तिहारको ज्वाइँ- ओझेलमा परेका आफ्नै गाउँ ठाउँको घुमाई – Nepal Press
ब्लग:

तिहारको ज्वाइँ- ओझेलमा परेका आफ्नै गाउँ ठाउँको घुमाई

भनिन्छ नि,नजिकको तिर्थ हेला । हामी हाम्रो गाउँ ठाउँका मनोरम दृष्यभन्दा अरु ठाउँमा जान चाहान्छौं । देशभित्रको यात्रामा देखिने सुन्दर दृष्यभन्दा विदेशमा रमाउँछौं । नजिकैको यात्राका बारे मान्छेहरुले लेखेको खासै देखिदैन तर यसपटक म आफ्नो जन्मथलो नुवाकोट यात्राको बारे केहि लेख्ने सोचमा पुगेँ ।

यसपटक तिहारमा नजिकैको हजुरआमाको मृत्यु भएको कारण जुठो परेकाले भाइटीका भएन । भतिजा भतिजी र छोराले घरबाहिर गएर टिका लगाउन मिल्ने भन्ने कुरा आयो । लामो समयदेखि श्रीमती पनि माइती जान नपाएको कारण यसपटक म पनि तिहारमा ससुरालीतिर लागेँ ।

घरका अन्य महिला सदस्य आमा र भाउजुहरु पनि माइतीतिरै । अब श्रीमती छोरो भतिजा भतिजी लिएरमा घरबाट निस्कने मौका मेरो । हामी टोखा छहरे हुँदै नुवाकोटको लागी निस्कियौँ । शिबपुरी कटेर गुर्जेभन्ज्याङ पुग्ने बित्तिकै उत्तरपूर्व तिर ठुला ठुला हिमाल । त्यो भन्दा तल पहाडी गाउँ देखिन थाल्यो ।

गाउँबाट काठमाडौं र काठमाडौंबाट गाउँ धेरै ओहोरो दोहोरो गरिरहदा खासै चासो नलाग्ने दृश्यले आज निकै मोहित बनाइरहेको थियो । सायद परिवारको साथले पनि होला बाटो भरी सयपत्री र गोदावरी फुल ढकमक्क फूलेका थिए । टोखा छहरे खण्ड को बाटो अहिले अलिक सुधार भएको रहेछ ।

पहिले जस्तो कठिन गरेर जानु परेन । हामी बिस्तारै नुवाकोटको शिवपुरी गाउँपालिका हुँदै थानापती पुगेर केहि बेर बिश्राम लिने निधोमा थियौं । त्यहाँ दूधको बिभिन्न परिकार पाइने एक रेस्टुरेण्ट छ । त्यहिँ केही खाने बिचारमा रोकिएका थियौं । तर भित्र गएर त्यहाँको स्थिति हेर्दा खाने ईच्छा मरेर आयो ।

यो सब देख्दा काठमाडौंका नवनिर्वाचित मेयर बालेन र उपमेयर सुनिता डंगोलले फुड सेफ्टीलाई ध्यान दिएर हरेक वडामा फुड इन्स्पेक्टर राख्ने घोषणा गरेको याद आयो । यो कुरा काठमाडौं मात्र हैन देशको हरेक वडा गाउँमा लागु हुनु अति जरुरत भैसक्यो ।

हामी त्यहाँ बाट अघि बढ्यौ । लिखु खोलाको तिरमा अबस्थित छहरे बजार साँच्चै राम्रो देखिएको थियो । माथि पंचकन्या गाउँपालिका,तल लिखु र त्यसैको किनारमा छहरे फाँट पहेँल्पुर भएका धान खेतले सुन्दरता झन् बढाइरहेको थियो ।

छहरे प्रस्तावित सुरुङ मार्गको एक बिन्दु हो । त्यसैको आडमा यहाँ पनि जग्गा कारोबारीहरुको चलखेल निकै बढेको छ । धान र आलु काउली लगायतको अन्न भण्डार यो क्षेत्रले बिस्तारै आफ्नो परिचयलाई धुमिल पार्दैछ । सानो बाबु साथमा भएकोले हाम्रो यात्रा निकै सुस्त थियो । शिबपुरी चेकपोस्टदेखि छहरे १८ किलोमिटर छिचोल्न हामीलाई झन्डै २ घण्टा लाग्यो । छहरे बाट अघि दुई लेनको पिच सडक भएकाले हाम्रो रफ्तार पनि अलि बढ्यो । हामी लिखु तिरैतिर हुँदै अगाडी बढ्यौ । अगाडी गएर लिखु र तादी एक आपसमा मिसिन्छन् ।

पानी निकै सफा कन्चन थियो । ढिकुरे हुँदै हामी अब बिदुर नगरपालिकातिर अघि बढ्यौँ । झण्डै आधा घण्टाको यात्रापछि बट्टार बजार पुगियो । तिहारको रमझमले सिँगारिएका घर, किनमेल गर्नेको भिडभाड उस्तै । बट्टार,विदुर,त्रिशुली कोलोनीको भिलिझिली काठमाडौंको भन्दा कम छैन ।

त्यहाँ बाट १५–२० मिनेटको यात्रापछि हामी खुर्साने खोलास्थित ससुराली पुगियो । त्यतिबेला झण्डै साढे दुई भैसकेको थियो । मलाई आजै फर्किनु थियो । त्यसैले त्यहाँ केहि खाएर फर्किनेतिर लागेँ । तर ससुरालीबाट बिदा मिलेन ।

तिहारमा ससुराली बस्न अलि संकोच लागिरहेको थियो तर परिस्थिति त्यस्तै बन्यो । हैट, तिहारमा ससुराली बस्दा अरुले के भन्लान ! तर यसो सोचे सरिता त हरेक चाड मसँग मनाइरहेकी छिन तर एक दिन तिहारमा उनको आमा बाबु को घरमा बस्न म किन हिचकिचाउने!

ससुरालीमा वियर र रमसहित तिहारको रमाइलो भइरहेको थियो । मैले के सोचेँ कुीन्न,ट्वीटर खोलेर यसो ससुराली आएको र रमाइलो भएको आसय सहितको ट्वीट गरेँ । तर अचम्मका कोट रिप्लाई आउन थाले । अनेक उखान जोडेर तिहारमा ससुराली जानु ठुलै गल्ति गरेजस्तो बनाइयो ।

पढेलेखेका कार्यकर्तादेखि बैकल्पिक राजनीतिको वकालत गर्नेहरु त्यही लाईनमा थिए । हाम्रा पत्नीले जीवनभर पतिको घरमा चाडबाड मनाइदिनुपर्ने तर हामीले एक दिन उनको घरमा गएर मनाइदिँदा अचम्म मान्ने मानसिकता सायद पितृसत्तात्मक सोचको उपज होला पप।

भोलीपल्ट बिहान सबै भाईटिकाको तयारीमा लागे । म भने नुवाकोटको उत्तरी भुभाग घुम्ने सोचमा लागेँ । बिहान चिया नास्ता खाएर त्रिशुली खोलाको तिरैतिर सोले पुगेँ ।किस्पाङतिर पहिले घुमिसकेकोले म्याघाङ जाने रुटतिर लागेँ । बाटो राम्रो रहेछ ।

सबै सडक भर्खरै पिच गरिएको रहेछ । त्यहाँबाट जति माथि लाग्यो उति सुन्दर दृश्य देखिने । त्यहाँबाट त्रिशुलीपारी रसुवाका दृष्य,त्रिशुली किनारा फाँटमा लहलह झुलेका धान अनि त्यसमाथि मैलुङको विद्युत गृह । माथि सेताम्मे गणेश हिमाल देख्दा मनै रोमान्चित भयो तर साथमा क्यामेरा नभएको र मोबाइल पनि अफ भएछ त्यसैले तस्बिर कैद गर्न नसकी थकथकाउँदै फर्किएँ ।

त्यसैले घुमौं,आफ्नै गाउँ ठाउँ मज्जाले घुमौं । आन्तरिक पर्यटनलाई पनि महत्व दिऔं ।


प्रतिक्रिया

One thought on “तिहारको ज्वाइँ- ओझेलमा परेका आफ्नै गाउँ ठाउँको घुमाई

  1. पढेर एकदम रमाइलो लाग्यो। चेतनामूलक पनि लाग्यो। 😍😍

Leave a Reply

Your email address will not be published. Required fields are marked *