घनश्याम भुसालका सारथि भन्छन्- हामीले त धोका खायौं, रूपन्देही १ का मतदाता सचेत हुनुपर्छ – Nepal Press

घनश्याम भुसालका सारथि भन्छन्- हामीले त धोका खायौं, रूपन्देही १ का मतदाता सचेत हुनुपर्छ

'घनश्यामलाई हुर्काइयो, जगाइयो फुल्ने-फल्ने बेलामा जरा उखेल्नुभो'

बुटवल । रूपन्देहीको क्षेत्र नम्बर ३ का घनश्याम भुसालका सारथिहरूले भुसालले आफूहरूलाई धोका दिएको भन्दै क्षेत्र नम्बर १ का मतदाता सतर्क हुनुपर्ने बताएका छन् । उनीहरूले रूपन्देही १ बाट सत्तागठबन्धनको समर्थनमा उम्मेदवार बनेका नेकपा एमालेका पूर्वनेता घनश्याम भुसालले ७४ मा क्षेत्र नम्बर ३ मा विजयी बनेपनि जनप्रतिनिधिका रूपमा देखाउनसक्ने कुनै काम नगरेका कारण नयाँ ठाउँ रोजेर पार्टीमा किचलो गरेको आरोपसमेत लगाए ।

‘घनश्यामजीले पटक-पटक धोका दिँदा पनि फेरि पनि ३ नम्बरमै आउनुस् भनेर सिफारिस गरेका हौं तर पनि उहाँले पार्टीले तालमेलमा सो क्षेत्र अर्को पार्टीलाई दिनुपर्ने अवस्थामा टिकट नपाएको रिसमा मतदातालाई धोका दिएर पार्टी छोडेर सत्तागठबन्धनको बुई चढेर उता लाग्नु भयो यो भन्दा हाम्रा लागि धोका केही होइन तसर्थ धोका दिइरहने मान्छेबाट सतर्क हुनुपर्छ’ उनीहरूको सामूहिक स्वर छ ।

उनीहरूको भनाइ जस्ताको तस्तै

चोपलाल आचार्य (एमाले सिद्धार्थनगर इन्चार्ज)

हामीले २०७४ सालमा मेहनत गरेर जिताएका हौं । तर, जितेपछि उहाँले अभिभावकीय भूमिका निर्वाह गर्न सक्नुभएन । विगतमा उहाँले चुनाव जितेर गएपछि सबै हिसाबले काम गर्ने वातावरण बनेको अवस्था थियो, स्थानीय सरकार हाम्रै थिए, प्रदेश सरकार हाम्रै थियो, संघीय सरकार हाम्रै थियो, उहाँ मन्त्री पनि बन्नुभयो, उत्कृष्ट काम हुनसक्थ्यो तर उहाँले अनेक विषय उठाएर पार्टीमा अप्ठेरो पार्ने काममात्रै गर्नुभयो । उहाँ पहिलेदेखि नै विपक्षीसँग मिलेर एमाले सरकार ढाल्नेमात्रै होइन निर्वाचन क्षेत्र पनि साटेर १ नम्बरमा गएर मैदान खाली गर्ने योजनाका साथ बालकृष्ण खाणसँग नलड्ने सम्झौता गर्नुभएको रहेछ । उहाँलाई ३ नम्बरका मतदाताप्रति विश्वास रहेनछ भन्ने यसले देखायो, पार्टीभित्र जति नै गरेपनि टिकट नपाएकै दिन पार्टी छोडेर अर्को पार्टीमा टिकट लिनु राजनीतिक चरित्र होइन ।

नरबहादुर घर्ती (शुद्धोधन एमाले क्षेत्रीय संयोजक)

रूपन्देहीको ३ नम्बरले हो घनश्यामलाई हुर्काएको, जगाएको । हुर्काइयो, जगाइयो फुल्ने फल्ने बेलामा जरा उखेल्नुभयो । यसले हामीलाई ठूलो धोका भयो । घनश्याम भुसालको मार्क्सवाद भनेको पार्टी फुटाउने र कांग्रेसलाई सहयोग गर्ने हो भन्ने पुष्टि भयो । २०५४ सालमा चुनाव जिताएको हो त्यो बेला पनि पार्टीविरुद्ध लाग्नुभयो पार्टी फुटाउनुभयो । २०७४ मा पनि चुनाव जितेदेखि नै पार्टी विभाजन र किचलो ल्याउने काममा लाग्नुभयो । त्यति गर्दा पनि पार्टीका ३ नम्बरका मतदाताको अपार माया थियो, त्यसलाई उहाँले लात हान्नुभयो । उहाँलाई ३ नम्बर क्षेत्रका मतदाता र कार्यकर्ताको मायाले पुलपुलिएका बच्चाबच्चीलाई जस्तो भयो । हामीले घनश्यामजीलाई अलि बढी माया गर्‍यौँ जस्तो लागेको छ । किनकि हामीले गरेको मायाको हौसलामा पार्टी विभाजनमा हौसला मिलेको रहेछ । उहाँको मार्क्सवाद पार्टी विभाजन र अरुसँग विलय हुने भन्ने रहेछ । रूपन्देहीको १ र ३ नम्बर क्षेत्र टाढा छैन तसर्थ उहाँले दिएको धोका १ नम्बरका मतदाताले पनि बुझेका छन् र बुझ्नेछन् ।

किसुनचन्द्र चौधरी (शुद्धोधन पूर्वअध्यक्ष)

उहाँले ३ नम्बर छोडेर १ नम्बर बढी रुचाउनुभयो ? उहाँलाई नै बढी थाहा होला तर उहाँ आएको भए नराम्रोसँग हारिन्थ्यो त्यसको असर अन्त पनि पर्थ्यो । उहाँलाई हामीले २०७४ सालमा पनि निर्वाचित गराएर पठाएको हो तर ५ वर्ष जनतासँग यो काम गरेँ भन्ने देखाउनसक्ने कुनै काम गर्नुभएन । त्यसैले जनतासँग भोट माग्न आउने हिम्मत गर्नुभएन । अध्यक्ष ओलीले ३ नम्बरमा जाउ भनेको भएपनि उहाँ आउनुहुन्नथ्यो । ओलीले त्यहीँ जबर्जस्ती जाउ भन्नुपर्थ्यो । किनकी शेरबहादुर देउवासँग साँठगाँठ गरेर उहाँले नै बालकृष्ण खाणलाई गृहमन्त्री बनाएको हो । त्यति सहयोग गरेको मान्छे खाणसँग प्रतिस्पर्धा गर्न आउने कुरै थिएन । हामीले जनतासँग जनप्रतिनिधि भन्ने कार्यक्रम राख्यौँ उहाँ आउनुभएन, पछि कार्यकर्तासँग त बसौँ भन्दा भेटघाटमा समेत आउने हिम्मत गर्नुभएन । यसबाट उहाँको एमालेसँगको नियत प्रष्ट हुन्छ ।

रामप्रसाद रेग्मी (सेमलार, पूर्व वडाअध्यक्ष बुटवल १६)

हामीले तपाईँले काम नगरेको भएपनि फेरिपनि आउनुस् भनेका हौं । विपक्षी गठबन्धनको उम्मेदवार पनि ३ नम्बरमा काम गरेर देखाएका उम्मेदवार नभएकोले तपाईँ आउनुपर्छ भनेका थियौं तर उहाँको साँठगाँठ रहेछ मान्नुभएन । उतै लाग्नुभयो । काम गर्न नसकेको हो गल्ती चाहीँ होइन भनेर सम्झाएका पनि हौं तर मान्नुभएन । उहाँको विगत पनि त्यस्तै हो जहिले पदमा पुग्नुहुन्छ पार्टीमा किचलो मच्चाउनुहुन्छ तर पनि हामीले आउनुस् भनेका थियौं । हाम्रो विश्वास र सम्मानमाथि धोका भयो ।

प्रेमनाथ काफ्ले सेमलार (पूर्वजनप्रतिनिधि)

घनश्यामजी पार्टीको विधिविधानविपरीत हिँड्नुभयो तर पनि हामीले सिफारिस गरेका हौं । हामीले विगतमा जिताएर पठाएपनि माओवादी बोक्नुभयो । आफ्नै पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन सर्वोच्चमा लाइन लागेर देउवालाई प्रधानमन्त्री बनाउन र बालकृष्ण खाणलाई आफैँले विशेष जिम्मेवारी लिएर गृहमन्त्री बनाउन सहयोग गरेका कारण प्रतिस्पर्धा नगर्ने सम्झौता थियो जस्तो देखिन्छ । होइन भने यति सजिलै कांग्रेसले १ नम्बर क्षेत्र दिन मान्ने थिएन सजिलैसँग दियो । घनश्यामजी ३ नम्बरबाट तर्किन खोज्नुको खास कारण त्यही नै हो ।

अयोध्या थारु (सियारी पूर्वअध्यक्ष)

घनश्यामजीलाई नयाँ ठाउँमा जाँदा मतदाताले पत्याउँछन् भन्ने लाग्या होला । त्यसैले त्यता लाग्नुभयो । शेरबहादुर देउवालाई भोट हालेर केपी शर्मा ओली नेतृत्वको एमाले सरकार ढालेकोले मतदाता रिसाएका छन् भन्ने बुझेर नै उहाँ यहाँ आउन खोज्नुभएन । उहाँको मनोबल खस्केको थियो । पार्टीका कुनै कार्यक्रममा यहाँ आउनसकने, बोल्नसक्ने अवस्था नभएकैले उहाँलाई हामीले देखेनौं । जतिबेला भेट भएपनि कार्यकर्ता र मतदाताले आफ्नै सरकार ढाल्ने भनेर प्रश्न गर्थे त्यसको जवाफ उहाँसँग थिएन । मतदाताले उहाँसँग पटक-पटक भनेका थिए- हामीले सूर्यमा भोट हालेर तपाईँलाई पठाउने, तपाईँले अर्कैलाई बोकेर हिंड्ने ? रुखमा भोट हालेर देउवालाई प्रधानमन्त्री बनाउने भन्ने प्रश्नले निरन्तर घोचिरहेको थियो । सायद उहाँलाई पोलेको थियो होला । यहाँका मतदाताको एउटै धारणा के छ भने उहाँ जतिबेला मन्त्री हुनुहुन्छ त्यति बेला पार्टी फोर्नुहुन्छ । त्यो घटनाक्रमले पनि त्यही भनेको छ । उहाँ माधव नेपाल पार्टी नेतृत्वमा हुँदा पनि प्रतिपक्ष नै हो कुनै बेलापनि उहाँ पार्टीको संस्थापन होइन ।

राजेन्द्र कंडेल (शुद्धोधन पूर्ववडाध्यक्ष)

२०७४ सालपछि उहाँले कहिल्यै पनि पार्टी र मतदाताप्रति जवाफदेहिता देखाउनुभएन । चुनाव जितेपछि कहिल्यै पनि स्थानीय पार्टी कमिटीसँग समन्वय गर्नुभएन । सीमित मान्छेहरूसँग गुट बनाउने, छलफल गर्ने उनीहरूसँगै रिर्पोट लिने र फर्किने गर्नुभयो । त्यसैले ३ नम्बरमा आउने हिम्मत भएनकी जस्तो लाग्छ । अर्को कुरा शक्तिशाली सरकारको मन्त्री हुँदा पनि ३ नम्बरमा मतदातालाई यो काम गरेँ भनेर देखाउने ठाउँ कुनै भएन त्यसैले आउनुभएन ।


प्रतिक्रिया

3 thoughts on “घनश्याम भुसालका सारथि भन्छन्- हामीले त धोका खायौं, रूपन्देही १ का मतदाता सचेत हुनुपर्छ

  1. शंकर पोखरेलको सरकार ढाल्न शिखडीं बनेकाहरूको जस्तै हुने हो हालत । अहिले एमाले कमजोर बनाउन उचालेका फुरूक्कै भएर साझा उम्मेद्वार बनेर । बिस्तारै देखिन्छ ।

  2. घनश्याम कुनै पनि कोणबाट कम्युनिस्ट रहनु भएन उहाँ पश्चिमाहरूको गोटीको रूपमा अन्तिममा देखिनु भयो ।

  3. राजनितीमा लाग्नेहरु अती चर्चित र राम्रा भन्ने नेताहरु फर्सी कुहिए झै कुहिन बेर नलाग्दो रहेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर