अपडेट: कालिकोटमा विष्फोटक पदार्थ पड्किँदा थप एक बालिकाको मृत्यु, नेपाली सेना घटनास्थल पुग्दै  – Nepal Press

अपडेट: कालिकोटमा विष्फोटक पदार्थ पड्किँदा थप एक बालिकाको मृत्यु, नेपाली सेना घटनास्थल पुग्दै 

काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका- १० रानावाडामा विष्फोटक पदार्थ पड्किँदा थप एक जनाको मृत्यु भएको छ । आज बिहान ८ बजे विष्फोटक पदार्थ पड्किए घाइते भएकी ४ वर्षीय सरस्वती रानाको उपचारको क्रममा सुर्खेतको प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

योसँगै विष्फोटक पदार्थ पड्किँएर मृत्यु हुनेको संख्या २ पुगेको छ । तिलागुफा १० कि ४ वर्षीया झरना थापाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्की बालिका रानाको उपचारको क्रममा मृत्यु भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।

विष्फोटक पदार्थ पड्किँएर थप तीन जना गम्भीर घाइते भएको उनले बताए । उनले नेपालप्रेससँग भने,’केटाकेटीहरु खेतमा जाने बाटोमा अनौठो बस्तु भेटेको रहेछ के रहेछ भने ढुंगाले हान्दा पड्किएछ । एक जनाको त्यतिनै बेला मृत्यु भयो । र अर्को बालिकाको उपचारको क्रममा मृत्यु भएको छ। ’

घटनामा सोही ठाउकै ७ वर्षका कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई थप उपचारको लागि हेलिकप्टरबाट सुर्खेत लगिएको छ।

उनीहरुको सुर्खेत प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । शर्माका अनुसार घटनास्थलमा सेनाको टोली पुग्दैछ भने प्रहरी घटनास्थल पुगिसकेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *