डेढ वर्षदेखि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण लुकाएर घोषणापत्रमा उल्टो प्रतिबद्धता ! – Nepal Press

डेढ वर्षदेखि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण लुकाएर घोषणापत्रमा उल्टो प्रतिबद्धता !

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले अव्यवस्थालाई सुव्यवस्थामा बदल्ने प्रतिबद्धता व्यक्त गर्दै घोषणापत्रमा सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति विवरण सार्वजनिक गर्ने बाध्यकारी कानून जारी गर्ने भनेको छ ।

हरेक सार्वजनिक ओहोदाका व्यक्तिको सम्पत्ति विवरण प्रत्येक वर्ष जारी गर्ने प्रतिबद्धता घोषणापत्रमा व्यक्त गरिरहँदा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा स्वयंमले पार्टीको प्रतिबद्धताको खिल्ली उडाएको आरोप लागेको छ ।

देउवाले कांग्रेसको ५२ पेज लामो घोषणापत्रमा व्यक्त गरिएको सम्पत्ति विवरणप्रतिको प्रतिबद्धतामाथि देउवाकै नेतृत्वमा विरोधाभास देखिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ । देउवालगायत कांग्रेस नेतृत्वमाथि डेढ वर्षदेखि सम्पत्ति विवरण लुकाएर घोषणापत्रमा ठिक उल्टो प्रतिबद्धता जनाएको आरोप लागेको हो ।

२०७८ असार २८ गतेको सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका देउवाले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । यसअघि प्रधानमन्त्री र मन्त्रीहरूले सामान्यतः ३५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन थियो ।

देउवा नेतृत्वको सरकार बनेको डेढ वर्ष भइसक्दा पनि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य छ । यसबारे प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको आदेश नआएको भन्दै पन्छिने गरेको छ । प्रधानमन्त्री कार्यालयको वेबसाइटमा प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भएको उल्लेख छ ।

नेपाली कांग्रेसले यस पटक ल्याएको घोषणापत्र विगतको जस्तो परम्परावादी नभएर असाध्यै यथार्थपरक र वास्तविकताप्रति बलियो चेत भएको घोषणापत्र रहेको मस्यौदा समितिका एक सदस्य स्वर्णिम वाग्लेले बताए ।


प्रतिक्रिया

One thought on “डेढ वर्षदेखि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण लुकाएर घोषणापत्रमा उल्टो प्रतिबद्धता !

  1. त्यहि भएर त काँग्रेसको घोषणापत्र केवल कागजको खोस्टो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर