स्वर्णिमको ‘अतृप्त अवसर’
स्वर्णिम वाग्ले अहिले नेपाली राजनीतिमा चर्चित पात्र बनेका छन् । नेपाली कांग्रेसले उनलाई चुनावको टिकट नदिएपछि पार्टीभित्र र बाहिरबाट सहानुभूति बटुलिरहेका वाग्लेले एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्न गरेको आग्रह अश्वीकार गरेर आफूले तीन पुस्ते कांग्रेस हुनुको महत्व दुनियाँलाई बुझाइरहेका छन् । तीनै स्वर्णिम वाग्लेको राजनीतिभन्दा पृथक पाटोबाट यहाँ चर्चा गर्न खोजिएको छ ।
स्वर्णिम वाग्ले लिखित पुस्तक ‘अतृप्त अवसर’ बजारमा आयो । यो पुस्तकभन्दा पनि उनले नेकपा र पछि विभाजित एमालेको लगभग दुईतिहाइको सरकार आइसकेपछिको समयावधि २०७४-२०७८ का विभिन्न कालखण्डमा पत्रपत्रिकामा छापिएका आलेख, अन्तर्वार्ताको संगालो हो ।
पुस्तकमा उनले ओलीको कार्यकालको विश्लेषण एउटा बाइनरी भिजनबाट खोजेका छन् । यसको अर्थ उनले कांग्रेसको चश्मा लगाएर तत्कालीन समयलाई पर्गेल्ने प्रयत्न गरे जस्तो देखिन्छ । विभिन्न कालखण्डमा छापिएका आलेखहरू चुनावको मुखमा पुस्तकको आकार लिएर पाठकसम्म आइपुग्नु चुनावकेन्द्रित रणनीतिक हतियार हो भन्दा फरक पर्दैन ।
राजनीतिक चश्माका दोषहरू
पुस्तकमा संकलित अधिकांश लेखहरू कांग्रेस रिझाउने किसिमका हुनुले उनमा सात्विक क्रोधको कमी हो कि भन्ने मनोगत अवस्थाको चित्रण गर्छ । पुस्तकमा नेकपा एमाले सरकारको छ महिने, एक वर्षे कार्यकालको टिप्पणी गर्ने, कोभिड १९ को प्रकोप नियन्त्रणमा नेकपा सरकारको असक्षमता, इतिहासकै शक्तिशाली सरकारको अकर्मण्यताबारे ब्रिफिङ मात्रै गर्न खोजिएको छ । जो सरासर गलतमात्रै होइन, मनोगत धारणा हो ।
अहिले डेंगु प्रकोपको अनियन्त्रण, अनियन्त्रित मुल्यवृद्धि, कालाबजारी, भ्रस्टाचार, न्यून पुँजीगत खर्च, बजारमा तरलताको अभावलगायत समग्र कांग्रेसको नेतृत्वमा रहेको सरकारको विषय नसमेटिनुले पुस्तक एकांगी बनेको छ । पुस्तक पढिरहँदा लाग्छ, वाग्लेले कुनै व्यक्ति रिझाउन र पद प्राप्तिको रणनीतिक हतियारको रूपमा आफ्नो बौद्धिकतालाई प्रयोग गरेका छन् ।
वाग्लेले आफ्नो पुस्तकमा डुइंग बिजनेसको अति रन्जना भन्ने छुट्टै लेख नै प्रस्तुत गरेका छन् । जहाँ उनले तर्क गरेका छन्,-डुइंग बिजनेसको सूचांकलाई भारत लगायत विभिन्न देशहरूले आफूअनुकूल (एफडीआई) अकर्षित गर्न मेथोडोलोजीमा सानो परिवर्तन गरी ठूलो अनुपातमा सूचांकमा प्रभाव पर्ने गरेका छन् ।
त्यसैले त्यो सूचांक त्यति भरपर्दो छैन । तर, चीनले डुइंग बिजनेसको सूचांकको पिँधतिर भए पनि एफडीआई मनग्य भित्राउन सफल छ भन्ने तर्क जति यथार्थपरक र सान्दर्भिक सुनिए पनि त्यति नै भ्रमित छ ।
नेकपा सरकारमा सूचांक घट्दा (११० बाट ९४) डुइंग बिजनेसको अतिरंजना भन्नु, यसको विश्वसनीयतामा समेत प्रश्न उठाउनु, तर बढ्दा भने सरकारको अकर्मन्यताको प्रकोपको उपमाको रूपमा सूचांकको व्याख्या गर्न खोज्नु, सूचांक बढ्दा परोक्ष रूपमा डुइंग बिजनेसको सूचांक सही हो भन्न खोज्नु अनि सूचांकको मेथोडोलोजीमाथि प्रस्न उठाउनुले वाग्लेको तर्क बाझिएको मात्रै छैन, स्वार्थ मिसिएका गन्ध आउँछ ।
अस्थिर विचारहरू स्वाभाविक मानवीय प्रवृत्ति हो भन्न सकिएला, तर स्वविवेक र स्वार्थमध्ये कुन आधारले विचार विचलित भएको हो- त्यसलाई पनि नजरअन्दाज गर्न नमिल्ला ।
तटस्थ विश्लेषणको खडेरी रहेको नेपाली समाजमा वाग्लेजस्तो बौद्धिक व्यक्तित्वले सही र गलतको सतही र असन्तुलित अभिव्यक्ति दिनुले एउटा तटस्थ विचारक हुने अवसरमाथि सम्झौता भएको पुस्तक पढेपछि सबैले निष्कर्ष निकाल्न सक्छन् ।
वृहत् अर्थशास्त्रको सरलीकृत व्याख्या
लेखकले विभिन्न देशहरूको तथ्यपूर्ण उदाहरणहरू सहित किन सन् १९९० सम्म नेपालजस्तै देखिने देशहरू आज ३० वर्षको दौरानमा विकसित भए भन्ने कुरा मिहीन रूपमा उठान गरेका छन् । नेपाल किन र कहाँ चुक्यो भन्ने विषयमा भिजन भएका, नीति कर्यान्वयन गर्न/गराउन सक्ने इमान्दार तर ‘अराजक राजनेताको’ कमी हुनु नै विशेष कारण हो भनि स्पष्ट धारणा प्रस्तुत गरेका छन् ।
प्राविधिकरूपमा वाग्ले विकास अर्थाशास्त्री, वृहत् अर्थशास्त्रमा विषय विज्ञता रहेकाले पनि सुक्ष्म विषयमा उनका कलमहरू शुष्क छन् । व्यक्ति, परिवारको पूजापाठभन्दा पनि देशको आर्थिक स्वास्थ्यमा केन्द्रित उनका लेखहरूबाट पाठकले नयाँ कुरा सिक्ने अवसर प्राप्त गर्छन् । तर, फरकफरक समयमा छापिएका पुराना लेखकहरू जस्ताको तस्तै छापिँदा बासी विचारको पुनरावृत्तिमात्रै भएको छ । यसले वाग्लेको तर्क र विषयको सीमितताको झल्को दिन्छ ।
वाग्लेको विचारहरू उद्देलित गराउने लेख र तथ्यहरूले नीति निर्माताहरूलाई एकपटक झस्काउन सक्छ । चौथो औद्योगिक क्रान्तिमय (प्रविधि विकास) समयको रफ्तारले नेपाल तुलनात्मकरूपमा लाभको क्षेत्र जलविद्युत् योजनामा लागेको अनुमानित लगानी र समयलाई मात दिने सौर्य शक्ति ब्याट्रिमा आयो भने के हुन्छ ?
सौर्य शक्ति ब्याट्रीमा सञ्चय गर्ने प्रविधि अनुसन्धानको क्रममा छ । यो अनुसन्धान पूरा हुनसाथ सौर्यऊर्जाबाट नौ महिनामा नौ सय मेगावट बिजुली निकाल्न मिल्ने प्रविधिले हाम्रो अहिलको जलविद्युत् योजना, लागनी, लाभको हिसाब अप्रिय निष्कर्षमा पुग्न सक्छ । यस्तो अवस्थामा ल्याउने सम्भावित जोखिमको अनुमानले मात्रै अवाक् बनाउँछ ।
कुनै समय केरा र कफीमा मात्र आश्रित कोस्टारिका अहिलेको अवस्थामा आइपुग्छ भने, गृहयुद्धमा दशौं लाख मान्छे मरेको रुवाण्डले विकास गर्न सक्छ भने नेपालले किन सक्दैन ? हामी पनि सक्छौं भन्ने सकरात्मकताले सन् २१०० सम्म्ममा नेपाल विकसित देश बन्ने सपना पाठकलाई आर्थिक विकासमा कल्पनाको उडान भर्न छुट पनि दिन्छन् ।
तर, तथ्यपरक र तार्किक, सापेक्षिक तुलनामा वाग्लेका लेखले भनेजस्तो नेपाल (११०० ) प्रति व्यक्ति आय भएको देशले ८६००० प्रतिव्यक्ति आय भएको सिंगापुर, ९०००० प्रतिव्यक्ति आय भएको स्विजरल्याण्ड बन्न सक्दैन । नेपाल श्रीलंका जस्तो बन्न १० वर्ष कुर्नु पर्छ । तर, ७-८ प्रतिशतको लगातार वार्षिक वृद्धि हुनुपर्छ । नेपाललाई सिंगापुर र स्वीजरल्याण्ड बनाउँछु भन्ने नेताहरू सैद्धान्तिक र व्यवहारिक दुवै तर्फबाट झूटा सावित भएका छन् ।
वाग्लेको विशेष क्षमता भनेको प्राविधिक विषयलाई व्यवहारिकरूपमा पाठकलाई बुझाउ सक्ने गरी सरलीकृत गर्न सक्नु हो । वाग्ले अर्थशास्त्रसँगै इतिहासको पनि जानकार हुनुले उनका तर्कहरू दीर्घकालसम्म पाठकको मस्तिष्कमा रहनसक्ने खालका छन् ।
विचारको विरोधाभाष :
वाग्लेकै लेखमा उल्लेख भएको सन् २०१९ मा नोबेल पुरस्कार बिजेता बनेका सुक्ष्म अर्थाशास्त्रीद्वय अस्थर दुफ्लो र अभिजीत बेनेर्जीको तर्कको आलोचना मान्ने हो भने पनि एउटै देशभित्र एउटै समयमा ट्रिटमेन्ट ग्रूप र कन्ट्रोल ग्रूपबीचमा असमानता हुँदा उत्पादन भएको नतिजा प्रमाणीकरण गर्न सकिन्न । त्यसो हो भने विभिन्न कालखण्डमा घटेका घटनाहरू, विविधताले भरिपूर्ण अन्तरदेशीय सम्बन्धहरू, स्रोतहरू, भौगोलिक, मानवीय, राजनीतिक आधारहरू कसरी सापेक्षित हुन सक्छन् ? आधार समान नभई तुलना जायज कसरी बन्छ ?
त्यस्तै, शासकीय स्थिरतासँग विकास निरपेक्ष हुन्छ भनि वाग्लेले भीमसेन थापा, जंगबहादुरको ३० वर्षे शासनकालमा स्थिरता भइकन पनि विकासले गति लिन नसकेको कुरा औंल्याएका छन् । सही मान्छे सहि ठाउँमा हुँदा, पदसँगै आउने कामको जफदेहिताले मात्र विकास सम्भव हुन्छ भन्ने वाग्ले तर्क अकाट्य छ ।
तर, पनि कुनै पनि कुरालाई सपेक्षतामा बुझ्नुपर्छ भन्ने वाग्लेको तर्कको आधारले उनले पटक-पटक नेपालको तुलना अरु विभिन्न देशहरूसँग, अहिलेका नेताहरूको तुलना राणा शासकहरूसँग गरेका छन् । लोकतान्त्रिक पद्धतिको तुलना अलोकतान्त्रिक पद्धतिसँग कसरी सान्दर्भिक हुनसक्छ ? यस्ता असान्दर्भिक तुलनाले पाठकको मनमा अथोरिटारिएन नोस्टाल्जिक (अहिलेभन्दा त पहिलेकै ठीक भन्ने तर्क ) आउन सक्ने सम्भावनालाई पनि नकार्न मिल्दैन !
नेपाललाई श्रीलंकाजस्तो बन्न १० वर्ष कुर्नुपर्छ भन्ने वाग्लेको लेख पढिरहँदा श्रीलंकाको टाट पल्टिन खोजेको अर्थतन्त्र उद्धार गर्न भनी विज्ञको रूपमा उनी श्रीलंकामा परामर्शदाताको रूपमा जाने कुरामा त्यति नै विरोधाभाष पनि देखिन्छ । अर्थाशास्त्रीले अर्थाशास्त्रको सूचांकहरूलाई अत्यधिक मूल्यांकन त गरिराखेको छैन भन्ने प्रश्न पाठकको मनमा पर्छ ।
घटना घटिसकेपछि मात्रै आम नागरिकमा यथार्थताको पर्दाफास हुने नजिर स्थापित भएका सन् २००८ को आर्थिक संकट, श्रीलंकाको आर्थिक टाट पल्टिनुजस्ता घटनाले अर्थशास्त्र र राजनीतिबीच जवाफदेही तथा सन्तुलित सम्बन्ध स्थापित भइसकेको देखिन्छ । राजनीतिज्ञको अर्थशास्त्रीप्रतिको विस्वासनीयतामा कमी, अर्थशास्त्रीहरूको विज्ञतामाथिको नजरअन्दाज, अर्थशास्त्रीको दूरदर्शिता या सूचांक निर्माणमा प्रयोग हुने पद्दतिमाथि नै प्रश्न चिह्न उठ्छ ।
विप्रेषण र अर्थतन्त्र :
अहिले नेपाल विप्रेषणको अनुपात कुल ग्राहस्थ उत्पादनमा २६ प्रतिशत छ । नेपालमा कुल ग्राहस्थ उत्पादनमा विप्रेषणको योगदान घटाउनु पर्ने तर्क लेखकले गरेका छन् । तर, किन वैदेशिक रोजगारउन्मुख मुलुक हुनु हुँदैन भन्ने कारण स्पष्ट लेखेका छैनन् । नेपालले किन कुल ग्राहस्थ उत्पादनमा विप्रेषणको योगदान घटाउनुपर्छ ? भन्ने तथ्य वाग्लेले खुलाएका छैनन् ।
भूमण्डलीकरणले संसार साँघुरो बनाइराख्दा नेपालीले देशभित्र काम गर्नु या विदेशमा काम गर्नुले के भिन्नता ल्याउँछ ? प्रविधिले संकुचन गरिदिएको भौगोलिक परिवेशमा आर्थिक समृद्धि मुख्य मुद्दा बनाउने हो भने नागरिकलाई दक्ष बनाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भिडाउनु आजको आवश्यकता होइन र ?
सस्तो श्रमिक हाम्रो तुलनात्मक लाभको क्षेत्र हो भने अदक्ष, अल्पदक्ष श्रमिकलाई सीप विकास गरी दक्ष श्रमिकको रूपमा वैदेशिक रोजगारीमा समावेश गराउनु किन नेपालको लागि आर्थिक विकल्प हुन सक्दैन भन्ने कुरामा वाग्लेका लेखहरू र मुस्तक मौन छन् ।
नियमसंगत वैदेशिक रोजगार, आप्रवास दुवै देशको लागि समस्या होइन, अवसर हो ! पठाउने र भित्राउने दुवै देशले यसबाट लाभ लिन सक्छन् ! लेखकले पुस्तकमा उल्लेख गरेका नोबेल पुरस्कार विजेता अर्थाशास्त्रीको पुस्तक ‘पोर इकोनोमिक्स‘ लाई नै आधार मान्ने हो भने- ‘गरिब सधैँ गरिब हुनुको मुख्य कारण अवसरको खोजीमा बसाइँ सर्न नसक्नु पनि हो ।‘ त्यो बसाइँसराइ अन्तरदेशीय या अन्तराष्ट्रिय दुवै हुनसक्छ ।
लेखक आफैं गोरखा-चितवन-काठमाडौं हुँदै लण्डन, हार्वर्ड पुग्नु अन्तर्राष्ट्रिय संघसंस्थासंग आबद्धता हुनुको पछाडि उनका बुबापुस्ताको बसाइँसराइले कति जस पाउला ? ठाउँ नसरी कुनै व्यक्तिको विकास हुन सकेको छ र ? मानव इतिहास, सभ्यता बसाइँसराइकै जगमा उभिएको छैन र ? त्यसैले कुल ग्राहस्थ उत्पादनमा विप्रेषणको योगदान घटाउने तर्कभन्दा पनि उति नै श्रमिकबाट कसरी विप्रेषण बढाउने भन्नेतर्फ पनि सोच्न जरुरी छ कि !
वीर गोर्खाली, असल नेपाली बनेर ख्याती कमाएका नेपालीहरू सिपालु नेपाली कहिले बन्ने ? सीपयुक्त मानवस्रोत विश्व बजारमा आपूर्ति गर्नु नेपालको लाभको क्षेत्र हो भने सिप निर्यात गम्भीर आपत्तिको विषय होइन, अवसरको विषय हो भन्ने भाष्य कहिले निर्माण गर्ने ? सतही कलम चलेका यी विषयमा पनि गहिरो विश्लेषण हुन जरुरी छ ।
तुलनामा रुमल्लिएको सूचांक र विकासः
कुनै पनि देशले आफ्नो विकासको योजना निर्माणमा अन्य देशको सुचांकलाई कति महत्व दिने ? विकसित देशले जुन चिज जसरी गरेका छन् ती चिज त्यसरी नै गरे पनि नेपाल विकाश हुन्छ भन्ने वाग्लेको तर्क समय असान्दर्भिक हुँदैछ ।
हामी निर्वाहमुखी कृषिलाई छोडेर औधोगीकरणको चरणमा भ्यालु एडिसन हुने उद्योगको युगलाई पनि काटेर अहिले प्रविधिको युगमा छौँ । यो युगमा पनि नेपालसँग द्रुत गतिमा विकास गर्ने योजना अनि पूर्वाधार छैन । हाम्रा उत्पादनहरू महंगा छन् । वर्तमान अवस्थामा न हामी वस्तु उत्पादनको क्षेत्रमा प्रतिस्पर्धी हुन सकेका छौं न त प्रविधि अनि नवप्रवर्तकको क्षेत्रमा लगानी गर्न सक्ने अवस्थामा छौं ।
न त जनसांख्यिक लाभांश मानिने युवाहरूलाई उच्च सीपयुक्त जनस्रोतको रूपमा परिचालन गर्न सकेका छौं । हाम्रो तुलनात्मक लाभको क्षेत्र के हो त ? यो गम्भीर विसयमा वाग्लेको आलेख मौन प्राय छ । युवालाई देश विकासको महत्वपुर्ण संशाधन मान्ने हो भने दक्ष युवा निर्माणमा हामी रणनीतिक रूपमा कहाँ चुक्यौ भन्ने विषयमा लेखक चुप लागेका छन् ।
देशको समृद्धिको, विकासको सवालमा हरेक देशको आफ्नो- यूएसपी (युनिक सेलिङ्ग पोइन्ट ) हुन्छ । तुलनामा मात्रै आधारित रहँदा अविकसित देशहरूले आफ्नो अलग पहिचान बनाउन सक्ने क्षेत्रहरू ओझेलमा पर्न सक्ने जोखिमलाई नकार्न सकिन्न । अमेरिका कसलाई हेरेर अमेरिका जस्तो बनेको होला ?
सिंगापुरले अन्तर्राष्ट्रिय वित्तीय बजार सुतिसकेपछिको समयलाई मौका छोपेर कहिल्यै नसुत्ने वित्तीय बजार कसको उदाहरण हेरेर बनाएका होलान् ? लेखकले यी पाटोहरू छोएका छैनन् । आन्तरिक सुधारका योजनाले तीव्र गतिशील अर्थतन्त्र निर्माण गर्न अन्तरिक स्रोत व्यवस्थापन, आन्तरिक सक्षमताको बोध, कमीकमजोरीको पहिचान र सुधारका योजनाले मात्रै कुनै देश विकास हुन्छ नकि जस्ताको तस्तै उतार्न खोज्ने मनस्थितिले ।
वृहत् कोणबाट छुटेका सुक्ष्म विषयहरूः
राम्रो शिक्षाको अवसरले मान्छे के बन्न सक्दो रैछ, उदाहरण लेखक आफैँ हुन् । विश्व बैंकको उनको कार्यकक्षबाट उनले अर्थशास्त्र वृहत्रूपमा सोच्न सक्लान् । तर, उनी यही समाजका उत्पादन हुन् । चाहेर या नचाहेर उनी यो समाज, देशको बेथितिसँग अवगत छन् । समाजको सुक्ष्म इकाईसँग तालमेलमा छन् । तर, आम नेपालीको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने सिक्षा, स्वास्थ्यजस्ता विषय किन उनको प्राथमिकताको क्षेत्र बन्न सकेनन् ? शिक्षाको अवसरले नै त्यो उचाइ पाउन सफल भइराख्दा हजारौं स्वर्णिमहरू जन्मिनसक्ने देश शिक्षामा कहाँ चुक्यो ? वाग्लेले नीति निर्माताहरूसँग कति चोटि प्रश्न गर्न आवश्यक ठाने ?
उनी सुक्ष्म अर्थाशस्त्री होइनन् । त्यसैले उनका लेखहरूमा मानवीय अनुभूतिको कमी छ । उनका आलेखहरू ज्ञानवर्द्धक त छन् तर, निर्जीव छन् । नेपालबाट हेर्दा उनी अन्तर्राष्ट्रियस्तरमा पुगेका गर्व गर्न लायक नेपाली हुन् । तर, ती अन्तर्राष्ट्रिय संस्थाभित्र उनी अति कम विकसित मुलुकका प्रतिनिधि पात्रमात्र हुन् ।
उनको आस्था रहेको कांग्रेस पार्टीले उन्नत लोकतन्त्र र समुन्नत समाज, खुला प्रतिस्पर्धालाई विकासको आधार मानेको छ । समान अवसर र प्रक्रियाले प्रतिस्पर्धा जन्माउँछ । तर, नेपाली समाज प्रतिस्पर्धी हुन नसक्नु अवसरको संकुचनले गर्दा नै हो ।
नेपालको भैतिक पूर्वाधार एवम् समग्र विकासलाई सापेक्षतामा बुझ्नुपर्छ भनिरहँदा, दशकौं समय बितिसक्दा, उनी पढेकाजस्ता विद्यालय नेपालमा कति खुले ? हरेक नेपालीले बूढानीलकण्ठजस्तो विद्यालय पढ्न पाउनुपर्छ भनी उनले कति पटक सोचे ? सोचेको भए कति पटक लेखे ? बूढानीलकण्ठ पढ्न पाउने अवसरको थालनी हुँदै गर्दा सबैले उनीजस्तै हार्वर्ड पढ्न सक्लान् या नसक्लान् ।
अन्त्यमा, एकचोटि पढ्नै पर्ने पुस्तक हो ‘अतृप्त अवसर’ । लेखकका अधिकांश आलेखहरू निष्पक्ष नहुनु, कसैलाई प्रभावित पर्ने उद्देश्यबाट संचालित हुनु, आफ्नो अनुकूलताअनुरूप स्वचालित हुनुले विचार, नयाँ ज्ञान, रचनात्मक पृष्ठपोषणको संस्कार, इमान्दार अभिव्यक्ति, वृहत्तर हितको विपरीत सीमित दायराभित्रका अत्यन्त सीमितजनहरूलाई बाहेक आम नागरिकलाई हित गर्दैन ।
वाग्लेजस्तो बौद्धिक व्यक्तित्वले वादको चश्मा उतारेर आम नेपालीको नजरबाट अर्थतन्त्र, यसका परिवेशहरूका नालीबेली लगाएको खण्डमा विषय बुझाउन सक्ने उनको त्यो अतुलनीय खुबीबाट बढीभन्दा बढी नेपालीहरू लाभान्वित हुन सक्छन् । रचनात्मक आलोचना वाग्लेको हतियार बन्थ्यो भने उनी कांग्रेस मात्रको कार्यकर्ता नबनी एउटा गर्व गर्न लायक अन्तर्राष्ट्रिय स्तरको ‘हाम्रो नेपाली अर्थशास्त्री’ बन्न सक्थे ।
नेकपाको कमी कमजोरी औंलाएर कांग्रेस रिझाउने विद्वताभन्दा वाग्लेबाट आम नेपालीले धेरै अपेक्षा यो अर्थमा पनि गरेका छन् कि उनी देश विदेशमा पढेका, योग्य व्यक्तित्व हुन् । ४०-५० देश भ्रमण गरिसक्दा शिक्षा कस्तो हुनुपर्छ, देशको जनस्वास्थ्य सुविधा कस्तो हुनुपर्छ राम्रैसँग बुझेका छन् ।
नागरिकले के पाएका छन्, के पाएका छैनन् विश्लेषण गर्न सक्छन् । तर, लेखकका यी विषयप्रतिको मौनताले उनी भुइँमान्छेहरूका लागि तटस्थ पात्र बनेका छन् । लेखकको रूपमा उनको सम्बन्ध आम नेपालीहरू र भुइँमान्छेहरूको लागि तटस्थताको छ ।