काठमाडौं- ३ का माओवादीको चेतावनी–मित्रवत प्रतिस्पर्धाका नाममा हाम्रो सीट खोस्ने सहमति अमान्य – Nepal Press

काठमाडौं- ३ का माओवादीको चेतावनी–मित्रवत प्रतिस्पर्धाका नाममा हाम्रो सीट खोस्ने सहमति अमान्य

प्रदेश सभा २ मा कांग्रेसका विमल ठकुरीको उम्मेदवारी निष्क्रिय नभए माओवादीका तीनै उम्मेदवार कायम रहने

काठमाडौं । सत्ता गठबन्धनले काठमाडौं क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र नम्बर २ मा मित्रवत प्रतिस्पर्धा गर्ने भनी जारी गरेको सर्कुलरप्रति नेकपा माओवादी केन्द्रको क्षेत्रीय समितिले असहमति जनाएको छ ।

गठबन्धनका शीर्ष नेताहरुको बैठकले जारी गरेको आधिकारिक उम्मेदवारको सूचीमा काठमाडौं ३ मा प्रतिनिधि सभामा कांग्रेसका सन्तोष चालिसे र प्रदेश सभा १ मा कांग्रेसका छिरिङ दोर्जे लामाको नाम राखिएको छ ।

त्यस्तै प्रदेश सभा क्षेत्र २ मा कांग्रेसका विमल ठकुरी र माओवादी केन्द्रका महेश्वर फुँयालबीच मित्रवत प्रतिस्पर्धा गर्ने भनिएको छ । गठबन्धनको सीट बाँडफाँटमा सो क्षेत्र माओवादीको भागमा परे पनि कांग्रेसले ठकुरीलाई उम्मेदवार बनाएपछि दोहोरो उम्मेदवारी छ ।

नेकपा माओवादी केन्द्रको काठमाडौं क्षेत्र नम्बर ३ क्षेत्रीय कमिटीका इन्चार्ज समेत रहेका प्रदेश सभा उम्मेदवार महेश्वर फुयाल विवेकले प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले विमल ठकुरीको उम्मेदवारी निष्क्रिय बनाएर प्रदेश सभा २ मा माओवादी केन्द्रलाई समर्थन जनाएमात्र प्रतिनिधि सभा र प्रदेशसभा १ मा कांग्रेसलाई सघाउँन सकिने प्रष्ट पारेका छन् ।

माओवादी केन्द्रबाट प्रतिनिधि सभामा बद्री बजगाई र प्रदेशसभा १ तर्फ कपिलमुनी उप्रेती उम्मेदवार छन् । गठबन्धनका शीर्ष नेताको बैठकले बजगाई र उप्रेतीको उम्मेदवारीलाई गठबन्धनको लिष्टमा नराखे पनि स्थानीय माओवादी नेतृत्वले मित्रवत प्रतिस्पर्धाका नाममा कांग्रेसलाई छाड्न नसकिने जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ– यदि नेपाली कांग्रेसले सहमतिबेगर दर्ता गरेको प्रदेश क्षेत्र(२) को उम्मेदवारी फिर्ता लिन्छ भने माओवादी केन्द्र पनि संघ र प्रदेश (१) को उमेदवारी फिर्ता लिन तयार छ । यदि नेपाली कांग्रेसले मित्रवत प्रतिस्पर्धाका नाममा माओवादी केन्द्रको भागमा परेको प्रदेश(२) बाट आफ्नो उमेदवारलाई पुर्ण रूपमा निस्कृय गर्दैन हाम्रो तीन वटै सीटको उम्मेदवारी कायम रहनेछ र हामी तीनैजना भोट माग्दै मतदाताबीच सशक्त रुपमा जानेछौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर