कपिलवस्तु एमालेमा नवप्रवेशीको टिकटमा वर्चश्व
९ सीटमध्ये ६ सीटमा नयाँले पाए टिकट
रुपन्देही । केही महिनायता कपिलवस्तुमा विभिन्न पार्टी छाडेर एमालेमा फर्कनेको लर्को नै लागेको छ । तराई केन्द्रीय दलका मात्र होइन अन्य पार्टीबाट पनि प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरेका छन् । तीन संघीय र ६ प्रदेशदनिर्वाचन क्षेत्र रहेको जिल्लामा एमालेले यही बाध्यतालाई थेग्न नसकेर ६ जना नवप्रवेशीलाई आगामी निर्वाचनको टिकट दिएको छ ।
सबै क्षेत्रमा उम्मेदवार खडा एमालेबाट प्रतिनिधि सभाको ३ क्षेत्रमध्ये २ वटामा र प्रदेशसभाको ६ मध्ये ४ क्षेत्रमा नवप्रवेशीलाई टिकट पाएका हुन् । क्षेत्र नं २ को प्रतिनिधि सभामा बृजेशकुमार गुप्ता क्षेत्र नं ३ मा मंगलप्रसाद गुप्ता उम्मेदवार छन् । बुजेशकुमार गुप्ता २०५६ सालमा राप्रपाबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
त्यसपछि २ पटक तमलोपाबाट संसदमा चुनिएका थिए । २०७४ सालमा हृदयेस त्रिपाठीको स्वतन्त्र समूहबाट सूर्य चुनाव चिन्हबाट सांसदमा निर्वाचित भएका थिए । उनी गत फागुनमा एमाले प्रवेश गरेका हुन् भने मंगलप्रसाद गुप्ता २०४८ सालमा काँग्रेसबाट सांसदमा चुनाव लडेका थिए । त्यसयता तमलोपा, जनता समाजवादी पार्टी हुँदै अहिले एमाले प्रवेश गरी चुनावमा होमिएका छन् ।
तर अहिलेसम्म निर्वाचन जित्न सकेका छैनन् । सो क्षेत्रमा उनीहरुको प्रभाव रहेकाले पनि टिकट दिइएको दावी एमाले नेताहरुको छ । क्षेत्र नं १ मा यहाँका पुराना नेता बलराम अधिकारी उम्मेदवार छन् । दुई कार्यकाल एमाले जिल्लाको नेतृत्व गरेका उनी हाल केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज छन् । ०७० मा संविधान सभा सदस्य रहेका उनी शिक्षण पेशाको जागीर छाडेर पूर्णकालिन राजनीतिमा होमिएका थिए ।
त्यसैगरी ६ प्रदेश सभामध्ये दुई क्षेत्रमा मात्र पुराना नेताले टिकट पाएका छन् । क्षेत्र नं–१ को १ मा विष्णु पन्थी र क्षेत्र नं ३ को प्रदेश सभा १ मा अर्जुन केसी पुराना एमाले हुन् । उनीहरु दुवैजना यसअघि प्रदेश सभामा पुगिसकेका हुन् र पन्थी केन्द्रीय लेखा आयोगका उपाध्यक्ष छन् ।
प्रतिनिधि सभामा बलियो दावेदारी रहेका पन्थी लामोसमय पार्टीमा माधव नेपाल समूहमा रहेका नेता हुन् । पार्टी विभाजनको बेला भने उनले नेपाललाई साथ दिएनन् । अर्का पुराना नेता केसी जिल्ला उपसचिव हुन् । पन्थी र केसी बाहेक ४ क्षेत्रका उम्मेदवार नवप्रवेशी हुन् । क्षेत्र नं १ को १ का उम्मेदवार मधुसुदनशरण चौधरी मधेस केन्द्रीत दलबाट एमालेमा आएका हुन्।
मनोनय पत्र दाखिला गर्ने दुई साताअघि मात्र लोसपा त्यागेर एमालेमा प्रवेश गरेका चौधरीले एमालेबाट टिकट पाएका हुन् । यसअघि पनि सोही क्षेत्रबाट उम्मेदार रहेका उनी थोरै मतले पराजित भएका थिए । लोसपाका ६ केन्द्रीय सदस्य, जिल्ला नेतृत्व लिएर उनी एमालेमा प्रवेश गरेका थिए ।
क्षेत्र नं २ को १ मा राप्रपा, काँग्रेस हुँदै हालै एमालेमा आएका नवराज लामिछानेले टिकट पाएका छन् भने २ को २ मा धर्मबहादुरलाल श्रीवास्तवले उम्मेदारी पाएका छन् । श्रीवास्तव २०७४ सालमा स्वतन्त्र समूहबाट सूर्य चिन्ह लिएर प्रदेश सभामा निर्वाचित भएका थिए ।
एमालेबाट मुख्यमन्त्री बनेका शंकर पोखरेललाई अविश्वासको प्रस्ताव ल्याउने तत्कालीन विपक्षी दलमा उनले हस्ताक्षर गरेर पछि फिर्ता लिएका थिए । त्यसपछि केही समय मन्त्री बनेका थिए । श्रीवास्तव नेता बृजेस गुप्तासँगै गत फागुनमा एमालेमा प्रवेश गरेका हुन् । क्षेत्र नं ३ को २का रजाउर्रहमान खाँ पनि एमालेका नयाँ अनुहार हुन् ।
सो क्षेत्रमा पार्टीमा लामो समय काम गरेका अनुभवी र पुराना नेताहरु बलियो भएपनि संसदीय अभ्यासमा सांगठनिक रुपमा अन्य दलभन्दा केही कमजोर भएका क्षेत्रमा विपक्षी दलहरुको बलियो गठबन्धन भएका कारण प्रभावशाली नेताहरु भित्राएर टिकट दिनु बाध्यता रहेका एमालेका एक नेताले बताए ।
टिकट वितरणमा पार्टीमा नवप्रवेशीकै वर्चश्व देखिएपछि पुराना नेताहरुले असन्तुष्टि जनाएपनि चुनावअघि नबोल्ने बताएका छन् ।
यही असन्तुष्टिलाई हेरेर केही नेताले बागी उम्मेदारी पनि दिएका थिए तर पछि फिर्ता लिएका छन् । क्षेत्र नं २ मा पुराना नेता रुपेश श्रेष्ठले टिकट नपाएपछि असोज २३ गते बागी उम्मेदवारी दिएका थिए । पार्टी नेताको दबाव स्वरुप उनले उम्मेदवारी फिर्ता लिए ।
उनको क्षेत्रबाट नवप्रवेशी नवराज लामिछानेले टिकट पाएका छन् । त्यसैगरी जिल्लामा एमालेका संस्थापकमध्ये बाबुराम खनालले क्षेत्र नं २ मा टिकट दावी गरेका थिए । विद्युत प्राधिकरणको जागिर छाडेर पार्टीमा लागेका खनाललाई टिकट नदिएर अन्याय भएको उनी निकट नेताहरुले गुनासो गरेका छन् ।
क्षेत्र नं २ को २ मा उनले दावी गरेको स्थानमा नवप्रवेशी धर्मबहादुरलाल श्रीवास्तवले टिकट पाएका हुन् । एमाले जिल्ला अध्यक्ष डम्बर शर्माले जिल्लामा अन्य पार्टीका प्रभावशाली नेताहरु एमाले प्रवेश गरेकाले यस्तो भएको बताउँदै एमालेका उम्मेदवार जिताउने दायित्व सबै सदस्यको हुने बताए ।