आर्थिक केन्द्रसहित यसरी बन्दैछ वृहत्तर लुम्बिनी मेगासिटी
बुटवलबाट राजधानी गयो भन्ने कुरालाई गठबन्धनले चुनावी मुद्दा बनाइरहेको छ । गठबन्धनले मात्र हैन नेकपा एमालेकै कार्यकर्ताहरूले पनि यस विषयलाई रुचाइरहेका छैनन् । खासगरी विष्णु पौडेलले अर्थमन्त्रीसँग राजधानी साटेको भनेर जनमतलाई भड्काउने प्रयत्नमा गठबन्धनहरू निरनतर लागिरहेका छन् । जानेर वा नजानेर यो विषयलाई पेचिलो बनाइँदै छ । यद्यपि वृहत्तर बुटवलको विकास, समृद्धि, रोजगारी तथा अन्य अपार अवसरहरू अन्य तरिकाले पनि आउँछन् भन्ने कुरामा कुनै शंका छैन । वृहत्तर यस अर्थमा कि बुटवललाई फराकिलो ढंगले हेर्न सकिएन भने अझै बढी खुम्चिने सम्भावना हुनेछ । यस सन्दर्भमा यहाँ केही दृष्टान्त प्रस्तुत गर्न खोजिएको छ ।
पहिलो कुरा जतिबेला शंकर पोखरेल नेतृत्वको सरकारले राजधानी दाङ लैजादै थियो त्यतिबेलै रूपन्देहीलाई आर्थिक र कपिलवस्तुलाई साँस्कृतिक राजधानी बनाउनेबारे निर्णय नै भएको थियो । प्रशासनिक राजधानीबारे मात्र ज्ञान भएका हामीहरूले यसलाई वाहियात भन्यौँ । अर्थात् अल्पकालका लागि जनतालाई छारो हाल्ने काम मात्र गरेको भनेर भन्यौँ । जसको ज्ञानको दायरा जति हो उसले त्यति नै भन्ने हो । यसलाई स्वाभाविक मानौँ ।
तथापि यसमा स्वस्थ्य बहस हुन जरुरी थियो । विकल्प के हुन सक्छन् भनेर राजनीतिकर्मीको ध्यान खिच्न सक्नुपर्दथ्यो । हामी यस क्षेत्रका व्यक्ति, संस्थाहरूले अझ बढी पहल गर्नुपर्दथ्यो । चुनाव हारजितका लागि यसलाई प्रयोग गर्न सकिएला तर, हामीले खोजेको यस क्षेत्रको विकास र निकासका लागि यो अस्वस्थ्य गाली गलौजले किमार्थ टुंगोमा पुर्याउने छैन । यसका लागि केही उदाहरण हेरौँ र कुराको सुरूवात गरौँला ।
भारतको मुम्बई न्यू दिल्लीभन्दा कुन मानेमा कम छ ? संयुक्त अरब ईमिरेट्स (यूएई) को राजधानी आबुधावी हो तर, चर्चामा सधैँ दुबई आउँछ र अवसर पनि त्यहाँ बढी छन् । अष्ट्रेलियाको राजधानी क्यानबारा धेरैलाई थाहा छैन, तर सिड्नी र मेलवर्न सबैले सुनेका छौँ । अमेरिकाको कुरा गर्दा न्यूयोर्क अन्तर्राष्ट्रिय सहर हो । विश्वका नागरिक यो सहरमा बस्न, घुम्न चाहन्छन् । सिकागो, टेक्सासलगायत कैयौं नाम आउँछन् । तर, राजधानी वासिंगटन डीसी हो । जापानको राजधानी टोकियो तर ओसाका सुप्रसिद्व सहर हो । चीनको राजधानी बेइजिङ हो, तर सांघाई सुप्रसिद्व सहर हो ।
त्यसैले म भन्छु राजधानी प्रशासनिक इकाइ अवश्य हो । यसको मतलब वृहत्तर बुटवलको चार्मिंङमा यसकै कारणले कमी आउँदैन ।
ओशोले राजनीतिकर्मीहरूको स्थिति र मनस्थितिका बारेमा सुन्दर विश्लेषण गर्दै भनेका छन्- राजनीतिकर्मीहरू केही पनि होइनन्, उनीहरू रित्ता हुन्छन्, त्यसैले पदीय हैसियत प्राप्त गरेपछि मात्र केही गरेर देखाउने उनीहरूको मनोदशा हुन्छ । आफू को हुँ भन्ने देखाउन पनि उनीहरू पदको प्रतीक्षा गरिरहेका हुन्छन् । जब तिनलाई पद प्राप्त हुन्छ त्यसपछि उनीहरू पदीय हैसियतअनुरूपको शक्ति प्रयोग गरेर आफू को हुँ भन्ने देखाइरहेका हुन्छन् ।
राजनीतिकर्मीहरू मात्र हैन नेपालको सन्दर्भमा वौद्धिक ब्यक्तित्वहरू नै यस्तै भइरहेका छौं । किनकि हामीभित्र जडताले घर गरिरहेको छ । मलाई विश्वास छ, त्यस्ता केही पात्रहरूले यो लेख पढेपछि मलाई पनि गालीको वर्षा गर्ने नै छन् । तर, मेरो चाहना निर्वाचनका सन्दर्भमा सबै पार्टीहरूलाई ध्यानाकर्षण गर्ने र आगामी दिनमा यस क्षेत्रको समग्र विकासमा सामूहिक प्रयत्न गर्नमा सहयोग पुगोस् भन्ने हो ।
ई. सुशिल ज्ञवाली प्रारम्भमा बुटवलको विकासमा जग बसाल्ने नगरपालिकाका कर्मचारी हुन् । यो उनको प्रारम्भिक परिचय हो । तर, जब उनी भूकम्पपश्चात् पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी भए, त्यसपश्चात् उनलाई धेरैले चिने र बुझे । ३ वर्षको अन्तरालमा ४ खर्ब खर्चेर ७ लाख ५० हजार घर बनाउने, ४९ हजार कक्षा कोठाका लागि करिव ७ हजार ५ सय विद्यालय निर्माण गर्ने, ६ सय ऐतिहासिक सम्पदा, ७ सयय अस्पताल तथा स्वास्थ्य केन्द्र, ६ सय सरकारी भवन, ८ शय किलोमिटर सडक, १५ सय खानेपानी आयोजना बनाएर नेपालको निर्माण जगतमा सर्वाधिक चर्चामा आउने कामको नेतृत्वकर्ता हुन् ।
यो काम नेपालको लागि त नमूना नै हो । भुकम्पपछिको पुनर्निमार्णमा संसारकै सबैभन्दा ठूलो काम हो र विश्व समुदाय तथा दातृ निकायले आफ्नो लगानी सही सदुपयोग गरेकोमा मुक्त कण्ठले प्रशंसा गरेको विषयसमेत हो । वास्तवमा उनले मुलुकको इतिहासमा नयाँ रेकर्ड कायम गरेका छन् । तथापि यसवारेमा जति चर्चा हुनुपर्दथ्यो त्यति भएको छैन । बुटवलको विकासमा, योजनामा उनको योगदान छ भन्नेवारेमा यस क्षेत्रका प्रायः सवैलाई ज्ञात नै छ । यसवारेमा कुनै बेला थप कुरा लेखौंला ।
हालैको कुरा हो । उनीसँगसंगै चिया खाने मौका मिल्दा थाहा भयो उनलाई पनि राजधानी दाङ गएकोमा पटक्कै चित्त बुझेको रहेनछ । तर, यसको समाधान कसैलाई गाली गरेर निस्कँदैन । उनी शहरी योजनाकार भएकोले नेपालकै आर्थिक विकासका लागि योजनाको खाका कोरेर दातृ निकाय र सरकारका निकाय एवं पदाधिकारीलाई विश्वासमा लिइसकेका रहेछन् । जसअनुसार पूर्व विराटनगर र पश्चिम बुटवललाई केन्द्र बनाएर आयोजना अगाडि बढाउन खोजेको कुरा सुन्दा असाध्यै खुसी मान्नुपर्छ । पश्चिम बुटवल क्षेत्रलाई आधार मानेर प्रस्तावित वृहत्तर लुम्बिनी क्षेत्र विकासले नवलपरासीको त्रिवेणीदखि कपिलवस्तुको चन्द्रौटासम्म र पाल्पाको सिद्वबाबादेखि मर्चवारसम्मको क्षेत्रलाई समेट्छ ।
कुनै ठाउँको विकास व्यवस्थित योजनाबाट मात्र हुन सक्छ । हाम्रो कमजोरी कागजी योजनाविना काम अघि बढाउनु हो । त्यसैले सयौं वर्षसम्म पश्चाताप नहुने काम गर्नका लागि पहिला खाका नै कोर्नुपर्छ । त्यसअन्तर्गत विराटनगर र बुटवल दुईवटा क्षेत्रलाई वृहत्तर आर्थिक केन्द्र र पोखरा एवं रूपन्देहीलाई मेगासिटीको रूपमा विकास गर्नका लागि अध्ययन गर्ने प्रस्ताव स्वीकृत भई कार्य प्रारम्भ भइसकेको रहेछ । यसरी अर्थिक केन्द्र र ‘वृहत्तर लुम्बिनी मेगासिटी’ को अवधारणा अन्तर्गत अहिले काम भइरहेको छ ।
यसमा के-के गरिएला त्यो अध्ययनपश्चात् नै थाहा होला तर सडक सञ्जाल बनाउने कुरा महत्वपूर्ण हुनेछ । मैले अमेरिका भ्रमण गर्दा सडक सञ्जालको व्यवस्थितपना बुझ्ने अवसर पाएको थिएँ । कुनै पनि शहरमा जाँदा सडक सञ्जालमा फरक पाइँदैन । त्यति ठूलो देशले एउटै संरचना, आकार प्रकार सबैमा फरक नआउने गरी बनाएको छ । सामान्यतः कही दुर्घटना हुँदैन । आपत् पर्यो भने बीच-बीचमा सडकमै जहाज ल्याण्ड गर्न मिल्छ । दुई सय वर्षअघिको योजना अहिले पनि फेर्न परेको छैन । हो यस्तै योजना बनाउने कल्पना छ ‘वृहत्तर लुम्बिनी मेगासिटी’ मा ।
यसअन्तर्गत नयाँ सहरहरू जस्तो कि बुटवल, सैनामैना र तिलोत्तमामा जसरी आवासका लागि आधुनिक क्षेत्र बनाउने परिकल्पनाको कुरा उठ्ने गरेको छ । त्यसरी नै लुम्बिनी, मर्चवार, सियारी, धकधई वा अन्य क्षेत्रमा पनि आवश्यकता अनुसार नयाँ सहर बनाउने कुरा होला । एकीकृत विकासको कुरा होला । पालिकास्तरमा काम गर्दा दोहोरो तेहेरो हुने भए, समग्रतामा हेर्दा कपिलवस्तु, नवलपरासी र रूपन्देहीमा फरक ढंगले आकर्षक क्षेत्र बनाउने कुरा होला । शिक्षा र स्वास्थ्य सुविधाको कुरा होला । राष्ट्रिय अन्तर्राष्ट्रिय खेल खेल्नका लागि स्टेडियमहरू बनाउने कुरा होला । रोजगारी सृजना गर्ने काम होला । पर्यटनका लागि भौतिक संरचना बनाउने कुरा होला । अव्यवस्थित बसोबासीका लागि व्यवस्थित बसोबासको कुरा होला । आदि आदि
यो धेरै लामो समयको कुरा पनि रहेनछ । १० वर्षभित्र डीपीआर सक्ने गरी काम हुँदैरहेछ । यसबाहेक आर्थिक केन्द्र बनाउने सन्दर्भमा अलग्गै अध्ययन भइरहेको छ । आर्थिक केन्द्र बनाउनका लागि एशियाली विकास वैंक र मेगासिटीको लागि विश्व बैंकको सहयोगमा गुरुयोजनाको खाका तयार भई विस्तृत सम्भाव्यता अध्ययन भइरहको छ । ज्ञवालीका अनुसार उनीहरू दुवैको निचोड रूपन्देही जिल्ला आर्थिक केन्द्र बन्छ र व्यवस्थित गुरुयोजना बनाउनुपर्छ भन्नै छ । यो काम प्रदेश र स्थानीय तहको संलग्नतामा गरिने भएकोले उनीहरूसँग र स्थानीय जनतासँगसमेत छलफल गरी सबैको स्वामित्वमा अन्तिम रूप दिइनेछ ।
यी कुराहरू मैले निर्वाचनको प्रसंग भएर उठाएको हैन प्राप्त सूचना सबैको जानकारीका लागि प्रस्तुत गरेको हुँ । निर्वाचनसँग जोडिने कुरा यतिमात्र हुन्छ कि के कुनै राजनीतिक दलले यस्ता वृहत्तर विषयलाई घोषणापत्रमा राखेर सार्वजनिक प्रतिबद्वता जनाउन सक्लान् ? तथापि यस्ता काम गर्न कठिन हुनेछ । तर, सार्थक प्रयास गर्दा परिणाम हात लाग्न सक्छ ।