कांग्रेस नेता पाण्डेको प्रश्न- माओवादीले ल्याएका उपलब्धि मान्छु, प्रचण्ड चाहिँ मान्दिनँ भन्न पाइन्छ ? (भिडिओ)
गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशको मुख्यमन्त्रीका रुपमा चुनाव लडिरहेका नेता सुरेन्द्र पाण्डेले शान्ति सम्झौतामा हस्ताक्षर गर्ने गिरिजाप्रसाद कोइरालालाई महानायक भन्नेहरुले प्रचण्डलाई खलनायक भन्न नमिल्ने बताएका छन् ।
गोरखा क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभा उम्मेदवार रहेका पाण्डेले प्रचण्डको पक्षमा कांग्रेस कार्यकर्तालाई उभिन आग्रह गर्दै माओवादीले लडाइँ लडेर ल्याएका समावेशी लोकतन्त्र, धर्म निरपेक्ष र गणतन्त्र मान्नेहरुले प्रचण्डलाई मान्दिनँ भन्न नपाइने बताए ।
पाण्डेले भने, ‘शान्ति सम्झौताको दायाँतिर हस्ताक्षर गर्ने गिरिजाप्रसाद महानायक र देब्रेतिर हस्ताक्षर गर्ने प्रचण्ड चाहिँ खलनायक भन्न मिल्दैन । कांग्रेसको नाममा केही व्यक्तिले चलाएका भ्रममा कोही पर्नुहुन्न । हिजो युद्धको बेला जे जे भए दुवैतिर पीडा छ । तर, हामीले भुलेर अब एक भएर अघि बढ्नुपर्छ ।’