पिएस सरकारको पालामा ४० हजार काठेपुल विस्थापन, ४ लाख जनसंख्यालाई निजी धारा : गण्डकी एमाले – Nepal Press

पिएस सरकारको पालामा ४० हजार काठेपुल विस्थापन, ४ लाख जनसंख्यालाई निजी धारा : गण्डकी एमाले

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश संगठन कमिटीले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको पालामा प्रदेशमा ४० हजार काठेपुल विस्थापन गरी स्टिल पुल हालिएको बताएको छ । मंसिर ४ को चुनावका लागि एमाले प्रदेश कमिटीले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा गुरुङको मुख्यमन्त्रीकालमा साढे ३ वर्षमा ७ सय किलोमिटर सडक कालोपत्रे गरेको र साढे ३ सय सडकमा ग्राभेल गरेको उल्लेख छ ।

गण्डकीका ४ लाख जनसंख्यालाई खानेपानीको निजी धारा, ११ सय ५ घरमा घरेलु सौर्य ऊर्जा, ९ हजार ६ सय ६४ घरधुरीमा लघुऊर्जाबाट विद्युत सेवा दिइएको पनि एमालेले जनाएको छ । विपन्न र लोपोन्मुख समुदायका लागि जनता आवास कार्यक्रमबाट १५ सय भन्दा बढी घर निर्माण एमाले सरकारले गरेको भन्दै प्रतिबद्धतापत्रमा राजश्व संकलनलाई सुदृढ बनाएर यातायात व्यवस्थापनमा तीन वर्षमा तेब्बर बढाएर करिब ३ अर्ब पुर्‍याएको दाबी गरिएको छ ।

एमाले नेतृत्वको पहिलो सरकारले प्रदेशको नामाकरण, राजधानी टुंग्याउने र ४ दर्जन बढी ऐन निर्माण गरेको पनि प्रतिबद्धतापत्रमा उल्लेख छ । प्रदेशको प्रथम पञ्चवर्षीय योजना निर्माण, प्रदेश मातहत १५७ कार्यालय निर्माण गरी २८ सय बढी कर्मचारीको दरबन्दी बनाएर सेवा दिइएको, गरिबीको जनसंख्यालाई १४.९१ प्रतिशतबाट १२.९१ प्रतिशतमा झारेको प्रदेश कमिटीले जनाएको छ ।

एमालेका अनुसार प्रदेशका वन संरक्षण र व्यवस्थापनका लागि ५१ सय वन उपभोक्ता समूह गठन गरेर परिचालन गरेको, साझेदारी वन उपभोक्ता समूह र चाक्ला वन व्यवस्थापनबाट ८ लाख ६१ हजार हेक्टर वन क्षेत्र संरक्षण गरिएको, ग्रामीण पर्यटन प्रबर्द्धन र गरिबी निवारणका लागि ३०८ होमस्टे पनि गुरुङ नेतृत्वको सरकारले निर्माण गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर