प्यूठान : जनमोर्चाकी दुर्गालाई गठबन्धनको भर, पुरानो किल्ला भत्काएको दाबीसहित सूर्य मान्दैनन् डर
रुपन्देही । नेकपा मसाल ९राष्ट्रिय जनमोर्चा० को किल्लाको नामले परिचित प्यूठानमा अहिले यो पार्टी चौथो स्थानमा खुम्चिएको छ । कम्युनिष्ट पार्टीका पुराना नेता मोहनविक्रम सिंहको गृह जिल्ला प्यूठानमा मसालको पुरानो सांगठनिक आधार धेरै भत्किएको पछिल्लो चुनावी नतिजाले देखाएको छ । तर पार्टीको पुरानो आधार जोगाउन मसालका महामन्त्री सिंहले कहिले को सँग कहिले को सँग गठबन्धन गरेर यहाँ उम्मेदवार बनाइरहेका छन् ।
०७४ सालमा नेकपा एमाले, माओवादीसँग गठबन्धन गरेर देशभरमा एक सीट जितेर पार्टीको बीउ जोगाएका उनले अहिले कांग्रेस, माओवादी, नेकपा एस, लोसपासँग गठबन्धन गरेर पुरानो क्षेत्रलाई जोगाउन कस्सिएका हुन् ।
८६ वर्षको उमेरमा पार्टीको नेतृत्व सम्हालेका मोहनविक्रमले संसदीय मोर्चाका रुपमा रहेको राष्ट्रिय जनमोर्चाको उपाध्यक्ष रहेकी उनकी श्रीमती दुर्गा पौडेललाई सत्तारुढ गठबन्धन दलको उम्मेदवार बनाएका छन् ।
पटक–पटक विभाजन भएर सांगठनिक आधार कमजोर बनेको अवस्थामा जनमोर्चाकी पौडेलसँग र एमालेबाट उनका कटु आलोचक सूर्य थापा चुनावी मैदानमा होमिएका छन् । थापा पहिलो पटक संसदीय निर्वाचनको अनुभव लिँदै छन् भने पौडेल तेस्रो पटक सांसद बन्ने योजनाका साथ मैदानमा पुगेका हुन् ।
एमालेको चौथो पुस्ताको नेता भन्न रुचाउने थापाले जिल्लामा कसैको किल्ला इतिहास बनिसकेको जवाफ पत्रकारलाई दिइरहेका छन् । भन्छन्– ‘आफ्नो परिवारका सदस्यलाई समेत पार्टीमा रोक्न नसक्नेले किल्ला दाबी गर्नु हास्यास्पद हो, स्थानीय निर्वाचनको चुनावी आँकडाले यहाँ दलको तह निर्धारण गरेको छ ।’
पार्टी पोलिटब्यूरो सदस्य तथा प्यूठान इन्चार्ज रहेका ४८ वर्षीय थापा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनका प्रेस सल्लाहकार थिए । प्यूठानबाट प्रतिनिधि सभा निर्वाचन जितेर राष्ट्रिय राजनीतिमा आफ्नो बलियो उपस्थिति देखाउन खोजेका थापालाई आलोचकहरुले छुद्र प्रतिक्रिया दिने व्यक्ति भन्छन्, भने समर्थकहरूले निडर र हक्की स्वभावको भन्छन् । उनी आफैले देखेको कुरा सिधै भन्दा कसैलाई मन नपर्ने भए पनि यथार्थ र सत्य बोल्ने लेख्ने गरेको तर्क गर्छन् ।
पहिले मसालको पकड क्षेत्र भनिएको प्यूठानमा पछिल्लो समय कमजोर बन्दै गएको छ । ०७४ सालको निर्वाचनमा एमाले, माओवादीसहितको बाम गठबन्धनकै मतले विजयी भएकी पौडेललाई यस पटक सत्ता गठबन्धनको साथ भएकाले विजय निश्चितजस्तै भएको दाबी उनी निकटकाले गर्दै आएका छन् ।
तर गठबन्धन दलको प्रमुख पार्टी नेपाली कांग्रेसको ठूलो समूहले यहाँबाट कांग्रेसबाहेक अरुलाई मतदान गर्न नसकिने आवाज पटक पटक उठाएकाले गठबन्धनको सबै मत पौडेलले सुरक्षित राख्न चुनौती थपिएको छ । उनीसँग प्रतिस्पर्धामा आएका एमालेका थापा जिल्ला इन्चार्ज भएपछि जिल्लामा पार्टी र संगठन बनाउन लागेपछि ठूलो समूहमा मसाल, माओवादी, नेकपा एस छाडेर पार्टीमा प्रवेश गराएका छन् ।
स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलको गठबन्धनविरुद्ध उनले रणनीतिक रुपमा निकालेको सफलताले उनी हौसिएका छन् । ‘स्थानीय तहको निर्वाचनपछि त ठूलो समूह एमालेमा आइसक्यो नि, त्यो बेला हामीले थोरै मतले गुमाएका पालिकामा निकै धेरै संख्यामा प्रवेश गरेको अवस्था छ, यसले हामीले जितको सहजता बनाएको छ’, थापाले भने ।
०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार बनेकी दुर्गा पौडेललाई विजयी बनाउन मोर्चाको अग्रभागमा रहेका थापा अहिलेका मुख्य प्रतिस्पर्धी बनेकाले उनलाई चुनौती थपिएको हो ।
कुनैबेला जनमोर्चाको पकड क्षेत्र भनिएको प्यूठानमा पछिल्लो समय जनमोर्चा कमजोर बन्दै गएको छ । यसअघि बाम गठबन्धनकै मतले विजयी भएकी पौडेललाई यसपटक सत्ता गठबन्धनको साथ भएकाले विजय निश्चितजस्तै भएको दाबी गर्दै आएकी छन् ।
स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मत हेर्ने हो भने प्यूठानमा गठबन्धन एमालेभन्दा अघि छ । जिल्लामा पालिका प्रमुखको मत परिणामअनुसार गठबन्धनको ४८ हजार १७१ मत छ । एमालेको ३९ हजार १२८ मत छ । यो आधारमा एमाले प्यूठानमा नौ हजार ४३ मतले पछि छ ।
प्यूठानमा एमालेले कुल ३९ हजार ८७७ मत प्राप्त गरेको छ । जिल्लाका २० वटा वडा जितेको नेपाली कांग्रेसले २१ हजार २२ मत पाएको छ । १० वटा वडा जितेको माओवादी केन्द्रले १५ हजार ७४६ मत र १० वटै वडा जितेको राष्ट्रिय जनमोर्चाले १३ हजार ८५४ मत प्राप्त गरेको छ ।
त्यसैगरी दुई वटा वडा जितेको विप्लव समूहले एक हजार ४१७ मत, कुनै पनि वडा जित्न नसकेको नेकपा एकीकृत समाजवादीले एक हजार ३२२ मत प्राप्त गरेको छ ।
मसालका महामन्त्री मोहनविक्रम सिंहको जन्मथलो झिमरुक गाउँपालिकामा स्थानीय तहमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले जितेको छ । त्यहाँ माओवादी र कांग्रेसबीच गठबन्धन थियो ।
यसपटक कांग्रेसका नेता डा। गोविन्दराज पोखरेलले पौडेललाई भोट नदिने घोषणा समेत गरेकाले स्थानीय तहको भन्दा फरक परिस्थिति जिल्लामा बनेको पनि स्थानीयको आंकलन छ ।
गठबन्धनभित्र असन्तुष्टि चुलिँदै गएमा यसको फाइदा थापाले लिनेछन् । डा। पोखरेल उनै नेता हुन् जो २०७४ सालको निर्वाचनका पौडेलसँग पराजित भएका थिए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका पोखरेलले गठबन्धनका कारण यस पटक कांग्रेसबाट टिकट पाउन सकेनन् ।
‘पालिका प्रमुखको मत हेर्दा एमाले पछि देखिए पनि समग्रमा एमाले प्यूठानमा विजयी हुने निश्चितजस्तै छ । वैशाखदेखि जिल्लामा ६० जना जिल्ला तहका नेताहरू पार्टीमा प्रवेश गरेका छन् । जनमोर्चाको च्यानल नै तोडेर एमालेमा प्रवेश गराउन सफल भएका छौँ । त्यस कारण एमाले डराउँदैन । त्यति मात्र होइन, गठबन्धनभित्र चरम असन्तुष्टिको फाइदा हामीले लिन्छौँ’ थापाले भनेका छन् ।
मसालको गढ प्यूठानमा बिस्तारै कमजोर बन्दै गएको छ । मोहनविक्रम सिंहको साथमा उनका छोरी ज्वाइँसमेत छैनन् । उनीहरू एमाले प्रवेश गरेका छन् ।
जिल्ला तहका नेताहरू अर्जुन विक, मोहन रोका लगायत पनि एमालेमा गइसकेका छन् । सिंहका भाइ पर्ने सुरेन्द्र जीसी पनि एमालेमा छन् । सिंहकी बहिनी अजिता सिंह ढकाल, ज्वाइँ योगेन्द्र ढकाल एमाले प्रवेश गरेका छन् ।
प्रदेश सभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको प्यूठानको क्षेत्र नम्बर ‘१’मा गठबन्धनको तर्फबाट नेता कृष्ण अधिकारी ‘प्रकाश’ उम्मेदवार छन् भने उनको प्रतिस्पर्धी एमालेको तर्फबाट तुलसीराम शर्मा छन् ।
क्षेत्र नम्बर ‘ख’ मा एमालेको तर्फबाट हरिप्रसाद रिजाल उम्मेदवार छन् भने गठबन्धनको तर्फबाट कांग्रेसका रोज राणा उम्मेदवार छन् ।
राणा कांग्रेस प्यूठान क्षेत्र नम्बर २ का सभापति हुन् भने रिजाल एमालेका केन्द्रीय सदस्य तथा प्यूठान सहइन्चार्ज हुन् । यसअघि २०७४ सालको निर्वाचनमा प्यूठान ‘१’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका उनी लुम्बिनी प्रदेशका पूर्व शहरी विकासमन्त्री समेत हुन् ।
दुर्गालाई ५ वर्ष गुमनाम भएको आरोप
प्यूठान आफ्नो पार्टी कमजोर हुँदाहुँदै पनि बामगठवन्धनको बलमा ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले चुनाव जितेर जनताको प्रतिनिधि बनेर गइन् ।
बाम गठवन्धनभित्रका दल नेकपा एमाले र माओवादी केन्द्रले उनलाई साथ दिए । निर्वाचनको बेला जिल्लामा विकास गर्ने र जिल्लाबासीको परिवर्तन हुने भन्दै पौडेल प्यूठानका गाउँ बस्तीमा पुगेर भोट मागिन् । मतदाताले उनलाई विश्वास गरे, भोट दिएर जिताए । प्यूठानबाट जित्नुअघि उनी ०७० सालमा समानुपातिक सांसद थिइन् ।
२०७४ मा नेपाली कांग्रेसका नेता प्रा।डा।गोविन्दराज पोख्रेललाई पराजित गर्दै प्यूठानको प्रतिनिधि बनेर सांसद छिरेकी थिइन् उनी । उनका आलोचकहरुका अनुसार सांसद प्रवेशपछि उनले न प्यूठानवासीको समस्या र विकासका एजेण्डा उठाइन् न चुनावअघि बाँडेका आश्वासन पूरा गर्न चासो दिइन । उनको ५ वर्षे कार्यकाल ‘गफ’ गरेरै बित्यो ।
यतिसम्म कि ५ वर्षसम्म प्यूठान फर्केर समेत आइनन् उनी । दुर्गाको ५ वर्षे कार्यकालमा पनि जनताले केही पनि फरक अनुभूति गर्न पाएनन्, पाए त केवल आश्वासन अनि समृद्धिका सपना । पौडेल ५ वर्षसम्म आफूले चुनाव जितेको क्षेत्र प्यूठान फर्किएर नै नआएको जिल्लावासीको गुनासो छ । पाँच वर्षसम्म धेरैले उनको अनुहारसमेत देख्न नपाएको गुनासो गरेका छन् ।
०७६ पछि कोरोनाको महाविपत्ति आयो, कैयौं दुर्घटना भए धेरै धनजनको क्षति भयो, तर दुर्गा सहानुभूति दिनसमेत प्यूठान फर्किनन् । चुनाव जितेपछि जिल्लासँग गुमनाम बनेकी दुर्गा पौडेल अहिले प्यूठानमा फेरी मत माग्न गाउँ छिरेकी छन् । अघिल्लो पटक उनको पछाडि बामगठवन्धन थियो अहिले सत्तारुढका पाँच दलीय गठबन्धन छ । न राजनीतिक पहुँच, न ठूलो पार्टी तर उनलाई विजयी गराउनका लागि प्यूठानका ठूला दलहरू किन उनको पछाडि लागे होलान् स्थानीय टिप्पणी गर्न थालेका छन् ।
पौडेल प्यूठानको प्रतिनिधि भएपनि जिल्लाको केन्द्रमा पहुँच पुग्न नसकेको जिल्लाबासीको गुनासो छ । उनी सम्वद्ध दल राजमोभित्र समेत यसपालि पौडेललाई उम्मेदवारी बनाउन नहुने चर्को दबाब थियो । तर, मोहनविक्रम सिंहकै पत्नी भएकै कारण उनले पुनः टिकट पाएकी थिइन् । राजमोभित्र भएको आन्तरिक निर्वाचनमा नेता बोमबहादुर केसी एक भोटले उम्मेदवारी हुनबाट वञ्चित भएको स्रोतले बताएको छ । गठबन्धनभित्र रहेका राजमो बाहेकका दलका नेता, कार्यकर्ता र मतदाताहरू फेरी दुर्गालाई नै जिताएर पठाउने कुरामा अलमलमा परेका छन् ।
फेरियो प्यूठानमा राजनीतिक वर्चस्व रु
०३६ सालमा प्यूठानमा निर्दलले जित्यो । ०४८ सालको निर्वाचनमा जिल्लाका दुई वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस विजयी भयो । क्षेत्र नं। १ मा शिवराज सुवेदी र क्षेत्र नं। २ मा मुक्तिप्रसाद शर्मा विजयी भए ।
०५१ सालको निर्वाचनमा क्षेत्र नं। १ मा मसालका नवराज सुवेदी विजयी भए । क्षेत्र नं। २ मा उनै शिवराज सुवेदी विजयी भए । ०५६ सालमा दुई वटै निर्वाचन क्षेत्रमा जनमोर्चा विजयी भयो । क्षेत्र नं। १ मा हरिप्रसाद आचार्य र क्षेत्र नं। २ बाट नवराज सुवेदी विजयी भए ।
०६४ सालमा शान्ति प्रक्रियासँगै निर्वाचनमा आएको माओवादीले प्यूठानका दुई वटै निर्वाचन क्षेत्रमा विजय हासिल गरेको थियो ।
प्यूठानी जनताहरू त्यो बेला माओवादीले ‘कि गोठ, कि नोट, कि भोट’ भन्दै दबाबमा पारेर निर्वाचन जितेको बताउँछन् । त्यो बेला क्षेत्र नं। १ मा नारायणप्रसाद अधिकारी विजयी भए । क्षेत्र नं। २ मा दीपक केसी विजयी भए ।
०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा भने प्यूठानका दुई वटै निर्वाचन क्षेत्रमा एमाले विजयी भयो । क्षेत्र नं। १ मा बामदेव गौतम विजयी भए । क्षेत्र नं। २ मा हिराबहादुर केसी विजयी भए ।
त्यसपछि प्यूठान दुई निर्वाचन क्षेत्रबाट एकमा खुम्चियो । अनि ०७४ सालको निर्वाचनमा एमाले, माओवादी र जनमोर्चासहितको गठबन्धन बनेर संघीय चुनावमा जनमोर्चाकी दुर्गा पौडेलले जितिन् ।
उनै पौडेल अहिले फेरि गठबन्धनबाट उम्मेदवार बनेकी छन् । उनी २०७० मा समानुपातिकतर्फबाट संविधान सभा सदस्य भएकी थिइन् । प्रदेश सभातर्फ एमालेका हरि रिजाल र माओवादीका कृष्णध्वज खड्का निर्वाचित भएका थिए ।
जिल्लामा यसरी फेरिएको नतिजाका कारण मंसिर ४ को नतिजा कसको पोल्टामा जान्छ भन्ने आंकलन गर्न सकिने अवस्था छैन ।