सामाजिक सद्भाव कायम राख्न महोत्तरीमा सर्वपक्षीय सहमति, कर्फ्यू भने कायमै
जनकपुरधाम । महोत्तरीमा सामाजिक सद्भाव भड्किन नदिन सर्वपक्षीय बैठकले ८ बुँदे निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीको अगुवाइमा बसेको बैठकले घटनामा भएको धनजनको क्षतिको विवरण संकलन गरी क्षतिपूर्तिको सिफारिस गर्न टोली गठन गर्ने, दोषी पत्ता लगाई कानूनी पक्रियाबमोजिम कारबाही अघि बढाउने, घटनाको छानबिनको लागि उच्चस्तरीय टोली गठन गर्न गृहमन्त्रालयसाग अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै दुई पक्षबीचको असमझदारी र झडपको स्थितिलाई नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न घटनामा सम्बद्ध दुवै पक्षलाई र आम नागरिकलाई आह्वान गर्ने र घटनामा घाइतेको तत्काल उपचार खर्चको लागि आवश्यक व्यवस्था गर्न गृहमन्त्रालयमार्फत सरकारमा अनुरोध गर्ने पनि निर्णय भएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।
उनका अनुसार सामाजिक सद्भाव कायम गर्न र्याली गर्ने, दलगत रूपमा शान्ति कायम गर्न अपिल गर्नेलगायतका कार्य, जिल्लामा क्रियाशील राजनैतिक पार्टी र समाजिक अगुवा संलग्न सर्वदलिय / सर्वपक्षीय संयन्त्रले गर्नेछ ।
‘सर्वदलीय बैठकको निर्णय अनुसार सकभर आजै सद्भाव र्याली निकाल्ने जानकारी प्राप्त भएको छ’, उनले भने, ‘सबै दल एकजुट भएपछि अवस्था सामान्य हुने विश्वास छ । त्यसपछि निशेधाज्ञा फिर्तासम्बन्धी निर्णय हुनेछ । यसका लागि छलफल जारी छ ।’
बिहीबार महोत्तरीको भंगहा नगरपालिका-८ मा हिन्दू र मुस्लिम दुई समुदायबीच भएको झडपले उग्ररूप लिएपछि लगाइएको कर्फ्यू २४ घण्टादेखि जारी छ ।
हिन्दू सम्राट सेनाले निकालेको शोभाको यात्राका क्रममा ढुंगामुढा गर्दा दुई समुदायबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल आसुग्यांस र हवाई फायर गरेको थियो । झडपका क्रममा डीएसपी चन्देश्वर यादवसहित दर्जनौं व्यक्ति घाइते भएका थिए ।