रुपन्देहीको विकास, देश विकासको आधारः गृहमन्त्री खाण – Nepal Press

रुपन्देहीको विकास, देश विकासको आधारः गृहमन्त्री खाण

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको विकासले समग्र देश विकासको आधारशीला खडा गर्ने बताएका छन् ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनी, स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका, दोस्रो ठूलो भन्सार नाका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज) लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका आयोजना तथा सम्पदाहरू रहेकाले रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्रसमेत बन्ने उनको भनाइ छ ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट पाँचदलीय गठबन्धनका उम्मेदवार रहेका कांग्रेस नेता खाणले गठबन्धनद्वारा भैरहवामा आयोजित कार्यक्रममा रुपन्देहीमा आर्थिक तथा पर्यटकीय पूर्वाधार विकास जति धेरै गर्न सकियो, त्यति नै समग्र मुलुकको विकासका लागि कोशेढुंगा हुने जनाए ।

‘पूर्वाधार मात्रै नभएर शिक्षा, स्वास्थ्य, रोजगारी वृद्धिलगायतका क्षेत्रमा पनि रुपन्देहीलाई अब्बल र विकसित बनाउन सरकारले कुनै किसिमको कमी हुन दिँदैन’, खाणले भने, ‘चुनावपछि बन्ने गठबन्धन सरकारले यस कुरामा ध्यान दिन्छ, मैले ध्यान दिन्छु, रुपन्देहीमा हुने सबै किसिमका विकासमा बजेट अभाव हुनेछैन ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहकको साथै कार्गो सेन्टरको रूपमा विकसित गरेर भैरहवालाई आर्थिक हव बनाउने अवसर पनि रहेको उनले बताए । ‘खाली यात्रु ल्याउने लैजाने मात्र होइन्,’ उनले भने, ‘गौतमबुद्ध विमानस्थललाई कार्गो सेन्टरको रूपमा पनि विकसित गरी रुपन्देहीलाई आर्थिक केन्द्र बनाउन सकिने अवसर हामीसँग छ । यसतर्फ पनि सरकार लागिरहेको छ । यो कामले छिट्टै पूर्णता पाउनेछ ।’

काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी केन्द्रभन्दा ठूलो योजनाको थोक बजार केन्द्र निर्माण योजना पनि रुपन्देहीको सेमलारमा आएको उनले बताए । उक्त थोक बजार निर्माणपश्चात यसक्षेत्रमा उत्पादित कृषिजन्य वस्तु गौतमवुद्ध विमानस्थल हुँदै विदेश निर्यात गर्न सकिने पनि उनले जनाए । खाणले विदेशबाट हवाई मार्ग हुँदै ल्याउनुपर्ने सामान गौतमवुद्ध विमानस्थल हुँदै ल्याउने र विदेश निर्यात गर्ने सामान पनि यही विमानस्थलबाट पठाउन वातावरण सिर्जना हुँदा हजारौं रोजगारीका अवसर आउने र रोजगारीमा यसै क्षेत्रका स्थानीयलाई प्राथमिकता दिइने विश्वास दिलाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर