सिनपाका मेयर आचारसंहिता मिचेर गृहमन्त्रीको चुनावी प्रचारमा
रूपन्देही । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका मेयर इस्तियाक अहमद खानले निर्वाचन आचारसंहिता उल्लंघन गरेर गृहमन्त्री बालकृष्ण खांणको चुनावी कार्यक्रममा भोट माग्दै हिंडिरहेका छन् ।
निर्वाचन आचार संहिता २०७९ को दफा ५ मा स्थानीय सरकारका प्रमुखले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्षमा वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन नपाउने व्यवस्था छ ।
तर मेयर खान सोमबार रूपन्देही क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्य पदमा सत्ता गठबन्धनबाट उम्मेदवार खांणको पक्षमा बैंकरोड, मिलनचोक लगायतका क्षेत्रमा भोट माग्दै घरदैलो र पसलमा सहभागी भएका छन् ।
मेयर खानले गृहमन्त्रीको घरदैलोको क्रममा भेट भएर फोटो खिचेको तर आफूले उनको पक्षमा भोट नमागेको दाबी गरे ।
गृहमन्त्री खांणले घरदैलो गर्दा मेयर पनि सहभागी भएको र गौतमबुद्ध विमानस्थलमा ठूलो संख्यामा रोजगारी खुल्ने र त्यहाँ रोजगारी दिलाउने प्रलोभन देखाएर मत मागेको भन्दै आलोचना हुने गरेको छ । स्थानीय तहका जनप्रतिनिधि मत मागेकाे विषयमा आयाेगमा उजुरी थपिदै गएका छन् ।