अवस्था धोका दिएका पाण्डेले शंकरलाई
नेकपाको औपचारिक विभाजनपछि उनको राजीनामाले तत्कालीन अवस्थामा मुख्यमन्त्री सम्हालेका एमाले नेता शंकर पोखरेललाई संकटमा पुराएको थियो ।
नेकपाको औपचारिक विभाजनपछि बहुमतमा रहेको पोखरेल नेतृत्वको सरकारलाई माओवादीले समर्थन फिर्ता लियो । ८७ सदस्य लुम्बिनी प्रदेशसभामा एमालेका ४२ र माओवादी १९ गरी ६१ सांसदको समर्थन थियो। माओवादीका दुई सांसद दधिराम न्यौपाने र दिनेश पन्थीले एमाले रोजेपछि माओवादीले उनीहरू दुवै जनालाई सांसदबाट तत्काल हटायो र ८५ सदस्य प्रदेश सभा बनेको थियो ।
एमाले नेतृत्वको सरकारलाई यस्तो संकट परेको समयमा कपिलवस्तुका पाण्डे राजीनामा दिएर कांग्रेसतिर लागे भने दाङका अमरबहादुर डाँगी पनि सांसदबाट राजीनामा दिएर एमाले छाडेका थिए ।
डाँगी त्यसपछि मुख्यमन्त्री बनेका मुख्यमन्त्री कुलप्रसाद केसीको राजनीतिक सल्लाहकार बनेका छन् । पाण्डे र डाँगीको राजीनामापछि एमालेको सूर्य चिन्हबाट नवलपरासीबाट निर्वाचित अजय शाही र दाङबाट निर्वाचित विमला वलीले एमालेको साथ छोडेपछि एमालेलाई थप संकटमा पुराएको थियो ।
यो संकटको सुरुवात उनै पाण्डेबाट भएको थियो । दृघनारायण भने त्यसपछिको केही समयमा राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धन दलबाट नेपाली कांग्रेसको कोटामा निर्वाचित बनेका थिए । माओवादीबाट निर्वाचित अर्घाखाँचीका चन्द्रबहादुर खड्काले एमाले रोजेपछि माओवादीले उनलाई कारबाही गरेर सो ठाउँ खाली रहेको थियो ।
उपनिर्वाचनमा पाण्डेलाई सोही स्थान दिने सर्तमा एमाले छोडाइएको थियो । सो पदमा पाण्डे निर्वाचित भएपनि त्यसको कार्यकाल ६ महिना मात्रै रहेको थियो ।
यो बीचमा उनले त्यो कार्यकाल पनि पूरा गरे । अहिलेको निर्वाचनअघि उनी पुनः प्रदेश सभामा जान इच्छुक रहेको धारणा नेपाली कांग्रेसमा राखिरहेका थिए र पत्रकारहरूलाई पनि भनिरहेका थिए । पार्टीलाई संकटको बेला साथ दिएको हुँ, म पुनः उम्मेदवार हुने हो, उनले भनेका थिए । तर पटक पटक पार्टी फेरेर अवसर लिइरहेको भन्दै कांग्रेसले उनलाई टिकट दिएन । उनै पाण्डे सोमबार पुनः एमाले प्रवेश गरेका छन् ।
विगतमा एमाले छाडेर गलत निर्णय भएको मैले महसुस गरेँ, अब एमालेबाहेक कसैले मुलुकलाई निकास दिन सक्दैन, अब बाँकी जीवन पुनः एमालेमा समर्पण गर्नेछु, पार्टीले जे जिम्मेवारी दिन्छ भूमिका पूरा गर्नेछु- पाण्डेले भनेका छन् । कपिलवस्तुका एमाले नेता विष्णु पन्थीले पाण्डेलाई सोमबार पार्टी प्रवेश गराइएको र अहिले केही जिम्मेवारी वा शर्त नभएको बताए ।
कपिलवस्तुमा यो निर्वाचनअघि अन्य पार्टी छोडेर आउनेको ठूलो समूह नै बनेको छ । तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई प्रतिनिधि सभा र ४ प्रदेशसभा सदस्य केही समयमा उम्मेदवार अहिले नै एमालेमा प्रवेश गरेकाहरूले पाएका छन् ।
क्षेत्र नं २ मा बृजेशकुमार गुप्ता र ३ मा मंगलप्रसाद गुप्ता नवप्रवेशिका रूपमा प्रतिनिधिसभामा उम्मेदवार छन् । तराई मधेसमा बलियो पकट भएका उनीहरूले एमाले रोजेपछि जिल्लामा अन्य पार्टीमा प्रभाव रहेकाहरु एमालेमा प्रवेश गरेका हुन् ।
केही समयअघि बाबुराम भट्टराई अध्यक्ष रहेको नेसपाका केन्द्रीय उपाध्यक्ष दानबहादुर चौधरीसमेत एमाले प्रवेश गरेर समानुपातिक सांसदको सूचिमा परेका छन् ।
यस्ता नैतिकहिनलाई कुनै भूमिका दिनु हुँदैन । राजनीतिलाई विकृत बनाउने पनि यस्तैले हुन् ।